आज विश्व एड्स दिवस : १९ वर्षयता बाँकेमा एड्सबाट १७२ जनाको मृत्यु

बाँके, १५ मंसिर ।


१९ वर्षयता बाँकेमा एड्सका कारण एक सय ७२ जनाले ज्यान गुमाएका छन् । सन् २००४ देखि हालसम्म पाँच सय ५६ जना एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी÷एड्स फोकल पर्सन रविन्द्र शाहले जानकारी दिए । यी मध्ये चार सय १२ जना बाँकेका हुन् ।
एचएचएफको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उनले पछिल्लो समय एचआइभी संक्रमण दर घटेको दावी गरे । उनले आर्थिक वर्ष ०७८–०७९ मा बाँकेमा ११ हजार ७ सय ४५ जनाको एचआइभी परीक्षण गर्दा एक सय ५७ जनामा एचआइभी पुष्टि भएको बताए । तर, आव ०७९–०८० मा १७ हजार ३ सय २८ जनाको परीक्षण गर्दा एक सय नौँ जनामा एचआइभी पुष्टि भएको शाहले बताए ।
गर्भवती महिलामा पनि एचआइभी संक्रमण दर घटेको तथ्यांक छ । आव २०७९–०८० मा जिल्लाका २१ हजार ४ सय १६ जना जाँच गर्दा कसैमा पनि एचआइभी सङ्क्रमण नदेखिएको उनले बताए । बाँकेमा जाँच भए पनि एचआइभी पुष्टि हुनेमा जिल्ला बाहिरका समेत भएको उनको भनाई छ । ‘बाँकेमा आएर परीक्षण गराउनेको संख्या पनि उल्लेख्य छ । यहाँ पुष्टि भएका मध्ये केहि बाहिरी जिल्लाका पनि छन्,’ उनले भने ।
भेरी अस्पतालले एचआइभी संक्रमितको उपचार र परीक्षण निशुल्क गरिरहेको भेरी अस्पतालका ग्यास्ट्रोलोजिष्ट फिजिसियन समेत रहेका एचआइभी÷एड्स फोकल पर्सन डा. संकेतकुमार रिसालले जानकारी दिए । उनले एचआइभी पुष्टि हुने वित्तिकै एआरटी विधिमार्फत उपचार गरिएको बताए ।
अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले एचआइभी संक्रमण दर रोक्न सचेतना आवश्यक भएको बताए । उनले सचेतना जगाउन विश्व एड्स दिवसको अवसरमा १ डिसेम्वरको विहान नेपालगन्जमा सचेतनामुलक र्याली गरिने बताए ।
भेरी अस्पतालबाट विहान साढे ७ वजे सुरु हुने र्याली बसपार्कमा गएर सभामा परिणत हुने जानकारी दिए । ‘एचआइभी÷एड्सको बारेमा जानकारी दिन सडक नाटक, विद्यालयस्तरका बालबालिका वीच क्वीज कन्टेष्ट र कण्डम फुलाउने प्रतियोगिता आयोजना हुने छ,’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले एचआइभीका बारेमा सर्वसाधारणलाई जानकारी दिनसके सङ्क्रमण न्यूनीकरण गर्न सकिने धारणा राखिन् ।

Previous articleमोटरसाइकल चोरी अभियोगमा दुई जना पक्राउ
Next articleसुवर्ण क्षेत्रीको ‘सपना, विश्वास र अठोट’ लोकार्पण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here