गौरव शाहको स्मृतिमा शरिरिक अशक्तलाई ई–रिक्सा उपहार : एक सय ११० पिन्ट रक्तदान

बाँके, १३ पुस ।


गौरव स्मृति तथा वि. योर सेल्फ फाउण्डेशनले शारिरिक अशक्त ब्यक्तिलाई ई–रिक्सा उपहार दिएको छ । संस्थाका अध्यक्ष स्वर्गिय गौरव शाहको जन्मोत्सवको अवसर पारेर फाउण्डेशनले शारिरिक रुपमा अशक्त नेपालगन्ज उपमहानगरपालिका ५ का राजु खानलाई ई–रिक्सा उपहार दिएको हो । उक्त रिक्सा नेपालगन्जका मेयर प्रशान्त विष्टले खानलाई हस्तान्तरण गरेका हुन् ।
क्यान्सर भएपछि खानको दाहिने खुट्टा काटिएपछि जिवन गुजारा गर्न असहज भएपछि उनको दैनिकी कष्टकर भएको जानकारी पाएपछि जिवन यापनमा सहज बनाउन ई–रिक्सा प्रदान गरिएको संस्थाका सल्लाहकार प्रदिप शाहले बताए । उनले उक्त रिक्सामा अशक्तको भाडा नलिने सहमति भएको बताए । ‘तपाई जस्तै अशक्त ब्यक्ति ई–रिक्सामा बसे भने भाडा नलिनु भन्ने सहमति गरेका छौँ,’ उनले भने ।
दुई लाख २० हजारमा खरिद गरिएको उक्त रिक्सा यातायात ब्यवस्था कार्यालय र नेपालगन्ज उपमहानगरबाट स्विकृति लिएको बताउँदै उनले आगामी दिनमा पनि राज्यको सेवा सुविधाबाट बञ्चित र बहिष्करणमा परेकालाई सहयोग गर्ने उनले बताए ।


ई–रिक्सा हस्तान्तरण तथा रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपालगन्जका मेयर प्रशान्त विष्टले सरकारले गर्ने काम फाउण्डेशनले गरेको भन्दै धन्यवाद दिएको बताए । उनले रक्तदानले जिवन दान दिने भएकोले यो जस्तो पवित्र काम अरु हुन नसक्ने जिकिर गरे । उनले फाउण्डेशनको काममा स्थानीय सरकारले सहयोग गर्ने आश्वासन दिँदै मानविय सेवा नै सच्चा धर्म भएको बताए ।
गौरव शाहको जन्मोत्सवको अवसरमा फाउण्डेशनले रक्तदान कार्यक्रम समेत गरेको छ । फाउण्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले विचार राखेका थिए ।
ई–रिक्सा उपहार पाएपछि राजु खानले कष्टकर जिवनलाई सहज बनाउन फाउण्डेशनले सहयोग गरेको बताए । ‘काम गर्न नसकेर जिवन कष्टकर मात्र थिएन । जिवन जिउने आशा मरिसकेको थियो । ई–रिक्साले मेरो मात्र नभई मेरो सिंगो परिवारको जिवनयापनमा टेवा पुग्नेछ,’ उनले भने ।
स्वर्गिय गौरवको जन्मोत्सवको अवसरमा आयोजित रक्तदानमा एक सय १० बढिले रक्तदान गरेको सल्लाहकार प्रदिप शाहले जानकारी दिए ।

Previous articleशिव शिखर कृषि सहकारी र समानता विरुद्ध बाँकेमा तीन हजार ४६१ जाहेरी दर्ता
Next articleसमय सिमाभित्र गुणस्तरिय काम गर्न निर्माण कम्पनीलाई पालिकाको ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here