आश्रममा रहेका महिला भन्छन् – तीजमा नाच्न नपाउँदा न्यास्रो लागेको मात्र छैन, मन भतभती पोलेको छ

बाँके, १ असोज ।


तीजमा नाच्न नपाएकोमा सुर्खेतकी रत्ना शाही (४७) हरेक वर्षको तीजमा दिल खोलेर नाच्थिन् । वर्षदिनपछि आएको तीजमा मनभरि नाच्न पाउँदा उनको पीडा हलुंगो हुन्थ्यो । उनी तीजको गीतमा मनको बह पोख्थिन् । साथीसंगीसँग मनको बह पोख्न पाउँदा वर्षभरको पीडा भुल्थिन उनी ।
नेपालगन्जस्थिल नीलसागर सेवा आश्रममा रहेकी उनले यसपालीको तीजमा आफ्ना साथीसंगीलाई भेट्न र उनीहरुसँग नाँच्न नपाउने भएकी छन् । त्यसैले उनको अनुहार मलिन छ । मलिन अनुहारमा भेटिएकी रत्नाले घर परिवारका सदस्य लिन नआएकोमा आक्रोशित छिन् । ‘मेरो घर परिवार पनि कस्तो निष्ठुरी भएका हुन् तीजमा समेत मलाई लिन आएनन्,’ मन अमिलो बनाउँदै उनले भनिन्, ‘तीजमा नाच्न नपाउँदा शरिर भारी र मन उदास भएको छ ।’
तीजको गीतमा नाँचगान गर्न नपाएकोमा उनको मन दुखेको छ । मादल बजाउन नपाएर हात चिलाई रहेको उनले बताइन् । आधुनिक गीत उनलाई पटक्कै मन पर्दैन । पछिल्लो समय लाउड स्पीकरमा बजाइने गीत र आधुनिक नाँच देख्दा उनको मन दुख्छ । ‘मादलको तालमा गाउँका महिलाले गाउने गीत र नाच्न नपाउँदा मन चिसो भएको छ,’ उनले भनिन्, ‘लाउडस्पीकरमा बजेको गीतमा नाच्नुभन्दा कोठामा गएर मजाले सुत्छु ।’
सुर्खेतकी पार्वती पुन मगर (४५) पनि नीलसागर सेवा आश्रममा आश्रीत छिन् । विगतका वर्षमा तीजको गीतमा मन खोलेर नाचेको उनी झल्को आइरहेको छ । यसपालीको तीजमा नाच्न नपाउँदा उनलाई पर्नु पिर परेको छ । अघिल्लो वर्षको तीजमा खुबै नाचियो । यसपाली त नाच्न नपाइने भयो । नाच्न र गाउन नपाउँदा मरे तुल्य भएको छु,’ उनले भनिन् ।
पर्वतकी रुपा सुवेदी (३०) ले यसपालीको तीजमा बाबुआमा र दाईहरु लिन आउनेमा ढुक्क थिइन् । परिवारका सदस्य लिन नआएपछि उनलाई साह्रै पिर परेको छ । नीलसागर सेवा आश्रममा बस्दै आएकी उनले भनिन्, ‘मेरो दाईलाई लिन आउने भनिदिनु होला है,’ उनले भनिन्, ‘तीजमा छमछमी नाच्ने विचार थियो, तर यसपाली नपाइने भयो । मन साह्रै दुखेको छ ।’
काठमाडौँकी विस्मा खड्का पनि नीलसागर सेवा आश्रममा आश्रीत छिन् । उनलाई पनि यसपालीको तीज न्यास्रो लागेको छ । आश्रमले तीज गीतमा नाच्ने ब्यवस्था मिलाए पनि उनलाई चित्त बुझेको छैन । गाउँमा साथीसँग नाचगान गर्नु र पछि जोडिएका साथीहरुसँग तीज मनाउँदा रमाइलो नलागेको उनले बताइन् । ‘गाउँ भनेको गाउँ नै हो । यहाँ जति मिठो खाने कुरा र बाजागाजा बजाए पनि देखावटी रमाइलो मात्र हुन्छ,’ उनले भनिन्, ‘तीजको वास्तविक रमाइलो त गाउँमै हुन्छ । साथीसँगी नाच्न र गाउन पाउँदाको मज्जा वेग्लै हुन्छ,’ उनले भनिन् ।
आश्रममा रहेकाहरुलाई न्यास्रो नलागोस भन्ने उद्देश्यले तीज गीत र नाचगान गर्ने ब्यवस्था मिलाइएको आश्रमकी अध्यक्ष सरिता खनालले बताइन् । उनले गाउँघरको जस्तै रमाइलो गर्ने वातावरण मिलाउन नसके पनि न्यास्रो लाग्न नदिन हरसम्भको प्रयास गरेको बताइन् । ‘घरको जस्तै खानपान र रमाइलो गर्ने ब्यवस्था आश्रमले गरेको छ,’ उनले भनिन् ।

आश्रममा मनाई दिए खजुराका विकासले आफ्नो छोराको जन्मदिन
खजुरा गाउँपालिका ३ का विकास काउचा मगरले आफ्ना छोरा इभान काउचा मगरको दोस्रो जन्मदिन नीलसागर सेवा आश्रममा मनाई दिएका छन् । तीजमा सेवा आश्रममा रहेका जेष्ठ नागरिक, बालबालिका, महिला र असहायलाई न्यास्रो नलागोस भन्ने उद्देश्यले खाना खाने र रमाइलो गर्ने ब्यवस्था मिलाएको बताए । ‘असहाय, अशक्त, जेष्ठ नागरिकको सेवामा लाग्ने प्रेरणा छोरालाई मिलोस भन्ने मेरो पहिलो उद्देश्य हो,’ उनले भने ।
उनले बाहिरको होटल, क्याफे, रेष्टुरेन्टमा गएर जन्मदिन मनाउनुभन्दा जेष्ठ नागरिक, असहाय, गरिव गुरुवाका सेवामा खर्च गर्नु उपयुक्त हुने बताए । ‘जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा समस्यामा परेका समुदाय र वर्गका लागि खर्च गर्नु महानता हो,’ उनले भने ।

Previous articleबाँकेस्थित महेन्द्र राजमार्गमा बम विस्फोट : पूर्व–पश्चिम राजमार्गमा क्षति, एकतर्फी सडक संचालन
Next articleलुम्विनीका मुख्यमन्त्री चौधरीको संस्कृति मोह : अट्वारीमा आफैले पकाए रोटी, चेलीलाई दिए अग्रासन (फोटो फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here