साइक्लिङमा थारु खेलाडीको वर्चश्व : थापा र थारुलाई उपाधि (फोटो फिचर)

बाँके, २२ मंसिर ।


‘मेयर कप साइकल दौड प्रतियोगिता’ अन्तरगत माउन्टेन बाइक (एमटिबी) प्रतियोगितामा थारु समुदायका खेलाडीले वर्चश्व जमाएका छन् । पुरुषतर्फको उपाधि वुटवलका प्रकाश थापा र एमटिबी महिलातर्फ बाँके बैजनाथकी रुपा थारुले जितेकी छन् । नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा भएको प्रतियोगितामा १२ जनालाई उछिन्दै थापाले एमटिवी पुरुषतर्फको उपाधि जितेका हुन् । थापाले नगद २० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाए भने थारुले १५ हजार रुपैयाँ पाइन् ।
३३ किलोमिटर उक्त पुरुष साइकल दौड प्रतियोगितामा काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो र उदयपुरका निमा शेर्पा तेस्रो भए । खरेलले १५ हजार र शेर्पाले १० हजार नगद ट्रफी र प्रमाणपत्र पाए ।


त्यसैगरी, १६ दशमलव ५ किलोमिटर एमटिबी महिलाको साइकल दौडमा नेपालगन्जकी एसी श्रेष्ठ दोस्रो र बैजनाथकी रिमा थारु तेस्रो भइन् । विजयी प्रतियोगीले क्रमशः नगद १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पाए । उक्त प्रतियोगितामा ६ जनाले सहभागिता जनाएका थिए ।
त्यस्तै साधारण साइकलतर्फ ८० जनाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा राप्तीसोनारी गाउँपालिकाका जुगलाल थारु पहिलो राप्तीसोनारीका रमेशकुमार थारु दोस्रो र डुडुवाका बिनोदकुमार यादव तेस्रो भए ।


साधारण साइकल महिलातर्फ बर्दियाकी इन्दिरा थारु पहिलो, राप्तीसोनारी गाउँपालिका बाँकेकी मिनाकुमारी थारु दोश्रो र राप्तीसोनारीकै समिता थारु तेस्रो भइन् । साधारण साइकलतर्फ पहिलो, दोस्रो र तेस्रो भएका खेलाडीले क्रमशः आठ हजार, ६ हजार र चार हजार रुपैयाँ पाए ।
एमटिबी स्पेसलतर्फको बिशेष दौडमा नेपालगन्जका लक्ष्मीनारायण शाह पहिलो, राजिव बिक्रम शाह दोस्रो र डा. बद्री चापागाईं तेस्रो भए । उनीहरुलाई गिफ्ट ह्याम्पर, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको नेपालगन्ज साइक्लिङ क्लवका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।


उनले साइकल प्रतियोगिता प्रति आम नागरिकको आकर्षण बढ्दै गएको बताउँदै अघिल्लो वर्षभन्दा सहभागी संख्या बढेको जिकिर गरे । ‘साइकल खेलाडी उत्पादन हुनुका साथै साइकल खेल प्रति आम चासो बढेको छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा भएको प्रतियोगिताको मेयर प्रशान्त विष्ट र उपमेयर कमरुद्धिन राईले उद्घाटन गरेका थिए । नेपालगन्ज साइक्लिङ क्लवले ‘टुर दी ठाकुरद्वारा’ समेत गर्दै आएको छ ।

Previous articleकर्तब्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय खाँ १४ वर्षपछि पक्राउ
Next articleतीन सय किलोग्राम अवैध ब्रोइलर कुखुरा बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here