नेपालगन्ज रंगशालाको एथ्लेटिक्स ट्रयाक निर्माण समयमा नसकिने

बाँके, ८ पुस ।


यूवा तथा खेलकुल मन्त्री डिगबहादुर लिम्वुले नेपालगन्ज रंगशालामा निर्माणाधिन सेन्थेटिक एथ्लेटिक्स ट्रयाक निर्धारित समयमा निर्माण पूरा नहुने भएको छ । २८ पुसमा निर्माण सम्पन्न गर्ने मिति सकिदै छ । तर, अहिलेसम्म ६० प्रतिशत मात्र काम सकिएको पञ्चकन्या÷स्यांकोट्स जेभीका प्रमुख इन्जिनियर मनिष शाहले बताए । ‘मसिना र लामो समय लाग्ने काम सकिएको छ । अव देखिने, ठूला तर समय नलाग्ने काममात्र बाँकी छ,’ उनले भने ।
ट्रयाक कालोपत्रेका लागि जमिन सम्याउन सुरु भए पनि नाला निर्माणको कामसमेत नसकिएको उनले बताए । जाडोयाममा कालोपत्रे गर्न र सेन्थेटिक विछ्याउन नमिल्ने भएको बहाना बनाउँदै ६ महिना समय थप्ने दाउमा निर्माण कम्पनी छ । ‘तोकिएको समयमा काम सम्पन्न गर्ने लक्ष्य छ, तर जाडोयाममा कालोपत्रे गर्न र सेन्थेटिक विछ्याउन मिल्दैन । निर्धारित समयभन्दा चार महिना बढि समय लाग्ने निश्चित छ,’ उनले भने ।
उनले समय थपका लागि माग गरे पनि खेलकुद मन्त्री लिम्वुले समय थप नहुने स्पष्ट पारेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । निर्माणाधिन ट्रयाक अनुगमनका लागि आएका मन्त्री लिम्वुले गुणस्तरिय संरचना समयमा निर्माण गर्न निर्देशन दिएको उनले बताए । ‘सेन्थेटिक ट्रयाक तोकिएको समयमा सम्पन्न गर्न र गुणस्तरिय संरचना निर्माण गर्न निर्माण कम्पनीलाई मन्त्री ज्यूले निर्देशन दिएर जानु भएको छ,’ चन्दले भने ।
भ्याट बाहेक नौँ करोड ८६ लाख ४० हजार ८३२ रुपैयाँमा उक्त सेन्थेटिक ट्रयाक निर्माण भइरहेको छ । ट्रयाक निर्माणसँगै नालाको पनि ब्यवस्था गरिएको छ । रंगशालाको पानी निकास दिन निर्माण गरिएको नालाले थप समस्या निम्त्याउने भन्दै स्थानीयले विरोध जनाएका छन् । पानी निकासका लागि नाला नबनाउँदासम्म रंगशालाको पानी बाहिर आउन नदिने स्थानीयले चेतावनी समेत दिएका छन् ।
नेपालगन्ज रंगशालामा एथ्लेटिक्स ट्रयाक नहुँदा यहाँका खेलाडीलाई अभ्यास खेल खेल्न र प्रतियोगिता गर्न समस्या भएको छ । यहाँ एथ्लेटिक्स ट्रयाक नभएकै कारण आठौँ राष्ट्रिय प्रतियोगिता अन्तरगत एथ्लेटिक्स प्रतियोगिता दाङको बेलझुण्डीमा भएको थियो ।

Previous articleलुम्विनी प्रदेशका दुई मन्त्रीले लिए सपथ, बाँकेकी नमुना सहरी विकास मन्त्री
Next articleबाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here