बाँके, ४ भाद्र ।
नेपालगन्ज उद्योग बाणिज्य संघको २ भाद्रमा भएको निर्वाचन अन्तरगत महासचिव पदको मत गणना पुन ः हुने भएको छ । महासचिव लगायत सम्पूर्ण मत परिणाम सार्वजनिक भए पनि विपक्षी प्यानलको विरोधपछि पुन ः मत गणना गर्न लागिएको निर्वाचन आयुक्त टीकाजंग सिंहले बताए ।
निर्वाचन आयुक्त टिकाजङ्ग सिंहले एक सूचना जारी गरि मंगलबार बिहान पुनः मतगणना हुने जानकारी दिए । निर्वाचन अधिकृतले सूचनामा महासचिवको उम्मेदवार भीमबहादुर रानाभाटको मोबाइलमा सम्पर्क हुन नसकेको जनाउँदै सूचनाका आधारमा मत गणनामा उम्मेदवार स्वयम वा प्रतिनिधि पठाउन भनेका छन् । निर्वाचन समितिले महासचिव पदमा ६ मतान्तरले समावेशी प्यानलका भीमबहादुर रानाभाट विजयी भएको घोषणा गरेका थिए ।
मत पेटिकामा भएका सम्पूर्ण मत गणना गरि निर्वाचन समितिले महासचिवमा रानाभाट विजयी भएको घोषणा गरेको थियो । ६ मतको मतान्तरले पराजित भएका साझा प्रजातान्त्रिक समुहका उम्मेदवार टंकप्रसाद शर्माले शिलबन्दी गरिएका मतपत्र पनि गणना गर्नुपर्ने माग उठाएपछि विवाद उत्पन्न भएको हो ।
विपक्षी प्यानलले मतदान अधिकृत सहित चार जनालाई निर्बाचन कार्यक्षेत्र भित्र बन्धक बनाई तालाबन्दी गरेका थिए । रातभरी मतगणनामा रहेका मतदानमा संलग्न अधिकृत सहितको टोलीलाई खानापानी समेत बन्द गरेर बन्धक बनाइएको निर्वाचन अधिकृत अधिवक्ता माधवप्रसाद शर्माले बताए । साझा प्रजातान्त्रिक समुहले अधिवक्ता शर्मा, प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंह सहित चार जनालाई बन्धक बनाएको शर्माले बताए ।
पुन ः मतगणनाको मागलाई बेवास्ता गरिएपछि बाध्यभएर तालाबन्दी गरेको प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष तथा निर्वाचन परिचालन समितिका संयोजक सञ्जय थापाले बताए । ‘अन्य बुथबाट संकलन गरिएका मतपत्र पनि गणना गर्नुपर्ने माग गरेका थियौँ । निर्वाचन समितिले हाम्रो मागप्रति बेवास्ता गरेपछि बाध्य भएर तालावन्दी गर्यौँ,’ उनले भने ।
हार स्विकार्न नसकेर साझा प्रजातान्त्रिक प्यानलले बखेडा खडा गरेको विजयी घोषणा भइसकेका महासचिव रानाभाटले बताए । ‘निर्वाचनमा हार, जित हुन्छ । जितेपछि सवै ठिक हारेपछि स्विकार गर्न नसक्नुको उपज हो यो । विजयी भई फुलमाला अबिर लगाएर घर गइसकेपछि विवाद झिक्नु किमार्थ राम्रो होइन,’ उनले भने ।
निर्वाचन आयुक्तले बिजयी घोषणा गरेर जुलुससहित घरमा पुगेका बिजयी उम्मेदवारलाई पुनः बोलाएर मत गणना गर्नुपर्छ भन्नु असुहाउँदो भएको नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए । उनले निर्वाचन आयूक्तले जारी गरेको सूचना प्रति आपत्ति जनाएका छन् । ‘मत गणनामा चित्त नबुझे त्यसका लागि कानूनी प्रक्रिया अपाउनु पर्थ्यो । तर प्रजातान्त्रिक प्यानलले निर्वाचन आयुक्तलगायतका टीमलाई बन्धक बनाएर राख्नु अशोभनिय मात्र भएन खेदजनक पनि छ । मानव अधिकार हनन् हुने गरि गरिएको कार्य भत्र्सना योग्य छ,’ श्रेष्ठले भने ।
निर्वाचन आयुक्तले घोषणा गरिसकेपछि चित्त नबुझे अदालतको बाटो खोज्नु पर्नेमा निर्वाचन आयुक्तलाई बन्धक बनाउनु उचित नभएको उनको भनाई छ । उनले विजयी महासचिव रानाभाटको र उनको प्रतिनिधिको सहमति बिना गरिने पुनः मतगणनाको निर्णयलाई स्विकार गर्न नसक्ने स्पष्ट पारे ।