बाँके, १ असोज ।
लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी थारु समुदायको हरेक चाडपर्वमा सरिक हुन्छन् । थारु संस्कृती, संस्कार र परम्परा भनेपछि हुरुक्क हुने उनी यस वर्षको अट्वारी–२०८० मा पनि मजासँग मनाएका छन् । उनले महाभारतका पाँच पाण्डवमध्येका भीमको पुजा गर्नका लागि बनाइने प्रसाद आफ्नै हातले पकाए ।
मुख्यमन्त्री चौधरी दिनभर निराहार व्रत बसेर बेलुकीपख भीमको पुजा गरे । र, एक भाग आफ्ना चेलीबेटीका लागि छुट्याएर राखे । उनी यो वर्ष नभई हरेक वर्ष यसैगरि अट्वारीको व्रत बस्दै आएका छन् । ‘मेरो संस्कार, संस्कृती र परम्परा नै मेरो पहिचान हो । मेरो संस्कार, संस्कृती जोगिएपछिमात्र मेरो अस्तित्व रहन्छ भन्नेमा म विश्वस्त छु,’ उनले भने ।

उनले अट्वारीको भोलीपल्ट सोमवारको विहान पाँच थरिको तरकारी आफै पकाए । भगवानलाई चढाउने भात पनि आफैले तयार पारे । सवै तरकारी र भात भीमलाई चढाईसकेपछि आफूले खाने भागबाट एक भाग आफ्ना विवाहित दिदिबहिनीका लागि अलगै राखे । यसलाई थारु समुदायले फर्हार भन्दछन् । ‘यो पर्वमा दाजुभाईले दिदिबहिनीलाई आफ्नो भागबाट एक भाग दिने प्रचलन छ । मैले पनि परम्परा अनुसार एक भाग आफ्ना विवाहित चेलीवेटीलाई दिँदै आएको छु,’ मुख्यमन्त्री चौधरीले भने ।

अट्वारीको बेलुका फर्हार गर्दै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।
२०७८ सालको दसैँ अघि मुख्यमन्त्री चौधरीलाई कोरोना संक्रमण भयो । उनी भेरी अस्पतालमा भर्ना थिए । दसैँमा उनले आफू भर्ना भएको आइसोलेसनमै आफ्नो कुलदेवताको पूजा गरे । उनले थारु परम्परा अनुसार आफ्नो कुल देवतालाई रक्सी, बाबरी फूल र जमरा चढाएर सम्मान गरे । निधार, जिव्रो, छाती, घुँडा र पैतालाबाट ब्लेडले चिरेर रगत निकालेर आफ्नो कुलदेवतालाई चढाए । ‘हामी जहाँ छौँ त्यहिँ बसेर आफ्ना कुलदेवतालाई सम्झिनु पर्छ । पुजा गरेर सम्मान गर्नुपर्छ भन्ने मेरो बुझाई छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘म जहाँ हुन्छु त्यहिँ आफ्नो परम्परा अनुसारको चाडपर्व मनाउँछु । पुजा गरेर देवताको सम्मान गर्छु । यो मेरो धर्ममात्र होइन, कर्तब्य पनि हो ।’

२०७७ सालको दसैमा भेरी अस्पतालको आइसोलेसनमा आफ्ना कुलदेवतालाई रक्सीको छाँकी दिँदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।
मुख्यमन्त्री चौधरीले अट्वारीको रोटी पकाएको फोटो शेयर गर्दै साहित्यकार सोमप्रसाद चौधरीले मुख्यमन्त्रीले स्वयमले रोटी पकाएको, सरिक भएको देख्दा मन आनन्दित भएको बताएका छन् । उनले फेसबुकमा भनेका छन्, ‘मुख्यमन्त्री ज्यू यसैगरि हरेक चाडपर्वमा सरिक हुनुहोला र आफ्नो चाडपर्वको संरक्षण तथा सम्वद्र्धनमा लागि रहनुहोला भन्ने कामना छ ।’
