राजनीतिमा ४० वर्ष विताएका ‘सादगी नेता’ निरक गुरुङ, को हुन् निरक ?

बाँके, २९ असोज, २०७९ ।


बाँकेको राजनीतिमा निरक गुरुङ भित्र सादगी नेताको रुपमा चिनिन्छन् । उनको साथसंगत र उठ्बस पछाडी पारिएका समुदायसँग हुन्छ । गरिव, दुखी, असहाय, थिचिएका, मिचिएका समुदायको उत्थानमा उनले अहिलेसम्मको राजनीतिक जीवन खर्चिएका छन् । जन्मको आधारमा उनी ६२ वर्षका भए । नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा उनी ५९ वर्षमा हिडिरहेका छन् ।
उनी उतिबेलाको विकट जिल्ला दैलेखमा जन्मिए । बाबुआमासँग बसाईसराई गरेर बर्दियाको जमुनी झरेका उनी यहाँ आएदेखि राजनीतिमा होमिए । दाङका कम्यूनिष्ट नेता कर्णप्रखर धितालले उनलाई राजनीतिमा लाग्न प्रेरणा दिए । उनको कम्यूनिष्ट आन्दोलनलाई मलजल गर्ने र हुर्कन उनका गुरु धनबहादुर गुरुङले सघाए ।
दैलेखबाट बर्दियाको जमुनी आउँदा उनी लक्का जवान भइसकेका थिए । उनी अम्मर ज्योति माध्यमिक विद्यालय सीतापुरमा भर्ना भए । त्यस लगत्तै ०३७ सालमा उनी अम्मर ज्योति माविको माले निकट मानिने अनेरास्ववियू एकता पाँचौँको प्रारम्भिक कमिटीको अध्यक्ष भएर संगठन विस्तारमा लागे । ‘त्यतिबेला कम्यूनिष्ट पार्टीमा लाग्नेहरु थोरै हुन्थे, तर इमान्दार र अनुशासित हुन्थे । पार्टीको नीति र विचार भन्दा बाहिर कोहि जाँदैनथे,’ उनले विगत सम्झिए, ‘पार्टी अनुशासनमा बस्न सक्नेहरु टिक्थे, नसक्नेहरु बाहिरिन्थे ।’
पञ्चायती व्यवस्थाका विरुद्ध निरकले पनि आन्दोलन गरे । भूमिगत भएर तत्कालिन मालेको नीति र विचारलाई जनता सामु पुर्याउन पर्चा, पम्पलेट बाँडे । नेतालाई स्कर्टिङ गरेर एक गाउँबाट अर्को गाउँमा जान सघाए । नेताहरुलाई सुरक्षित रुपमा गन्तव्यसम्म पुग्न कमाण्डोको भूमिका निर्वाह गरे उनले ।
०४३ सालमा नेपाली कांग्रेसले सत्याग्रह गरेका बेला निरक दाङ थिए । बाँकेबाट पिछा गर्दै गएका सुरक्षाकर्मीले उनलाई दाङबाट गिरफ्तार गरेको उनले बताए । ‘म पार्टीको कामले दाङ गएको थिएँ । त्यहिबेला सुराकीको सहयोगमा तत्कालिन पञ्चायती शासकले मलाई गिरफ्तार गरेर प्रहरी खोरमा थुन्यो । विभिन्न बहाना बनाएर वल्लतल्ल प्रहरीको फन्दाबाट उम्किन सफल भएँ,’ उनले भने ।
प्रहरीले दुख दिए पनि उनले शोषित, पीडितको पक्षमा आवाज बुलन्द गरिरहने अठोटका साथ कम्यूनिष्ट आन्दोलनमा लागिरहे । माक्र्सबाद–लेनिनवादलाई जन–जनसम्म पुर्याउन २०४७ सालमा उनी एमाले निकट अनेरास्ववियू सुर्खेतको कोषाध्यक्ष भए । झण्डै तीन वर्ष कोषाध्यक्षको भूमिका निर्वाह गरेका उनी ०५२ सालमा प्रजातान्त्रिक राष्ट्रिय यूवा संघ सुर्खेतको अध्यक्ष भएर एमालेलाई थप उचाइँमा पुर्याउन महत्वपूर्ण भूमिका खेले । ‘त्यतिबेला नेपालमा कांग्रेसका दवदवा थियो । एमालेलाई कमजोर बनाउन अनेकौँ प्रयास हुन्थे, तर प्ररायू संघ सुर्खेतले कांग्रेसको दवदवालाई चिर्दै अगाडी बढ्यौँ । एमालेलाई सुर्खेतमा स्थापित गराएर छोड्यौँ,’ उनले भने ।
