सामाजिक एवम् धार्मिक सद्भाव विगार्ने प्रयास कसैले नगरौँ : एमाले बाँके

बाँके, १६ असोज ।


नेकपा (एमाले) बाँकेले नेपालगन्जमा सदियौँदेखि विद्यमान सामाजिक एवम् धार्मिक सद्भावलाई कायमै राख्न अपिल गरेको छ । एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमवार प्रेस विज्ञप्ति जारी गरि नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहर भएको बताउँदै विद्यमान सामाजिक एवम् धार्मिक सद्भावलाई कायमै राख्न अपिल गरेका छन् ।
‘सामाजिक सद्भाव र धार्मिक एकताको नमूना सहर नेपालगन्ज हरेक धार्मिक सम्प्रदाय, जातजाती, भाषाभाषी, बर्ण, लिंग र समुदायको साझा चौतारी हो । सामाजिक एवम् धार्मिक विविधताभित्र देखिएको अभूतपूर्व एकता यहाँको विशेषता हो । सामाजिक सद्भाव र आपसी एकतामा मात्रै नेपालगन्जको समृद्धि र विकास सम्भव छ,’ अध्यक्ष कक्षपतिले जारी गरेको विज्ञप्तिमा अगाडी भनिएको छ, ‘मुलुकको संघीय संरचनाका क्रममा पछि परे पनि नेपालगन्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको समेत अर्थराजनीतिमा प्रभाव पार्ने ऐतिहासिक सहर हो । यहाँको सामाजिक सद्भाव र धार्मिक एकताले नेपालभर सकारात्मक सन्देश प्रवाह गर्दै आएको छ ।’
उनले नेपालगन्जको सामाजिक सद्भाव र आपसी एकतामा खलल् पुर्र्याउन खोज्ने तत्वका विरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनु पर्ने बेला आएको बताएका छन् । कोही कसैबाट पनि हुने सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खल्बल्याउने दुष्प्रयासका विरुद्ध नेपालगञ्जवासी एकजुट हुन आवश्यक भएको औँल्याउँदै अध्यक्ष कक्षपतिले कुनै पनि व्यक्ति, संघ संस्था वा समुदाय विशेषले कसैको धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि किसिमको गतिविधि नगर्न अपिल गरेका छन् ।
‘सबै राजनीतिक दल, चेतनशील व्यक्ति युवा नेपालगञ्ज बनाउन लाग्नुपर्ने आवश्यक छ । सामाजिक सद्भाव र धार्मिक एकताविरुद्धका गतिविधि भए सम्बन्धितलाई कानुन बमोजिम कडा कारबाहीका लागि स्थानीय प्रशासनसँग नेकपा (एमाले) बाँके जोड्दार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न धर्मका धार्मिक गुरुहरु, राजनीतिक दल र समग्र नागरिक समाजलाई शान्ति र सहिष्णुता कायम राख्न आ–आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका र योगदानका लागि आग्रह गर्दै सामाजिक सद्भाव धार्मिक एकतामा नेपालगञ्जको गर्बिलो इतिहासलाई कायम राख्न १६ असोज विहान ७ः३० बजे नेपालगन्ज वीपी चोकबाट सुरु हुने सद्भाव र्र्यालीमा सहभाग हुन नेकपा (एमाले) बाँके सम्पूर्ण नेपालगञ्जवासीलाई बिनम्र अनुरोध गर्दछ ।’

Previous articleएमाले कर्णाली अध्यक्षमा शाह निर्वाचित
Next articleक्यान्सर अस्पतालको लिन्याक मेसिन : एसएस कोड फरक, जडान भयो, संचालनमा आएन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here