पत्रकार महासंघ बाँकेमा चौतारीको ताला, महासंघ बाँके अध्यक्षको ऐक्यवद्धता

बाँके, २७ असोज ।


प्रेस चौतारी नेपाल बाँकेले नेपाल पत्रकार महासंघ, बाँके शाखामा तालावन्दी गरेको छ । नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीसहितको प्रेस चौतारी नेपाल बाँकेको टोलीले महासंघमा तालावन्दी गरेको हो ।
महासंघ लुम्बिनी प्रदेश समितिले सिफारिस गरेको शुद्धीकरण एवं नयाँ सदस्यताको नामावली प्रति आपत्ती जनाउँदै आन्दोलित भएको प्रेस चौतारीले महासंघ बाँके अध्यक्ष दामोदार भण्डारीलाई ज्ञापन पत्र बुझाए लगतै तालावन्दी गरेका अध्यक्ष दुर्गा रोकायले बताए । उनले निर्णय सच्याउन माग गर्दै चौतारीले महासंघ बाँके शाखा मार्फत केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदै समस्या समाधान नहुँदासम्म तालाबन्दी जारी रहने स्पष्ट पारे ।
‘बाँकेमा नयाँ सदस्यता र शुद्धिकरण अभियान सम्बन्धि निर्णयबाट अन्याय महसुस गरी आन्दोलन र तालाबन्दी गरेको लामो समय बित्दा समेत समस्या समाधानका लागि कुनै पनि पहल नगरी महासंघ लुम्बिनी प्रदेश समितिले सदस्यता शुद्धिकरण मापदण्डको धज्जी उडाउँदै अत्यन्त पूर्वाग्रही र मनोमानी तरिकाले नामावली सिफारिस गरेको चौतारीको ठहर छ,’ अध्यक्ष रोकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रदेश समितिले जिल्लाबाट सिफारिस गरेकोे नामावलीका सम्बन्धमा छानविन गर्नुपर्नेमा उल्टो जिल्लाले सिफारिस गरेको नामावलीलाई थप गिजोल्दै बिवादित बनाएको उल्लेख गर्दै प्रेस चौतारी बाँकेले प्रदेशमा परेको उजुरी उपरसमेत वास्तविकता पहिचान नगरी सिफारिस गरेको भन्दै निर्णय अविलम्ब सच्चाउन महासंघसँग माग गरेको छ । ‘शक्तिको आडमा हरप्रयासले प्रेस चौतारी निकटका पत्रकारलाई पाखा लगाउने दुस्प्रयासको कडा प्रतिवाद गर्दै महासंघको केन्द्रीय शुद्धिकरण समितिबाटै बाँकेमा उत्पन्न समस्या समाधान नहुँदासम्म नेपाल पत्रकार महासंघ बाँके शाखामा अनिश्चितकालिन तालाबन्दी गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
प्रेस चौतारी नेपाल नेपाल पत्रकार महासंघमा सदस्यता शुद्धिकरण हुनुपर्ने आवाज सशक्तरुपमा उठाउँदै आएको संगठन भएको उल्लेख गर्दै ज्ञापनपत्रमा सदस्य शुद्धिकरण र नयाँ सदस्यता वितरण प्रक्रिया बिधिसम्मत ढंगबाट हुनुपर्नेमा प्रष्ट रहेको जनाएको छ । महासंघ लुम्विनीले निर्णय गर्दा प्रेस चौतारी निकट क्रियाशील पत्रकारलाई शुद्धिकरणका नाममा हटाउने र सदस्यता नदिने कार्य भइरहेकोले त्यस्ता गतिबिधि सच्याउन जोडदार माग गर्दछौँ । निर्णय नसच्याय आगामी दिनमा तालाबन्दी बाहेक थप आन्दोलन चर्काउने चेतावनी दिन चाहन्छौ,’ महासंघ केन्द्रलाई बोधार्थ दिइएको ज्ञापन पत्रमा भनिएको छ । ज्ञापनपत्र बुझ्दै महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जिल्लाबाट सिफारिस नाममा प्रदेश समितिले थप बिवादित बनाउने कार्य गरेको भन्दै गम्भिर ध्यानाकर्षण भएको बताए ।

प्रेस चौतारीको तालावन्दीमा महासंघ बाँके अध्यक्ष भण्डारीको ऐक्यवद्धता । हेर्नुस भिडियो


उनले प्रदेश समितिलाई निर्णय सच्याउन आग्रह गर्दै निर्णय नसच्याए महासंघ बाँके आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘जिल्ला शाखाको निर्णय विपरित सदस्यता सिफारिस भएको छ । प्रदेशले गरेको सिफारिस महासंघ बाँकेलाई मान्य छैन । निर्णय नसच्याए महासंघ बाँके प्रेस चौतारीसँग सहकार्य गरेर आन्दोलित हुने जानकारी गराउँछौँ,’ उनले भने ।
अध्यक्ष भण्डारीले पछिल्लो समय थप गरिएका सदस्यको प्रमाण महासंघ बाँके शाखामा पेश गर्न चुनौती दिँदै उनले महासंघ लुम्विनी प्रदेशले पदको दुरुपयोग गरेको आरोप लगाए । ‘जिल्लाले सिफारिस गरेका बाहेकको सदस्यता थप गर्ने अधिकार प्रदेशलाई कसले दियो ? किन जिल्ला शाखालाई शुद्धिकरण गर्न भनियो ? यसमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ,’ उनले भने ।

Previous articleबाँके र बर्दियाका दुई लाख नागरिकलाई पाइप प्रणालीको पिउने पानी सुविधा
Next articleऔषधि ब्यवसायी संघ बाँके अध्यक्षमा अवस्थी र महासचिवमा जीवन शर्मा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here