मजदुर वर्गको उत्थानमा उनको भूमिका महत्वपूर्ण मानिन्छ । सधैँ तल्लो वर्गको पक्षमा उभिने दृढ स्वभावका भएकाले पार्टीलाई उनलाई मजदुर फाँटमा खटायो । उनी ०५७ सालमा एमाले निकट ट्रेड यूनियन महासंघ (जिफन्ट) भेरीको सदस्य भए । त्यसपछि पार्टीले उनलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय सदस्य र भेरी अंचल अध्यक्षको जिम्मेवारी दिएर फिल्डमा खटाएको उनले बताए ।
एमाले बाँकेको जिल्ला कमिटी सदस्यबाट मुलधारको राजनीति सुरु गरेका उनी ०६२–०६३ को जनआन्दोलनका बेला एमाले बाँके निर्वाचन क्षेत्र नं. २ समन्वय कमिटीको संयोजक भएर आन्दोलनको मोर्चा सम्हालेका थिए । हाल एमाले लुम्बिनी प्रदेस कमिटीका सचिवालय सदस्य रहेका गुरुङ एमाले बाँकेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्ष र ०७८ मा अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।
उनले लामो समय शोषित, पीडित, गरिव र पछाडी पारिएका समुदायको लागि आवाज उठाए । यी समुदायको उत्थानका लागि आफ्नो जिवन समर्पित गरेका छन् । मन्त्री, सांसद जस्ता लाभको पदभन्दा सामाजिक, आर्थिक विभेदमा परेकाहरुको सेवा गर्नमा विताएका छन् ।
राजनीतिमा उनीभन्दा पछाडी जोडिएकाहरु मन्त्री, सांसद लगायत विभिन्न राजनीतिक नियुक्ति पाइसकेका छन् । तर उनले अहिलेसम्म कहिलै लाभको पद खोजेनन् । ‘म कम्यूनिष्ट हुँ । मेरो गुरु र मार्गदर्शकले मलाई सामाजिक विभेद, अन्याय, अत्याचारका विरुद्ध लड्न सिकाउनु भयो । समाजमा विद्यमान शोषणका विरुद्ध आवाज उठाउन सिकाउनु भयो । अन्धविश्वास, अशिक्षा लगायत समाजमा रहेका तमाम विभेद अन्त्यका लागि दृढताका साथ उभिन सिकाउनु भयो,’ निरकले भने, ‘लाभको पदले म र मेरो परिवारलाई फाइदा पुग्ला, तर यसले सिंगो कम्यूनिष्ट आन्दोलनलाई धक्का पुग्छ । शोषित, पीडितको भावनामा ठेस लाग्छ भन्ने लागेर मैले अहिलेसम्म लाभको पद खोजिन । सांसद र मन्त्रीको सपना देखेन । त्यसैले त सादगी नेताको पहिचान बनेको छ ।’
राजनीतिमा चार दशक विताएका यीनै निरक गुरुङ यस पटकको प्रदेस सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. २ प्रदेससभा (ख) को सूर्यध्वजाबाहक उम्मेदवार बनेका छन् । प्रदेससभा सदस्यमा निर्वाचित भए नेपालगन्ज र डुडुवा गाउँपालिकाको समग्र विकासका लागि आफ्नो बाँकी जिवन खर्चिने स्पष्ट पारेका छन् । ‘अहिलेसम्म मैले तपाईका लागि गरेँ, अव मेरो लागि तपाईले गर्ने बेला आएको छ,’ उनले मतदातासँग आफ्नो अपेक्षा राख्दै भने । लाभको पदमा भए पनि नभए पनि सधैँ जनताको पक्षमा उभिने उनले प्रतिवद्धता दोहोर्याएका छन् ।

Previous articleबाँकेका चार उम्मेदवार, जसले आफैलाई भोट हाल्न पाउने छैनन्
Next articleनरैनापुर गाउँपालिका प्रमुखलाई एन्फ्लुयन्जा, थप उपचारका लागि लखनऊ रेफर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here