राष्ट्रियताको अपमान गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्रीले गरे कार्यक्रम बहिष्कार

बाँके, ९ भाद्र ।


भैरहवामा आयोजित एक कार्यक्रममा फिलिपिन्सको राष्ट्रिय गान बजेपछि लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कार्यक्रम बहिष्कार गरेका छन् । आयोजकले नेपाली राष्ट्रियताको अपमान गरि कार्यक्रम सुरूआत गरेको भन्दै मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिष्कार गरेका हुन् ।
८ भाद्रमा भैरहवामा आयोजित कार्यक्रममा प्रमुख अतिथि रहेका मुख्यमन्त्री चौधरीसहित अतिथी र सहभागीलाई उभिदिन आग्रह गरेपछि मुख्यमन्त्री चौधरी, अतिथि र सहभागीहरु सबै उठेपछि आयोजकले फिलिपिन्सको राष्ट्रियगानको धुन बजायो । नेपालको राष्ट्रिय गान नबजेपछि नेपाल र नेपालीको अपमान भएको भन्दै मुख्यमन्त्री चौधरीले कार्यक्रम बहिष्कार गरे ।
आयोजकले एक जना फिलिपिनोलाई कार्यक्रमको अतिथि बनाएको थियो । ‘विदेशी पाहुनाको सम्मानमा फिलिपिन्सको राष्ट्रिय गान बजाइएको होला भन्ने मलाई लाग्यो, तर आयोजकले नेपालको राष्ट्रिगान बजाएनन् । त्यसपछि म कार्यक्रम बहिष्कार गरि बाहिरिएँ,’ मुख्यमन्त्री चौधरीले भने ।
प्रदेश सरकारको प्रमुख सहभागी कार्यक्रममा नेपालको राष्ट्रिय गानको सट्टा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रम सुरु गरेपछि तत्कालै बाहिरिएको उनको भनाई छ । ‘सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘किवानीज इन्टरनेशनल’ नेपालको पाँचौं जिल्ला सम्मेलन भनेर बोलाइएको थियो । अन्तर्राष्ट्रिय संस्थाको सम्मेलनमा जाँदा राम्रै होला भन्ने लागेको थियो । तर, आयोजकले नेपालको राष्ट्रिय गानको सट्टा फिलिपिन्सको राष्ट्रिय गान बजाएर नेपालकै अपमान गरेको महशुस भएपछि त्यहाँबाट हिडेको हुँ,’ मुख्यमन्त्री चौधरीले भने ।
आयोजक संस्थाले पोखरामा यसअघि आयोजना गरेको कार्यक्रममा समेत फिलिपिन्सको मात्रै राष्ट्रिय गान बजाएको थियो । ‘तपाईहरुले राष्ट्रियतामाथि घात गर्नु भयो । म यस्तो कार्यक्रममा बस्न मिल्दैन र सक्दैन भन्ने जानकारी गराएर बाहिरिएँ,’ उनले भने ।
९० वटा देशमा शाखा रहेको अमेरीकी संस्था किवानीजले विश्वभरीका बालबालिकाको क्षमता, नेतृत्व विकास र खेलकुद क्षेत्रको विकास गर्ने गरी कार्यक्रम गर्दै आएको दावी गरेको छ ।

Previous articleप्रेरक प्रसंग : झुटो बोल्नुको परिणाम
Next articleपौडी खेल्ने क्रममा डुवेर बाँकेमा दुई जनाको मृत्यू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here