
साउन ८
रूसको सेन्ट पिटर्सबर्गमा युक्रेनी हमला। तस्बिरः रासस/एएफपी।
आफ्ना प्रमुख प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणका कारण इन्धन अभाव खेपेको रूस भारतबाट तेल आयात गर्न बाध्य भएको छ।
युक्रेनी आक्रमणले रूसको आन्तरिक प्रशोधन क्षमता करिब ४० प्रतिशतले घटाएको मानिन्छ। त्यसैले विश्वकै प्रमुख तेल उत्पादकहरूमा पर्ने रूसले भारतबाट तेल आयात गर्नु परेको छ।
यस्तो बेला भारतको भादिनार रिफाइनरी (प्रशोधन केन्द्र) बाट ४२ हजार टन पेट्रोल बोकेर एक ट्याङ्कर केही हप्ता अघि रूस गएको फाइनान्सियल टाइम्सले जनाएको छ। सो ट्याङ्कर आइतबार उत्तरी रूस पुग्ने अपेक्षा गरिएको छ।
भादिनार भारतको नायारा इनर्जीको स्वामित्वमा छ। यसमा रूसको सरकारी कम्पनी रोसनेफ्टको ४९ प्रतिशत सेयर रहेको छ। सन् २०२६ मा भादिनारमा प्रशोधन गरिएको ९० प्रतिशतभन्दा बढी कच्चा तेल रूसबाटै आएको हो।
सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि भारत रूसी कच्चा तेलको प्रमुख आयातकर्ता बनेको छ। युक्रेनी ड्रोन आक्रमणका कारण अहिले भने रूसले भारतबाटै तेल किन्नु परेको हो।
युक्रेनी आक्रमणका कारण रूसले सोभियत संघको विघटन पछिकै सबैभन्दा गम्भीर इन्धन सङ्कट भोगिरहेको छ। त्यसैले धेरै क्षेत्रमा पेट्रोलका लागि सीमित कोटा लागू गर्न रूस बाध्य भएको छ। फाइनान्सियल टाइम्सका अनुसार करिब पाँच करोड रूसीहरू यसबाट प्रभावित भएका छन्। केही क्षेत्रमा इन्धन पाउनका लागि घण्टौँ वा दिनौँसम्म लाइनमा बस्न रूसी जनता बाध्य भएका छन्।
