जेष्ठ नागरिक र अशक्तलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै खजुरा सरकार

बाँके, ११ फागुन ।


खजुरा गाउँपालिकामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य जाँच तथा औषधि वितरण गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ । पालिकाको ‘अध्यक्षसँग जेष्ठ नागरिक’ कार्यक्रम अन्तरगत जेष्ठ नागरिक र अशक्त ब्यक्तिको नियमित स्वास्थ्य जाँच र औषधि वितरण गर्न विगत एक वर्षदेखि चार जना स्वास्थ्यकर्मी परिचालन भएका छन् ।
स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिक र अशक्त ब्यक्तिको घरमा पुगेर सेवा दिइरहेको अध्यक्ष डम्बरबहादुर विक (तुफान) ले बताए । स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य जाँच र स्वास्थ्य परामर्श, निशुल्क औषधि प्रदान गर्दै आएको उनको भनाई छ । स्वास्थ्य जाँच, परामर्श र औषधि वितरण कार्यलाई प्रभावकारी बनाउन थप जनशक्ति परिचालन गरिएको छ । ‘पहिले चार जना स्वास्थ्यकर्मीले पालिका भरिका जेष्ठ नागरिक र अशक्त ब्यक्तिलाई स्वास्थ्य सेवा दिँदै आएका थिए । अव पालिकाका सवै वडामा एक–एक जना स्वास्थ्यकर्मीको ब्यवस्था गरिएको छ,’ उनले भने ।


पछिल्लो पटक भएको स्थानीय तहको निर्वाचन पछि आएको खजुरा सरकारले पालिकामा रहेका ६८ बर्ष पुगेका सवै जेष्ठ नागरिक तथा पूर्ण रुपमा अशक्त व्यक्तिलाई नजिकको स्वास्थ्य संस्था वा अस्पताल पुग्न समस्या भएपछि घरमै पुगेर स्वास्थ्य सेवा दिने ब्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उनले जेष्ठ नागरिक र अशक्त ब्यक्तिको लगत संकलन गरि सोही अनुसार स्वास्थ्यकमर्मी परिचालन गरिएको बताए । ‘स्वास्थ्यकर्मीहरु घरमै पुगेर स्वास्थ्य परीक्षण, रगत, आँखा, कान परीक्षण, औषधि बितरण तथा उच्च रक्तचाप, दम, सुगर जस्ता रोगको औषधि वितरण हुन्छ,’ उनले भने ।
आफ्नो योग्यता, अनुभव, ज्ञान र सीपको प्रयोगद्वारा राज्यका लागि आफ्नो जीवनको महत्वपूर्ण उर्जा खर्च गरेका ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित, सम्मानको सुनिश्चिता गर्दै समाजिक न्यायको प्रत्याभुति प्रदान गर्ने उद्देश्यले कार्यक्रम लागू गरिएको पालिका अध्यक्ष तुफानले बताए । जनताको समस्या, विकासका आवश्यकता, भोगिरहेका समस्यालाई सहज, सरल, छिटोछरितो र प्रभावकारी बनाउन पालिका तत्पर छ,’ अध्यक्ष विकले भने ।

Previous articleखजुरा गाउँपालिका ५ का सुत्केरीलाई पोषकतत्व वितरण
Next articleनिर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २५ वर्ष : २५ अर्व ६२ करोड कर्जा लगानी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here