बालेगाउँ गौहत्या प्रकरण : दोषीको पहिचान गरि कारवाही गर्न धार्मिक सद्भाव समितिको माग

बाँके, १० बैशाख, २०८१ ।


नेपालगन्जमा विद्यमान धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्नेलाई तत्काल कारवाही गर्न धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले माग गरेको छ । दुई दिनअघि नेपालगन्ज उपमहानगरपालिका १४ बालेगाउँमा भएको गौहत्याको विषयलाई लिएर सामाजिक संजालमा धर्ममाथि आँच आउने कुरा पोष्ट भएको भन्दै समितिले गौहत्यामा संलग्नको पहिचान गरि तत्काल कारवाही गर्न माग गरेको हो ।
धार्मिक एवम् सामाजिक सद्भावका लागि समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको छ ।
धार्मिक संहिष्णुताले मात्र सभ्य एवम् मर्यादित समाज निर्माण हुने बताउँदै समितिले धार्मिक तथा सामाजिक सद्भावमाथि खलल पुर्याउन खोज्ने जो कोहीलाई नियन्त्रणमा लिएर कारवाही गर्न माग गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका १४ मा भएको गौहत्यामा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै समितिले कुनै व्यक्ति विशेषले गरेको अपराधलाई जोडेर समग्र समुदायलाई लक्षित नगर्न आग्रह गरेको छ । ‘ब्यक्ति विशेषले गरेको अपराधलाई सिंगो समुदायलाई जोड्नु गलत हो । अपराध गर्ने ब्यक्ति कुनै धर्म र समुदायको हुन सक्दैन,’ समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
धार्मिक तथा सामाजिक सद्भाव समितिको तर्फबाट हाजी अब्दुल हमिद सिद्दिकी (भोला), हाजी कादिर अन्सारी, आफिज अहमद साहव, मेराज अहमद (हिमालय), महाराज श्रीकान्त मिश्रा पण्डित, दीपक राजपुत लोध, प्रकाश खड्का र विमल केसीले बाँकेका सिडिओलाई ज्ञापनपत्र बुझाएका हुन् ।
गौहत्याको विषयमा अनर्गल प्रचार गरिएपछि दोषी पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन मागसहितको ज्ञापन पत्र बाँकेका प्रमुख जिल्ला अधिकारीलाई बुझाएको हाजी अब्दुल हमिद सिद्दिकीले बताए । ‘गौहत्या गर्नेको पहिचान गरि कारवाहीको दायरामा ल्याउन र सद्भाव कायम राख्नस्थानीय प्रशासनसँग माग गरेका छौँ,’ उनले भने ।
राष्ट्रिय जनावर गाईको हत्यारा र पैगम्बर मुहम्मद साहबको विरूद्ध अभद्र भाषा प्रयोग गरि सामाजिक संजालमा लेख्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारवाही गर्न माग गरेको मेराज अहमद (हिमालय) ले बताए । उनले भने, ‘धार्मिक एवम् सामाजिक सद्भाव, एकता, शान्ति र भाईचारालाई सदैव कायम राख्न सबैको पहल आवश्यक छ । धार्मिक सद्भाव खल्बल्याउने काम कसैले कुनै पनि बहानामा गर्न हुँदैन भन्ने भनाई हामीले सिडिओ साव समक्ष राख्यौँ ।’
यसैवीच, नेपालगन्ज उपमहानगरपालिका १४ भवनियापुरमा गौहत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । गौहत्या गरेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

Previous articleअनलाइन सट्टेवाजीमा संलग्न १५ जना नेपालगन्जबाट पक्राउ
Next articleचार लाख ४६ हजार मूल्य पर्ने अबैध सामान नेपालगन्जबाट बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here