भारतमा भएको जिप दुर्घटना : एउटै वडाका ५ जनाको मृत्यूले गाउँ शोकमा

बाँके, २८ चैत ।


भारतको बेलाघाटमा सवारी दुर्घटनामा परि सात जना नेपालीको मृत्यू भएको छ । भारतको उत्तराखण्ड नैनीताल जिल्लाको बेतालघाटमा दुर्घटना हुँदा जिपमा सवार १० जना मध्ये एक भारतीयसहित सात नेपालीको मृत्यू भएको हो ।
मृतक आठ जना मध्ये ६ जना बैजनाथ गाउँपालिका ८ थपुवा र फत्तेनगर, बाँकेका रहेको स्थानीय अगुवा प्रेम खत्रीले जानकारी दिए । मृत्यू हुनेमा बैजनाथ गाउँपालिका ८ हसनापुरका ५२ वर्षिय तिलकराम चौधरी, बैजनाथ गाउँपालिका ८ फत्तेनगरका उदयराम चौधरी, फत्तेनगरकै ५० वर्षिय अन्तराम चौधरी, सोही ठाउँका ५० वर्षिय विनोद चौधरी र सोही ठाउँका ४५ वर्षिय धिरज चौधरी रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
दुर्घटनामा बाँसगढी नगरपालिका १ बबई चेपाङ, बर्दियाका ६० बर्षिय टोपबहादुर बस्नेत र गाडी चालक उचाकोट बेतालघाट भारतका ४० बर्षिय रमेश चन्द्रको पनि मृत्यू भएको छ ।
उनीहरु मजदुरीका लागि १७ पुस, २०८० मा भारतको नैनीताल गएको मृतक तिलकराम चौधरीका पत्नी शान्तिदेवी थापा (चौधरी) ले बताइन् । पति तिलकरामसँग होलीमा कुरा भएको उनले बताइन् । ‘होलीमा मैले नै फोन गरेको थिएँ । घर र परदेशको सुखदुखका कुरा भए । नयाँ वर्ष मनाउन घर आउँछु सवै ब्यवहार मिलाउँला भन्नु भएको थियो । घर नपुग्दै दुर्घटनामा ज्यान गुमाएको खवर आएको छ,’ उनले नयाँ पत्रिकासँग भनिन् ।
दुर्घटनामा बैजनाथ गाउँपालिका ८ थपुवाका दशरथ चौधरी र फत्तेपुरकी शान्ति चौधरी घाइते भएको स्थानीय प्रेम खत्रीले जानकारी दिए । एउटै वडाका ६ जनाको मृत्यूको खवरले गाउँ शोकमा डुवेको छ । ‘एउटै वडाका ६ जनाको मृत्यू भएको खवरले पूरै गाउँ शोकमा छ,’ उनले भने ।
सवै एकैसाथ नैनीताल गएकाहरु एउटा जिप सिजर्व गरेर सँगै फर्किदै गर्दा दुर्घटना भएको शान्तिदेवीले बताइन् । उनले भनिन्, ‘घर आउन लागेको जानकारी थिएन । एक्कासी दुर्घटनामा परि ज्यान गुमाएको खवर सुन्नु पर्यो ।
घटना स्थलदेखि झण्डै १८ किलोमिटर पूर्व मल्लागाँउ उच्चाकोटमा खानेपानी आयोजनाको पाइप बिछ्याउने काम गर्दै आएका उनीहरु नयाँ वर्ष मनाउन घर फर्किदै गर्दा यूके ०४ सिसी ०४९५ नम्बरको जिप दुर्घटनामा परेको बेतालघाट थाना इन्चार्ज अनिश अमतलाई उदृढ गर्दै बाँके प्रहरीले जनाएको छ ।
उनीहरु घर फर्किनका लागि आ–आफ्नो समान जिपमा राखेर जिपमा बस्ने वित्तिकै गाडी भिरबाट खसेको भारतीय प्रहरीले जनाएको छ । दुर्घटनाको कारण नखुले पनि भिरमा रोकीराखेको गाडी नियन्त्रण हुन नसकेका कारण भीरबाट करिव एक सय ५० मिटर तल खसेको अनुमान भारतीय प्रहरीले गरेको छ ।
घटना २६ चैत राती करिव ११ वजेको समयमा भए पनि मंगलवार विहान १० वजेतिर खवर पाएको शान्तिदेवी थापाले बताइन् । खवर पाउने वित्तिकै परिवारका सदस्य र आफन्तहरु नैनीताल गएका छन् ।
सँगै रहेका पति गुमाइन शान्तिले
दुर्घटनामा घाइते भएकी शान्ति चौधरीले साथमै रहेका पति धिरजलाई गुमाएकी छन् । शान्ति र उनका पति मजदुरीका लागि सँगै नैनीताल गएका थिए । नयाँ वर्ष घर परिवारका सदस्यसँग मनाउने योजनाका साथ घर फर्किदै गर्दा गाडी दुर्घटना भएको उनले बताइन् । ‘मेरो पति धिरज र म सँगै बसेका थियौँ । हामी बसेको गाडी एक्कासी भीरबाट खस्यो,’ उनले भनिन्, ‘म बाँचे तर सँगै बसेका पतिलाई गुमाउनु पर्यो,’ उनले भनिन् ।
शान्ति चौधरी र अर्का घाइते दशरथ चौधरीको तिवारी राजकीय अस्पताल हलद्वानीमा उपचार भइरहेको छ । अन्य मृतकको शव पोष्टमाष्टका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ ।

Previous articleलुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा
Next articleलुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here