सामुहिक राजिनामा दिने बाँकेका चिकित्सकको चेतावनी

बाँके, १० असोज ।


सरकारले सुरक्षाको पूर्ण ग्यारेन्टी नगरे सामुहिक राजिनामा दिने बाँकेको विभिन्न अस्पतालमा कार्यरत चिकित्सकले चेतावनी दिएका छन् । सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकको बुधवार बसेको भेलामा सहभागी चिकित्सकले सरकारले सुरक्षाको पूर्ण ग्यारेन्टी नगरे सामुहिक राजिनामा दिने चेतावनी दिएका हुन् ।
विरामीको ज्यान जोगाउन रातदिन खट्दा समेत विरामीका आफन्तबाट चिकित्सकहरु असुरक्षित भएपछि काम गर्ने वातावरण नभएको बैठकले निश्कर्ष निकालेको भेरी अस्पतालमा कार्यरत बरिष्ठ डेन्टल सर्जन डा. निर्माणबहादुर शाहले बताए । उनले स्वतन्त्र र निर्धक्क भएर काम गर्ने वातावरण नभएकोले सामुहिक रुपमा राजिनामा दिने निश्कर्षमा पुगेको बताए । ‘दोषीमाथि कारवाही र चिकित्सकमाथि हुने घटना दोहोरिन नदिने प्रतिबद्धता शुक्रवार विहान १० बजेसम्म नआए सामुहिक राजिनामा दिएर आन्दोलनमा उत्रने निर्णय भएको छ,’ डा. शाहले भने ।
भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न हस्पिटल लगायत निजी अस्पतालमा कार्यरत चिकित्सकको सहभागिता रहेको भेलाले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि श्रृङखलाबद्धरुपमा आक्रमण भइरहेकोले सेवा दिन नसकिने निश्कर्ष निकालेको भेरी अस्पतालका कन्सल्टेन्ट न्यूरो सर्जन डा. अञ्जन कार्कीले बताए । ‘चिकित्सकहरुको ध्यान विरामीलाई बचाउने सिवाय अरु केहि हुँदैन । अहिले पनि हामी विरामीको उपचारमा असर नपरोस भन्ने चाहन्छौँ । सरकारले हाम्रो सुरक्षाको पूर्ण ग्यारेन्टी नगरे हामी राजिनामा दिएर आन्दोलनमा उत्रन बाध्य हुने छौँ,’ उनले भने, ‘यो हाम्रो रहर होइन, बाध्यता हो ।’
पोखरा, हेटौडा, गुल्मी, मोरङ पछि पछिल्लो पटक पोखरास्थित मणिपाल अस्पतालमा कार्यरत सहकर्मी कुटिएपछि सुरक्षा खोज्दै चिकित्सक आन्दोलित भएका हुन् । सहकर्मी कुटिएको विरोधमा पोखरा, काडामाडौंका अस्पतालमा कार्यरत चिकित्सकहरु प्रदर्शन गर्दै आएका छन् ।
चिकित्सकले राजिनामा दिए शुक्रवारदेखि भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, वेष्टर्न अस्पताल लगायत अन्य निजी अस्पतालको ओपिडी, इमरजेन्सी, आइसीयु लगायतको सबै स्वास्थ्य सेवा प्रभावित हुनेछ ।

Previous articleवरिष्ठ कलाकार श्यामानन्दको उपचारमा आर्थिक समस्या : आर्थिक सहयोगको याचना
Next articleकोहलपुर–नेपालगन्ज १३२ केभी प्रसारण तथा सवस्टेशनको मन्त्री बस्नेतद्वारा शिलान्यास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here