बाँके, ३ असोज ।
टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका चारजना कैदीबन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेपछि कैलाली जिल्ला कारागारमा रहेका तीनजना र पोखराको सुधारगृहमा रहेका एकजना रिहा भएका हुन् ।
विगत आठ वर्षदेखि कैद सजाय भुक्तान गरिरहेका जानकी गाउँपालिका– ७ मोतीपुर, कैलालीका हरिनारायण चौधरी, सोही गाउँपालिकाको लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिकाको ठाह्रापुरका वीरबहादुर चौधरीलाई रिहा भएको जिल्ला कारागार कार्यालय कैलालीले जनाएको छ ।
आठ प्रहरी र एक नाबालकसहित नौजनाको मृत्यु भएको टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दामा दोषी ठहर भएका तीनैजना जन्मकैदको सजाय भुक्तान गरिरहेका थिए । हरिनारायण ५ भदौ ०७२, दिलबहादुर १४ भदौ ०७२ र प्रदीप २० भदौ ०७२ मा पक्राउ परेका थिए ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट बाँकी कैद मिनाहा भएपछि टीकापुर घटनाका तीनसहित विभिन्न मुद्दाका नौ जना कैदीबन्दीलाई ३ असोजमा रिहा गरिएको जिल्ला कारागार कैलालीका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए ।
संघीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरी, प्रतिनिधिसभा सदस्यद्वय गंगा चौधरी र अरुणकुमार चौधरी, नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीलगायत उक्त पार्टीका नेता, कार्यकर्ताले रिहा भएका टीकापुर घटनाका तीनै कैदीलाई कारागारको गेटमा अबिर र खादा लगाएर स्वागत गरेका थिए ।
त्यस्तै, टीकापुर घटनामा दोषी ठहर भई तत्कालीन अवस्थामा नाबालक रहेकाले अदालतको आदेशअनुसार पोखराको सुधारगृहमा पठाइएका लट्कनियाकै श्रवणकुमार चौधरी पनि रिहा भएका प्रतिनिधिसभा सदस्य गंगा चौधरीले जानकारी दिए ।
रेशम भने गत १५ जेठमा गणतन्त्र दिवसका दिन कैदमुक्त भएका थिए । संविधान निर्माणका क्रममा थरुहट–थारुवान प्रदेशको माग गर्दै टीकापुरमा भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि ७ भदौ, ०७२ मा आठ सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो ।