१५ माघमा नवौँ डाँफे कप फुटबल प्रतियोगिता : प्रथम पुरस्कारको रकम दिने थापाको घोषणा

बाँके, १० माघ ।


डाँफे कप फुटबल प्रतियोगिताको नवाँै श्रृंखला १५ माघमा हुने भएको छ । न्यू डाँफे स्पोर्टस् क्लव खजुराले खजुरा गाउँपालिका ४ डि गाउँस्थित मिनी रंगशालामा ९ औँ डाँफे कप फूटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नक आउट विधिमा खेलाइने प्रतियोगितामा १६ वटा क्लवले सहभागिताका लागि नाम दर्ता गराएको प्रतियोगिता संयोजक तिलवीर सुनारले जानकारी दिए । ए डिभिजन लिगमा खेल्ने खेलाडी जन्माइसकेको न्यू डाँफे स्पोर्टस् क्लव विक्रम सम्वत् ०३८ सालमा स्थापना भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक तिलवीर सुनारले क्लवको आफ्नो स्थायी स्रोत नभएपनि दाताहरुको सहयोगबाट ९ औं श्रृंखला संचालन गर्न लागेको बताए । उनले यस वर्षको प्रतियोगितामा पनि बिभिन्न दाताहरुबाट सहयोगको आश्वासन प्राप्त भएको जनाउँदै आगामी दिनमा क्लवको स्थायी स्रोत बनाइने बताए ।
संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ५५ हजार ५५५ र द्वितीयलाई ८५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।
प्रथम पुरस्कर खजुरा ४ डि गाउँ स्थायी घर भई हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत रुपमा प्रायोजन गर्ने घोषणा गरेको आयोजकले जनाएको छ । बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गर्ने बाँके जिल्ला फुटवल संघका महासचिव कमल खत्रीले बताए ।
पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेकबहादुर रोका क्षेत्रीले प्रतियोगितालाई स्थानीय सरकारको पुर्ण साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले खेल सकिएपछि सबै गतिबिधि सकिने परिपाटीलाई अन्त्य गर्न क्लवका पदाधिकारीलाई आग्रह गरे । खेल गतिबिधि निरन्तर संचालन गर्न र क्लवको हिसावकिताव पारदर्शी राखेर चन्दादाताहरुलाई सन्तुष्ट बनाउन उनले आयोजकलाई आग्रह गरे । डाँफे क्लवले फुटबलमा लालबहादुर थापा, बालबिर थापा, शंकरदेव गिरी, यामबहादुर गुरुङ, सुरेश थापा, लोकबहादुर खत्री, अर्जुन थापालगायत राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।
पत्रकार सम्मेलनमा ग्रिसबहादुर सिंजाली, जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्री, भुतपूर्व सैनिक विकास समिति बाँकेका उपाध्यक्ष दानबहादुर गुरुङ्ग, न्यूडाँफेका पूर्व खेलाडी समेत रहेका पूर्व राष्ट्रिय खेलाडी सुरेश थापामगर, ए डिभिजन लिग खेलिरहेका खेलाडी दिपेङ्कराज सिंह ठकुरी, क्लबका पदाधिकारी, खेलाडी लगाएतको उपस्थिती रहेको थियो ।

Previous articleअस्फाल्ट पीचका लागि दुई सडक शिलान्यास
Next articleसरस्वती मावि चरकमटियालाई बबई रनिङ शिल्डको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here