खेलकुदमा अझैँ संघीयता लागू भएन : लुम्विनी खेलकुद सदस्य सचिव भट्टराई

बाँके, ११ माघ ।


लुम्विनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले अन्य क्षेत्र र तहमा संघीयता लागू भए पनि खेलकुदमा हुन नसकेको बताएका छन् । उनले खेलकुद संघीय संरचनामा जान नसक्दा निर्माण भएका भौतिक संरचना संरक्षणमा समस्या भएको बताए । नेपालगन्जमा विहीवारबाट सुरु भएको ‘प्रथम नेपालगन्ज कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता’ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले खेलकुदका भौतिक संरचना संरक्षणमामात्र नभई कर्मचारी परिचालनमा समेत समस्या भएको बताए । ‘नेपालको संविधानमा राज्यका सवै संरचना संघ, प्रदेश र स्थानीय तहमा हुने भनिएको छ । राज्यको सवै तहमा संघीयता लागू भइसक्यो, तर खेलकुदमा अहिले पनि केन्द्रिकृत ब्यवस्था छदैँछ,’ उनले भने, ‘खेलकुदमा संघीयता लागू हुन नसक्दा बनेका संरचना संरक्षणमा समस्या भएको छ । कर्मचारी परिचालन गर्न र खेलकुदका गतिविधिले गति लिन सकेको छैन ।’
उनले खेलकुदलाई तत्काल संघीयताको मर्म अनुसार लैजान माग गरे । आठौँ राष्ट्रिय प्रतियोगिताको अवसरमा नेपालगन्जमा निर्माण भएका भौतिक संरचना संरक्षणको पर्खाईमा रहेको उनको भनाई थियो । ‘आठौँ राष्ट्रिय प्रतियोगिताका बेला नेपालगन्जमा थुप्रै भौतिक संरचना निर्माण भएका छन् । यी संरचना प्रदेशले हेर्ने की केन्द्रले हेर्ने भन्ने निक्र्यौल हुन नसक्दा अलपत्र परेका छन् । केन्द्र सरकारले अनुमति नदिए पनि अव यी संरचनाको संरक्षण प्रदेश खेलकुद परिषदले गर्ने छ,’ सदस्य सचिव भट्टराईले भने ।
बाँके जिल्ला व्याडमिन्टन संघको आयोजनामा नेपालगन्ज रंगशालास्थित कवर्ड हलमा सुरु भएको प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रियसहित करिव दुई सय ५० खेलाडीले सहभागिता जनाएको संघका अध्यक्ष संजय थापाले जानकारी दिए ।
१३ माघसम्म चल्ने प्रतियोगितामा पुरुष एकल खुल्ला, पुरुष युगल, महिला एकल, पुरुष युगल वी लेभल र ४५ प्लस भेट्रान्स डबल्स रहेको छ । प्रतियोगिताका विजेता खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कारको ब्यवस्था गरिएको आयोजक बाँके जिल्ला व्याडमिन्टन संघका उपाध्यक्ष मिनबहादुर मल्लले जानकारी दिए ।
आयोजकका अनुसार पुरुष एकलका विजेताले नगद ७० हजार, दोस्रोले ३५ हजार तथा तेस्रो हुने दुई जनाले १५–१५ हजार रुपैयाा पाउनेछन् ।
महिला एकलका विजेताले ६० हजार, दोस्रो हुनेले ३० हजार तथा तेस्रो हुने दुई जनाले १५–१५ हजार प्राप्त गर्नेछन् । पुरुष युगलका विजेताले नगद ५० हजार, दोस्रोले २५ हजार तथा तेस्रो हुनेले १५ हजार पाउँने उपाध्यक्ष मल्लले बताए ।
यस्तै पुरुष युगल (बी लेभल) ले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०–१० हजार पाउनेछन् । यसैगरी पुरुष युगल (भेट्रान्स ४५ प्लस) का विजेताले ३० हजार, दोस्रोले २० हजार तथा तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
करिव २५ वर्षपछि नेपालगन्जमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता भएको हो । नेपालगन्जमा विक्रम सम्वत् ०५५ सालमा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता भएको बाँके जिल्ला व्याडमिन्टन संघका अध्यक्ष संजय थापाले बताए ।

Previous articleस्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा डुडुवा बाँकेकै उत्कृष्ट
Next articleआजको मौसम कस्तो छ ? कहाँ–कहाँ पानी पर्ने सम्भावना छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here