महाआरतीमा मुख्यमन्त्री चौधरी : विभेद गरेको भन्दै मन्दिर ब्यवस्थापन समितिको आलोचना

सर्वसाधारणसँग भूइँमा बसेर पूजा गर्दा मन आनन्दित र प्रफुलित भएको मुख्यमन्त्री चौधरीको भनाई ।

बाँके, ३१ साउन ।


२९ साउन बेलुकी ७ बजे लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी बागेश्वरी मन्दिरको महाआरतीमा सहभागी भए । पत्नीका साथ महाआरतीमा सहभागी मुख्यमन्त्री त्यस दिनका कर्ता थिए । उनी सर्वसाधारण भक्तजन जस्तै भूइँमा बसेर पूजा गरे । उनका लागि बागेश्वरी मन्दिरले कुशनसम्म ब्यवस्था गर्न नसकेको भन्दै सर्वत्र आलोचना भएको छ भने जनताका छोरा जनतासँग बसेर पुजामा सहभागी भएको भन्दै मुख्यमन्त्री चौधरीको प्रसंशा भइरहेको छ ।
महाआरतीका परिकल्पनाकार पर्यटन ब्यवसायी श्रीराम सिग्देल लेख्छन्, ‘जनताको छोरा र अरूमा यति फरक हुन्छ । पूर्व राजा ज्ञानेन्द्र शाह र बहालवाला मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलेको हैसियत फरक हुन सक्ला । हुन त दुबै अतिथि बागेश्वरी महाआरतीका । अझ भन्ने हो भने दुबै आरतीका कर्ता हुन् । महाआरतीका लागि कर्ता बन्न आएका पुर्व राजाका लागि सिंहासन बन्न सक्यो, तर आफ्नै प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद आउँदा एउटा कुशन समेत राख्न सकिएन किन होला जिज्ञासा रहन गयो !’
पूर्व राजा र बहालवाला मुख्यमन्त्री, मन्त्री र सांसदलाई बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले गरेको ब्यवहारलाई कतिपयले विभेदको रुपमा लिएका छन् । एमाले बाँके अध्यक्ष डिल्ली विसीले पनि श्रीराम सिग्देलको भनाई आफ्नो फेसबुक पेजमा साभार गरेका छन् । उनले पूर्व राज परिवार र बहालवाला मुख्यमन्त्री, मन्त्री र सांसदहरुलाई गरेको ब्यवहारलाई विभेदको रुपमा लिएका छन् । उनी लेख्छन्, ‘बागेश्वरी मन्दिरले मुख्यमन्त्रीलाई गरेको ब्यवहार सरासर विभेद हो । जनताको छोरा जनतासँगै । सामान्त आफ्नै शैलीमा ।’
कवड्डी संघ लुम्विनी प्रदेश अध्यक्ष जनक केसी (जनार्दन) ले पनि बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले गरेको कार्यको विरोध गरेका छन् । उनी फेसबुक वालमा लेख्छन्, ‘कुनै फण्डा बनाउने विषय नै छैन डिल्लीबहादुर चौधरी जनताका प्रतिनिधि, भूमीपुत्र, सच्चा संस्कारी हिन्दु हुन् । जजले मुल महन्थलाई आशन दिएर आफू भुँईमा बस्न जानेका छन् ।’
उनले गर्भमै राजा हुने निरंकुश तानाशाह र जनताबाट अपदस्त शासक भएको पूर्व राजाको संस्कार र स्वभाव उनी बस्ने शैलीले नै बताउने बताउँदै डिल्लीबहादुर चौधरीको यो शैलीबाट संस्कार र हिन्दुत्व सिक्नु पर्ने उल्लेख गरेका छन् ।
बागेश्वरी मन्दिर ब्यवस्थापन समितिले गरेको कार्यप्रति लोकेश शर्मा लेख्छन्, ‘भगवानको अगाडी मन्त्री हुन्न या राजा, धनी हुन् या गरिव हुन्, चाहे जो सुकै होस सबै वरावर हुन्, तर पदिय हिसाबले विभेद गरेको मलाई नी मन परेन ।’
ब्यवस्था बदलिए पनि व्यवहार नबदलिएको परिणाम भएको सर्वसाधारणले बताएका छन् । एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौला लेख्छन्, ‘हाम्रो चेतना र संस्कारबाट अँझै सामन्तवादको धङ्गधङ्गी हटेको छैन । त्यसैले त महाराजलाई सिंहासन आयो, मुख्यमन्त्रीले कुशन पनि पाएनन् ।’
तर, मुख्यमन्त्री चौधरीले यसलाई सामान्य रुपमा लिएको बताएका छन् । उनले आफू जनताको छोरो भएकोले अन्य सर्वसाधारण जस्तै भूइँमै बसेर महाआरतीमा सहभागी हुने इच्छा जाहेर गरेको बताए । भगवानको अगाडी सवै समान हौँ, धर्ममा जात र पद हुँदैन,’ उनले भने, ‘अन्य सर्वसाधारणसँगै बसेर महाआरतीमा सहभागी हुन पाउँदा दिल खुस र मन आनन्दित भयो ।’

Previous articleविकासका काममा एक ढिक्का भएर लाग्न कांग्रेस कार्यकर्तालाई मुख्यमन्त्रि चौधरीको निर्देशन
Next articleखजुरा बजार चार लेन सडक निर्माण : ठेक्का रद्द, नयाँ प्रक्रिया सुरु गर्ने तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here