बाँके, २४ भाद्र ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पूर्व–पश्चिम राजमार्ग अन्तरगत बाँकेको शमशेरगन्ज नजिक भएको सडक दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुगेर मुख्यमन्त्री चौधरीले घाइतेको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् । शुक्रवार राती करिव सवा ९ बजे भएको बस दुर्घटनामा सात जनाको ज्यान गएको थियो भने २३ जना घाइते भएका थिए ।
दाङका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन भ्रमण सकेर बर्दिया जाँदै गरेको बस बाँकेको शमशेरगञ्जमा दुर्घटना भएको थियो । कोहलपुरस्थित मेडिकल कलेजमा उपचाररत १३ जना घाइतेलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गरेको मुख्यमन्त्रीका प्रेस संयोजक गोपाल शर्मा भट्टराईले जानकारी दिए ।
उपचाररत घाइते विरामीको उपचारमा कमी हुन नदिन अस्पताल प्रशासनलाई उनले निर्देशन दिएकाछन् । उपचाररत घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरुको उपचार र मृतकहरुको राहतका लागि प्रदेश सरकारले पहल गर्ने आश्वासन दिए ।
अस्पतालका प्रमुख सुनिल सिंहले उपचारमा कुनै पनि समस्या नआउने र उपचारलाई प्रभावकारी बनाइएको जानकारी दिए । अस्पतालमा उपचार सम्भव नभएकालाई रिफर गरिएको र सम्भव भएकाहरुको उपचार कोहलपुरमै सफल रुपमा भइरहेको प्रमुख सिंहले जानकारी दिए । नेपाली काँग्रेस संसदीय दलका नेता जन्मजय तिमिल्सिनाले दुर्घटनाबाट प्रदेश नै मर्माहत भएको भन्दै सरकार गम्भीर हुनुपर्ने बताए ।
मुख्यमन्त्री चौधरीले दुर्घटनामा परि मुत्युवरण गर्नेहरु प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना ब्यक्त गरेका छन् ।