अस्फाल्ट पीचका लागि दुई सडक शिलान्यास

बाँके, १० माघ ।


नेपालगन्जको फुटाहा र पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएको छ । नेपालगन्ज उपमहानगरपालिका १९ फुटाहादेखि एसके डेरी उद्योगसम्म तीन सय ७५ मिटर लामो र ६ मिटर चौडा बाटो तथा सुर्खेतरोडदेखि टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर लामो र ८ मिटर चौडा पासाङ ल्हामु मार्ग अस्फाल्ट पीच हुने भएको हो । यी दुबै सडक स्तरोन्नति कार्यको बुधबार नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरेका छन् ।
फुटाहा सडक लुम्बिनी प्रदेशको समपूरक बजेट र नेपालगन्ज उपमहानगरपालिकाको संयुक्त लागतमा पीच हुन लागेको उपमहानगरले जनाएको छ । ६० लाख बजेटमा बन्न लागेको उक्त सडक सात भाई निर्माण सेवासंगको ठेक्का सम्झौतामा १५ असार भित्र सम्पन्न हुने इन्जिनियर इश्वरी सापकोटाले जानकारी दिए । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक बसन्तकुमार कनोजिया, वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मी, वडा सदस्य रामसहावन बर्मा, वडा सचिव तेजेन्द्र रोकाय, इन्जिनियर चन्दन राज दास लगायतको उपस्थिति थियो ।
नगरस्तरीय ७५ लाख बजेटमा अस्फाल्ट पीच हुन थालेको पासाङ ल्हामु मार्ग पनि १५ असार भित्र निर्माण सम्पन्न गर्ने गरी पिके कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता गरिएको इन्जिनियर मबिन्द्रमान श्रेष्ठले जानकारी दिए । त्यस अवसरमा नगर उपप्रमुख कमरुद्दिन राई, पूर्वाधार विकास समिति संयोजक कनोजिया, वडा नम्बर ११ का वडा अध्यक्ष नन्दकिशोर कश्यप, सब इन्जिनियर पवन बुढा लगायतको उपस्थिति थियो ।
अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख विष्टले छिटो, छरितो र गुणस्तरीय काम निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले गुणस्तरीय कामका लागि स्वयम् टोलबासीले पनि चासो र खबरदारी गर्नुपर्ने बताए । विष्टले सडक पूर्वाधार विकासमा नेपालगञ्ज उपमहानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।
नगर उपप्रमुख राईले पूर्वाधार विकासको मुख्य कडी मानिने सडक स्तरोन्नतिको काम प्राथमिकताका साथ भइरहेको बताए । सडकको गुणस्तरमा कुनै कम्प्रमाइज नगर्न राईले निर्देशन दिए ।

Previous articleवीरेन्द्र नमुना मावि हेकुलीलाई रनिङ शिल्डको उपाधि
Next article१५ माघमा नवौँ डाँफे कप फुटबल प्रतियोगिता : प्रथम पुरस्कारको रकम दिने थापाको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here