बिकटका विरामीको सेवामा रमाउने डा.कासिमः समाज सेवा रत्नबाट विभुषित

बाँके, ५ असोज ।
विकट क्षेत्रका विरामीको उपचार गर्न रुचाउने फिजिसियन डा. कासिम शाह राष्ट्रपति विद्यादेवी भण्डारीबाट समाज सेवा रत्न पदकबाट विभुषित भएका छन् । विकट क्षेत्रमा बसेर गरिव, दुखी विरामीको सेवा गर्न पाउँदा उनलाई आनन्द अनुभूती हुुुन्छ । ‘गाउँ–गाउँ पुगेर विरामी जाँच्ने र उपचारमा सहयोग गर्दा जति आनन्द आउँछ त्यति आनन्द सहरमा बसेर विरामीको उपचार गर्दा लाग्दैन,’ उनले भने, विकटलाई निकट बनाउँदै विरामीको उपचारमा खटिने मेरो अन्तिम लक्ष्य छ ।’
उनी इस्लाम समुदायबाट समाज सेवा रत्न पाउने पहिलो चिकित्सक हुन् । नम्र ब्यवहार, सरल स्वभाव, मिलनसार र सहयोगी भएकै कारण उनी जहाँ–जहाँ जान्छन् त्यहाँ लोकप्रिय हुन्छन् । डा. कासिमले पदक पाउन र सस्तो लोकप्रियता कमाउनका लागि नभई चिकित्सकले गर्नुपर्ने दायित्व पूरा गर्न तथा मानविय धर्म निभाउन दुर्गम क्षेत्रमा पुग्छन् । सहर र सुगममा बसेर त जसले पनि सेवा दिन सक्छ । ‘ग्रामिण तथा विकट ठाउँका विरामीलाई सेवा दिनु पो बास्तविक सेवा हो भन्ने मलाई लाग्छ,’ उनले भने ।
उनले पदक पाउन र लोकप्रियताका लागि दुर्गम जिल्लाका विकट ठाउँका नागरिकलाई स्वास्थ्य सेवा नदिएको बताए । ‘स्वास्थ्य सेवा नपुगेका ठाउँका जनतालाई स्वास्थ्य सेवा दिने मेरो सानैदेखिको रुची हो,’ डा. कासिमले भने ।


विकटमा रमाउँछन् डा.कासिम
प्यूठानको विकट क्षेत्रमा जन्मिएर होला उनलाई सरहको कोलाहल भन्दा गाउँको शान्त र स्वच्छ बातावरण मन पर्छ । उनी गाउँमा जन्मिए । विक्रम सम्वत् ०४७ सालमा सरस्वती मावि बांगेसाल, प्यूठानबाट एसएलसी उत्तीर्ण गरे । गाउँको सरकारी विद्यालयमा पढे पनि उनले निजी विद्यालयमा पढेकासँग राम्रोसँग प्रतिष्पर्धा गर्न पछि पर्दैनन् । त्यसैले त उनी एसएलसी उत्तीर्ण गरेदेखि छात्रबृत्तीमा पढ्ने अवसर पाउँदै आएका छन् ।
एसएलसी उत्तीर्ण गर्ने वित्तिकै हेल्थ असिस्टेन्ट (एचए) पढ्न उनी चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्जबाट प्रथम श्रेणीमा एचए उत्तीर्ण गरे । त्यसपछि उनी दुर्गम जिल्लाको विकट क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा गएर विरामीको उपचारमा खटिए । अछाम, कालिकोट, रोल्पा, प्यूठान, जाजरकोट, जुम्ला, हुम्ला, मुगु लगाय जिल्लाका विकट गाउँमा बसेर विरामीलाई सेवा दिएको उनी बताउँछन् । ‘सुगम क्षेत्रका अस्पतालमा बसेर विरामीको उपचार गर्नुभन्दा विकट जिल्लाका दुर्गम क्षेत्रका विरामीको उपचार गर्दा बेग्लै आनन्द आउँछ,’ उनले भने, ‘विकट ठाउँमा गएर सेवा दिँदा हामी नेपालीको तस्वीर स्पष्ट देखिन्छ ।’


छात्रबृत्तीमै पढे एचए, एमविविएस र एमडी कोर्ष
उनी हरेक दिन एक कदम अगाडी बढ्ने सोच्नु हुन्छ । त्यसैले त उनी एचएमा सिमित भएनन् । अझ धेरै ज्ञान लिएर विकट क्षेत्रका विरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले उनी एमविविएसका लागि सरकारी छात्रबृत्तीमा प्रतिष्पर्धा गरे । र, एमविविएस अध्ययनका लागि छात्रबृत्तीमा नाम निकाले । उनले सन् २००४ मा एमविविएस शिक्षा पूरा गरे । अनि फेरि उनले एमडी अध्ययनका लागि निवेदन दिए । फेरि उनले सरकारी छात्रबृत्तीमा नाम निकालेर एमडीको कोष पूरा गरे । ‘एसएलसी पछि म सरकारी छात्रबृत्तीमा मात्र पढेको छु,’ डा. कासिमले भने ।
एमडी कोर्ष पूरा गर्ने वित्तिकै उनी जिल्ला अस्पताल गुल्मी पुगे । उनले त्यहाँ झण्डै तीन बर्ष सेवा दिए ।
विकट ठाउँका सर्वसाधारणले भोगेका स्वास्थ्य समस्यालाई प्रत्यक्ष देखेका डा. शाहको मनले मानेन । उनी फेरि विकट ठाउँका विरामीको उपचारमा सहयोग गर्ने योजना बनाए । र, निक्स साइमन नामक संस्था स्थापना गरे । जुन संस्था स्वास्थ्य मन्त्रालय अन्तरगत संचालनमा छ ।


उनको संस्थाले ग्रामिण भेगका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई इमरजेन्सी अप्रेशनका लागि आवश्यक पर्ने उपकरण र दक्ष जनशक्ति दिँदै आएको छ । ‘उपकरण र दक्ष जनशक्ति अभावले इमरजेन्सी अप्रेसन गर्नु पर्ने विरामीले अकालमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक उपकरण र जनशक्ति प्रदान गर्छौैँ,’ डा. कासिमले भने ।

Previous articleअनसनरत डा. केसी दिउँसो नेपालगन्जबाट काठ्माडौँ फर्किए
Next articleआइसोलेसनबाट डा. थापाको अपिलः कोरोनाबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here