तीन हजार कैदी अट्ने नौवस्ता कारागार : बाल सुधार गृह स्थापना गर्न सरकारद्वारा स्वीकृती

बाँके, ५ असोज ।


बैजनाथ गाउँपालिका ३ नौवस्तामा निर्माण भएको क्षेत्रीय कारागारलाई नेपाल सरकारले बाल सुधार गृह स्थापना तथा संचालन गर्न स्वीकृती दिएको छ । पहिलो चरणको संरचना निर्माण पूरा भएको एक वर्षपछि क्षेत्रीय कारागारलाई बाल सुधार गृह स्थापना तथा संचालन गर्न स्वीकृती दिएको हो ।
करिव ९ बिगाह क्षेत्रफलमा फैलिएको उक्त कारागार तीन हजार कैदी अट्ने क्षमताको छ । भ्याट बाहेक ४६ करोड ४४ लाख ७० हजार सात सय ९५ रुपैँया सम्झौता भएकोमा कुल ४६ करोड २२ लाख सात हजार ६ सय ७६ रुपैँया लागतमा निर्माण सम्पन्न भएको भवन डिभिजन कार्यालय नेपालगन्जका प्रमुख विजयकेशर खनालले जानकारी दिए । उक्त भौतिक संरचना इलाका प्रहरी कार्यालय चिसापानीले रेखदेख गर्दै आएको छ । दिउँसोको समयमा एक जना र रातको समयमा दुई जना प्रहरीले ड्यूटी दिँदै आएको सुरक्षार्थ खटिएका एक प्रहरीले बताए ।
८ कात्तिक, २०७३ मा सम्झौता भई २३ कात्तिक, २०७९ मा निर्माण सम्पन्न भएको उक्त कारागारमा कैदीबन्दीका लागि आठ वटा ब्लक निर्माण गरिएको छ । त्यसैगरी, कैदीबन्दीका लागि चार वटा वर्कसप, चार किचेन तथा डाइनिङ, चार शौचालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि एक–एक वटा भवन, १० वटा सेन्ट्री पोष्ट, चार भिजिटर ब्लवक र एउटा भेटघाट भवन निर्माण गरिएको छ ।
सुरक्षाका लागि अग्लो पर्खाल र खानेपानी टंकी पनि निर्माण भएको छ । ‘पहिलो चरणमा कैदीबन्दी राख्न मिल्ने भौतिक संरचना निर्माण भइसकेको खनालले बताए । उनले अस्पताल, विद्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि अर्को भवन निर्माण गर्न बाँकी रहेको उल्लेख गरे । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन सय जना बस्ने ब्यारेक, मुख्य कारागार भवन, प्रशासनिक भवन, भान्सा, आठ वटा जेल युनिट लगायत विभिन्न २५ वटा संरचना तयार भएका छन् ।’
कस्ता कैदीलाई राखिने छ ?
मुद्दा फैसला भइसकेका कैदीलाई नौवस्ता कारागार र अपराधको प्रकृति अनुसार खुला कारागारमा राखिने नीति अनुसार निर्माण भएको बाँके कारागारका जेलर अर्जुनजंग शाहले बताए । नौवस्ताको कारागार संचालनमा आएपछि पनि मुद्दा फैसला नभएका, मुद्दा सुनुवाईका लागि अदालत लैजानु पर्ने थुनुवा, उपचार गराउनु पर्ने बिरामी, ज्येष्ठ नागरिक थुनुवाहरुलाई नेपालगन्ज स्थित पुरानै कारागारमा राखिने उनले बताए ।
क्षेत्रीय कारागारमा के–के छ सुविधा ?
नयाँ निर्माण भएको क्षेत्रीय कारागारमा मानबोचित ब्यवहार र आधारभुत मानव अधिकार उपभोग गर्न पाउने ब्यवस्था सहित निर्माण गरिएको छ । आर्थिक उपार्जन गर्ने खालका शिपको ब्यवस्था, मनोरञ्जन, खेलकुद, शिक्षा, स्वास्थ्य, खानपान लगायतका आधारभुत मापदण्ड पूरा गरिएको छ ।
‘कारागारलाई सुधार केन्द्रका रूपमा बिकास गर्ने उद्देश्यले नयाँ संरचना निर्माण गरिएको हो । यो कारागारमा कैदीबन्दीले तालिम लिन मिल्ने ठुला हलको ब्यवस्था गरिएको छ । सिपमुलक तालिम लगायत अन्य तालिम दिन सकिने छ । कारागारको नियम उल्लघंन गर्नेलाई कष्टकर सजाय दिन अलग्गै दुई वटा अध्याँरा साँघुरा कोठा पनि निर्माण गरिएको छ,’ जेलर शाहले भने ।
नौबस्ता स्थित क्षेत्रीय कारागारको भौतिक संरचना त्यसै खेर जानु दुर्भाग्य भएको मानव अधिकारकर्मी बसन्त गौतमले बताए । निर्माण भएका संरचना प्रयोगका लागि राज्यले पहल गर्नुपर्ने उनको भनाई छ । ‘कैदीबन्दीको हकअधिकारको संरक्षण गरी सेवा, सुविधा सरल, सहज र प्रभावकारी बनाउनका लागि पनि नौबस्ताको क्षेत्रीय कारागारलाई सीघ्र संचालमा ल्याउनु पर्छ,’ उनले भने ।
जिल्ला कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी
तीन सय ५० जना कैदीबन्दी अट्ने क्षमता भएको बाँके जिल्ला कारागारमा नौँ सय बढि कैदीबन्दी रहेको उनले बताए । वि.सं. २००० सालमा बनेको नेपालगन्ज कारागार जीर्ण छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी रहेका छन् । बन्दीलाई बस्न, सुत्नका लागि प्रर्याप्त स्थान छैन । जसका कारण कैदीबन्दीको अवस्था दयनिय छ । उनीहरूले कष्टकर दैनिकी बिताउनु परेको छ । भवन भित्र कोठा नपुग्दा उनीहरू बाहिर बस्नु पर्दछ ।
क्षमता भन्दा बढी थुनुवा हुँदा हाल भवन बाहिर एक सय बढी कैदीबन्दी बस्नु परेको छ । जसका कारण गर्मी हावापानी र बर्षातमा कैदीबन्दीलाई बस्नमा समस्या हुने गरेको छ । ‘पर्याप्त ठाउँ नभएपछि बरण्डा, खुला आँगन, भान्सामा समेत कैदी बन्दी सुत्न बाध्य छन्,’ जेलर शाहले भने, ‘खुला आकाश, बरण्डा र छतमा समेत कैदीबन्दी सुत्ने गरेका छन् । शौच गर्दा लाइनमा बस्नु पर्दा निकै कष्टकर दैनिकी बिताउनु परेको छ ।’

Previous articleबाँकेको जयन्दु बालसुधार गृहमा झडप : एक मृत्यु, १० जना घाइते (भिडियो सहित)
Next articleचार जना अझैँ समातिएनन्, झडप हुनुको कारण के हो ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here