प्रेरक प्रसंग : झुटो बोल्नुको परिणाम

बाँके, ८ भाद्र ।

एकपटक एउटा कलेजका चारजना विद्यार्थी परीक्षाको अघिल्लो रात ढिलोसम्म पार्टी गरेर रमाए । मन मिल्ने साथीहरूसित राम्रो समय बिताउन पाउँदा र आफूले चाहेजस्तो खानपिन गरेर रमाउन पाउँदा उनीहरू निकै खुसी भए ।

तिनले भोलिपल्ट परीक्षा छ भन्ने भुसुक्क बिर्सिए । जब बिहान भयो, तब मात्र उनीहरू झल्याँस्स भए । सबैले आज परीक्षा छ भन्ने सम्झिए । त्यसपछि चारैजनाले आजको परीक्षाबाट छुटकारा पाउन एउटा कथा जन्माए । उनीहरूले आफ्ना हात, शरीर र अनुहारमा ग्रिज र फोहोरमैला दले । अनि कलेजका प्राचार्यसामु उपस्थित भए । 

ad

उनीहरूमध्ये एकले भने– सर, हामी चारैजना हिजो एउटा विवाहको पार्टीमा गएका थियौँ । पार्टीबाट फर्किंदा अचानक हाम्रो गाडीको टायर पड्क्यो । अनि पूरै बाटाभरि गाडी धकेल्नुपर्‍यो । हामी सीधै यहीँ आउँदै छौँ । उनीहरूको अवस्था देखेपछि प्राचार्यले भने– ओहो ! तिमीहरूमाथि त ठूलै विपत् आइपरेछ । परीक्षाको चिन्ता नगर । अहिले घर गएर आराम गर । परीक्षाको तयारी गर ।

आजको परीक्षा तीन दिनपछि दिने व्यवस्था मिलाइदिन्छु । अबको तीन दिनपछि मलाई भेट्नू । आफ्नो योजना सफल भएकामा चारैजना भित्रभित्रै मक्ख परे । तर, आफ्नो खुसी दबाएरै भने– हाम्रो मर्का बुझिदिनुभएकोमा हजुरलाई धेरै–धेरै धन्यवाद सर ! हामी तीन दिनपछि हजुरलाई भेट्नेछौँ । उनीहरू त्यहाँबाट बिदा भएर घरतिर लागे । 

घर फर्केपछि उनीहरूले मन लगाएर परीक्षाको तयारी गरे । र, तीन दिनपछि प्राचार्यसामु उपस्थित भए । राम्रो तयारी गरेकाले उनीहरू आत्मविश्वासी पनि देखिन्थे । 

प्राचार्यले उनीहरूलाई परीक्षाका लागि अलग–अलग चार कोठामा राखे र प्रश्नपत्र वितरण गरे । जब प्रश्नपत्र हेरे, तब उनीहरू एकाएक झस्किए । अब भने उनीहरूलाई आफूहरूको झुटको पर्दा खुल्ने निश्चित भयो । 

प्रश्नपत्रमा यस्तो सोधिएको थियो– 
१. तपाईंको नाम ?  (१ अंक)
२. गाडीको कुनचाहिँ टायर पड्केको थियो ?  (९९ अंक)

-नयाँ पत्रिकाको अनलाइन संस्करणबाट साभार ।

Previous articleमाईला काजीको आत्म विश्वास ‘त्रिभुवन चौक बोल्छ’ श्रृखंला-१
Next articleराष्ट्रियताको अपमान गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्रीले गरे कार्यक्रम बहिष्कार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here