वडा अध्यक्षको क्वारेन्टाइनमै बास

यो बेला परिवारका सदस्य भन्दा जनतालाई मेरो आवश्यकता छ

बाँके, २६ जेष्ठ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रामलखन थारुले क्वारेन्टाइनलाई बास बनाएका छन् । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाको रातदिन रेखदेख गर्न उनले क्वारेन्टाइनमै बास बनाएका हुन् ।
भारतबाट आएकाको सीमानामा गएर उद्धार गरि क्वारेन्टाइनमा ल्याउने र क्वारेन्टाइनमा रहेकाको सेवा गर्नमै उनको दिन–रात बित्ने गरेको छ । वडाका कुनै सदस्य मध्य रातमा नाकामा आए उनी उद्धारका लागि गाडी लिएर तत्काल पुग्छन् ।
उनी कोरोनाभन्दा जनताको सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएका छन् । उद्धार, राहत र क्वारेन्टाइन ब्यवस्थापनका लागि उनी अहोरात्र खटिन्छन् । लकडाउन भएपछि उनी घर गएका छैनन् । भारतबाट आएकाको सेवामा लाग्नु पर्ने भएकोले घरमा जाने फुर्सद नपाएको उनले बताए ।
भारतबाट आएकाको सम्पर्कमा बस्नु पर्ने भएकोले कोरोना सर्न सक्ने उनले राम्रोसँग बुझेका छन् । ‘म आफू त जोखिममा छु नै मेरो कारण परिवारका सदस्य जोखिममा नपरुन भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘घरमा गएर अलग बस्न पनि सकिन्थ्यो, तर अहिले मेरो परिवार भन्दा बढि भारतबाट आएर क्वारेन्टाइनमा बस्नेलाई मेरो आवश्यकता छ ।’
सुरुको केही समय उनी नरैनापुरको सुईया–बघौडा नाकामा अलपत्र परेका आफ्ना वडाका नागरिकको उद्दार गरे । गाडी चालकले भारतबाट आउनेलाई बोक्न नमानेपछि आफै गाडी चलाएर नाकाबाट सर्वसाधारणलाई ओसारे पनि । आधा रातमा फोन आए पनि लिन नाकामा पुगेको उनले बताए । ‘राम्रो समयमा साथ त जसले पनि दिन्छ । यो समय भनेको जनताको सेवा गर्ने समय हो,’ अध्यक्ष थारुले भने, दुखमा साथ दिनु नै सच्चा समाज सेवा हो । जनप्रतिनिधिको दायित्व र कर्तब्य पनि यहि हो ।’


उद्धार गर्न आफै गाडी चलाउँछन्
नाकाबाट मानिस ओसार्नका लागि उनले गाडी भाडामा लिएका छन् । तर, कोरोना सर्ने डरले चालक आउन नमाने पछि उनी आफै गाडी चलाउँछन् । ‘गाडी चाकल आउन नमानेपछि आफै गाडी चलाएर उद्धारका लागि नाकामा पुग्छु,’ उनले भने ।
क्वारेन्टाइन ब्यवस्थापनमा पनि उत्तिकै खटिन्छन्
उनी उद्धारमा मात्र खटिन्नन् । आफ्नो वडाका कोरोना संक्रमितलाई राख्न आफ्नै वडामा आइसोलेसन र क्वारेन्टाइन ब्यवस्थापनमा सक्रिय भएर लाग्छन् । उनले आफ्नो वडामा दुईवटा आइसोलेसन र दुई वटा क्वारेन्टाइन बनाएका छन् । ‘म पनि क्वारेन्टाइन भएको भवनमा बस्ने गरेको छु,’ अध्यक्ष थारुले भने, ‘सँगैको भवनमा बस्दा रेखदेख र ब्यवस्थापनमा सजिलो भएको छ ।’
उनले क्वारेन्टाइन र आइसोलेसनमा रहेकाको आफैले निगरानी गर्दै आएका छन् । ‘क्वारेन्टाइन र आइसोलेसनमा रहेकाहरुको खानपिनमा कुनै असुविधा नहोस् भनेर प्रत्यक्ष पुगेर सोधपुछ गर्छु,’ उनले भने ।

Previous articleजनता समाजवादी पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव चयन
Next articleनयाँ दिल्लीमा मृत्यु भएका एक ब्यक्तिमा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here