किनमेलका लागि रुपइडिहा जान रोक

बाँके, ११ चैत ।


भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बाँके प्रशासनले किनमेलका लागि रुपइडिहा जान रोक लगाएको छ । भारतबाट कोरोना संक्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरि सर्वसाधारणलाई किनमेलका लागि रुपइडिहा जान रोक लगाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बुधवार बसेको बैठकले भारतीय सीमा बजार रुपइडिहामा किनमेलका लागि जान रोक लगाउने निर्णय गरेको उनले बताए । ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न भारतीय सीमा बजार रुपइडिहा जान रोक लगाउने र मास्क तथा सेनिटाइजरको प्रयोग गर्ने गराउने निर्णय भएको छ,’ उनले भने ।
भारतबाट आउने नेपालीलाई स्वास्थ्य जाँच गरेर मात्र नेपाल भित्रिन दिने निर्णय पनि डिसिसिएमसीले गरेको छ । लक्षण देखिएका विरामीको एन्टीजिन परीक्षण गरि सामान्य अवस्थाका यात्रुलाई १० दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाउने र सिकिस्त विरामीलाई सिधै भेरी अस्पतालमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।
अनाबश्यक रुपमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड पुरा गरेर मात्र सभा, सम्मेलन, गोष्ठी र सेमिनार गर्न पनि डिसिसिएमसीले आग्रह गरेको छ । त्यसैगरि, कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि बाँकेका आठ वटै स्थानीय तहलाई क्वारेन्टाइन निर्माण लगायतका आबश्यक काम अघि बढाउन जिल्ला कोभिड व्यवस्थापन समितिले निर्देशन दिएको छ ।
भारतबाट आएका नागरिकलाई जेकजाँच गरि १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने, भेरी अस्पताल लगायकता स्वास्थ्य संस्थामा रहेका आइसोलेसनलाई प्रभावकारी बनाउने लगायतका ७ बँुदे निर्णय भएको कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

Previous articleकोरोना संक्रमण बढेपछि भारतबाट फर्किन थाले नेपाली, नाकामा छैन कुनै सतर्कता
Next articleनेपालगन्ज नाकामा हेल्थ डेस्क संचालन, पहिलो दिन १० जनाको कोरोना जाँच, सवैको रिपोर्ट नेगेटिभ (भिडियोसहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here