सशस्त्र प्रहरीको बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन

0
32

काठमाडौ, ११ साउन ।

सीमा सहजीकरण, सीमा क्षेत्रमा हुन सक्ने अवैध क्रियाकलाप नियन्त्रण तथा सूचना संकलनका लागि सशस्त्र प्रहरी बल नेपालले बोर्डर इन्टरएक्सन टिम (बिआइटी) परिचालन गरेको छ।

साउन १० गतेदेखि सीमा क्षेत्रका मुख्य नाकाहरू झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगन्ज, रुपन्देहीको डन्डा, बाँकेको जमुनाह र कञ्चनपुरको गड्डाचौकीमा सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा १४ / १४ जना रहने गरी टोली परिचालन गरिएको हो ।

उक्त टोली सम्बन्धित क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका सीमा सुरक्षा गुल्ममा तैनाथ रही मुख्य सीमा नाकाहरूमा परिचालन हुने जनाइएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार रुपन्देहीको डन्डास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पुगेर टोलीलाई आवश्यक निर्देशन दिँदै परिचालनको शुभारम्भ गर्नुभएको थियो। सो अवसरमा उहाँले सीमा क्षेत्रमा हुने दैनिक गतिविधिबारे समेत जानकारी लिनुभएको थियो ।

परिचालित टोलीले विशेष गरी सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु तथा अन्य अवैध सामग्रीको निगरानी, नियन्त्रण र चेकजाँचमा काम गर्नेछ ।

सीमा क्षेत्रमा परिचालित सरोकारवाला निकाय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रणलगायतका अन्य अपरेसनल काम-कारबाहीमा समेत टोलीले सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

मुख्य सीमानाकामा परिचालन हुने उक्त टोलीमा प्रत्येक सिफ्टमा एकजना महिला सशस्त्र प्रहरी कर्मचारीसहित बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म सादा पोसाक (सफारी सुट) मा कर्मचारी रहने जनाइएको छ।