नरैनापुरमा सयपत्रीको बहार,शहरका युवाले गर्दा गाँउको खेतमा फुल्यो तिहार
नेपालगन्ज, ११ बाँके। तिहार नजिकिँदै गर्दा बाँकेको नरैनापुर गाउँपालिका–५ मा व्यावसायिक सयपत्री फूलखेतीले बजार पाउन थालेको छ। नेपालगन्जका ३ जना युवा सुबासजंग शाह, कीर्तिराज दीक्षित र सुशील कुमार मौर्यले दुई बिघा क्षेत्रफलमा सयपत्री फूलखेती गरी स्थानीय उत्पादनलाई बजारमा पुर्याउने प्रयास थालेका छन्।

फरक–फरक पेसा तथा व्यवसायमा आबद्ध उनीहरूले पहिलोपटक व्यवसायिक रूपमा सुरु गरेको फूलखेती अहिले उत्पादनको चरणमा पुगेको छ। तिहारलाई लक्षित गरी लगाइएको सयपत्री फूल तयार भएपछि बिक्रीसमेत सुरु भइसकेको छ।
तिहारमा सयपत्री फूल तथा मालाको माग उच्च हुने अवसरलाई ध्यानमा राखेर खेती सुरु गरेका उनीहरूले फूल र माला बिक्रीसँगै ग्राहकको सुविधाका लागि होम डेलिभरी सेवासमेत उपलब्ध गराउने खेतीमा संलग्न युवा सुशील मौर्यले बताए । नेपालगन्जको बजारलाई मुख्य लक्ष्य बनाएका उनीहरू सहरका प्रमुख चोकहरूमा स्टल राखेर फूल तथा माला बिक्री गर्ने तयारीमा रहेको मौयको भनाई छ ।

स्थानीय उत्पादनबाट बजारको माग पूरा गर्ने प्रयास
तिहारका बेला नेपालगन्जसहित आसपासका बजारमा सयपत्री फूल तथा मालाको माग बढ्ने गर्छ। यस्तो अवस्थामा नरैनापुरमै फूल उत्पादन गरी बजारमा बिक्री गर्ने युवाहरूको प्रयासले स्थानीय उत्पादनको प्रवर्द्धन गर्नुका साथै बाहिरबाट आउने फूलमाथिको निर्भरता घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कृषि क्षेत्रलाई व्यावसायिक अवसरका रूपमा उपयोग गर्न सकिने सम्भावनालाई समेत यस प्रयासले उजागर गरेको छ। स्थानीय माटो, श्रम र उत्पादनलाई बजारसँग जोड्न सके फूलखेती आम्दानीको सम्भावित माध्यम बन्न सक्ने देखिन्छ।
युवाको पहलले कृषि व्यवसायमा नयाँ सम्भावना
सुबासजंग शाह, कीर्तीराज दीक्षित र सुशील कुमार मौर्यको यो पहल केवल तिहारका लागि फूल उत्पादनमा सीमित छैन। स्थानीयस्तरमा उत्पादन गरेर उपभोक्तासम्म पुर्याउने उनीहरूको प्रयासले कृषि उत्पादनको बजारीकरण र युवाको उद्यमशीलताबारे पनि सकारात्मक सन्देश दिएको छ।
पहिलोपटक गरिएको व्यावसायिक फूलखेतीबाट प्राप्त अनुभव, बजारको माग र बिक्रीको अवस्थाले आगामी दिनमा यसलाई विस्तार गर्ने सम्भावनाको मूल्याङ्कन गर्न मद्दत गर्नेछ।

नरैनापुरमा फुलेको सयपत्री नेपालगन्जका घर, पसल र बजारसम्म पुग्न थालेसँगै स्थानीय उत्पादनलाई प्राथमिकता दिने अवसरसमेत सिर्जना भएको छ। स्थानीयस्तरमै उत्पादन, सहज बिक्री र उपभोक्तासम्मको पहुँचलाई जोड्न सके यस्ता कृषि उद्यमले स्थानीय अर्थतन्त्रमा योगदान पुर्याउन सक्छन्।







