बाँके, १४ असोज ।
कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नगर प्रहरीलाई निर्देशन दिएका छन् । कोहलपुर नगरपालिकाका नगर प्रहरीलाई निर्देशन दिन आयोजित कार्यक्रममा उनले कसैको दवाव र प्रभावमा परेर काम नगर्न निर्देशन दिए ।
उनले स्थानीय प्रहरी ऐनले दिएको अधिकारमा टेकेर काम गर्न नगर प्रहरीलाई निर्देशन दिए । ‘कोहलपुरका नगर प्रहरीले अनुशासित, मर्यादित र जिम्मेवारपूर्ण तरिकाले काम गरेको मैले पाइएको छु । आगामी दिनमा पनि तपाईहरुले विश्वसनियताका साथ काम गर्नु हुनेछ भन्ने मैले आशा लिएको छु,’ मेयर आचार्यले भने ।
उनले नगर प्रहरीलाई राजनीतिक गन्ध आउने वातावरण नबनाउन पनि निर्देशन दिए । ‘प्रहरी ऐनले निर्दिष्ट गरेको काम जिम्मेवारीपूर्वक निर्वाह गर्नुस् । कसैको दवावमा काम गर्ने नभई आफूले पाएको अधिकारको सहि सदुपयोग गर्नुस्,’ उनले भने ।
कोहलपुर नगरपालिका व्यवस्थापन र संस्थागत सुशासनमा नगर प्रहरीले ठूलो भूमिका निर्वाह गरेको पनि उनको भनाई थियो । यस्तै नगर उपप्रमुख संगिता सुवेदीले नगर प्रहरीले कुनै पनि प्रलोभनमा नपरेर काम गरिरहेको भन्दै यसलाई सधैं कायम राख्न निर्देशन दिइन् । बजार व्यवस्थापन, न्यायिक समितिका निर्णय कार्यान्वयन, विपद व्यवस्थापन लगायतका सवालमा नगर प्रहरीले महत्वपूर्ण काम गरेको भन्दै उनले खुसी व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले नगर प्रहरीले नगरबासीको सेवाका निमित्त इमान्दार भएर काम गर्नुपर्ने बताए । सत्यम, सेवा सुरक्षणमको मूलमन्त्रलाई व्यवहारमा कार्यान्वयन गरेर अघि बढ्न उनले निर्देशन दिए ।
नेपाल प्रहरीबाट भर्ना छनौंट भई तालिम प्राप्त कोहलपुर नगर प्रहरीमा प्रहरी निरीक्षक वीरबहादुर थापाको नेतृत्वमा २३ जना कार्यरत छन् । नगर प्रहरीले बजार व्यवस्थापन, सार्वजनिक सम्पतीको संरक्षण, अतिक्रमण नियन्त्रण, सफा, स्वच्छ तथा हरित नगरको निर्माण, सुरक्षा व्यवस्थापन, सामाजिक विकृति नियन्त्रण, न्यायिक समितिको निर्णय कार्यान्वयन र विपद् व्यवस्थापन लगायतका कामलाई प्राथमिकता दिएर काम गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।
उनले अहिलेसम्म नौँ सय ७८ वटा होडिङ वोर्ड तथा फ्ल्यास वोर्ड नियन्त्रण गरी ४९ जनालाई कारवाही गरिएको बताए । उक्त कारवाहीबाट एक लाख सात हजार ८६० रुपैयाँ राजस्व संकलन भएको पनि उनले जानकारी दिए । त्यसैगरी फुटपाथ तथा ठेला व्यवस्थापनका क्रममा एक ४१ जनालाई कारवाही गरी ७० हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको छ । नगरपालिकामा रहेका मापदण्ड विपरितका चार ४० वटा ट्रष्ट हटाइएको थापाले जानकारी दिए ।