‘काकाकुल’ नरैनापुर : पिउने पानी पाउन समेत मुस्किल (फोटो फिचर)

पानी नपाएर सुक्न थालेको रोपेको धान।

नरैनापुर (बाँके), २० साउन ।


पानी नपरेपछि नरैनापुर गाउँपालिकाका किसानले धान रोप्न पाएका छैनन् नै त्यहाँ पिउने पानीको समेत समस्या भएको छ । बोरिङको सहायतामा रोपेको धान समेत सुक्न थालेको छ । पानी नपर्दा यहाँका अधिकांश धानखेत बाँझै छन् । मकै सुक्न थालेका छन् । यहाँ धानका लागि गाडिएका बोरिङ संचालनमा आएपछि चापाकलहरु सुकेको नरैनापुर गाउँपालिका ४ दौलतपुरका रामनिवास बाहुनले बताए ।
उनले चापाकल सुकेका कारण पानी पिउन समेत नपाएको बताए । ‘चापाकलबाट पानी नै आउँदैन । लुगा धुन र नुहाउनका लागि त परैको कुरा धित मरुन्जेल पिउने पानी समेत आउँदैन,’ उनले भने ।


उनले सिँचाइका लागि जडान भएका डिप बोरिङले पनि पानी नदिएको बताए । लामो खडेरीले जताततैको चापाकल र बोरिङ सुकेका छन् । वडाका अधिकांश चापाकल सुकेको नरैनापुर गाउँपालिका वडा नंं. ४ का सचिव जयप्रकाश पाठकले बताए । ‘पानी नपाएर अधिकांश किसानले धान रोप्न पाएका छैनन् । बोरिङको सहायतामा रोपेको धान पनि पानी नपाएर सुक्न थालेका छन्,’ उनले भने, ‘चापाकल सुकेपछि वडामा पिउने पानीको हाहाकार भएको छ । यो वर्ष पिउने पानी समेत छिमेकीसँग सापट माग्नुपर्ने अवस्था छ ।’
पानी नपरेका कारण विगत एक महिनादेखि चापाकलमा पानी नआएको नरैनापुर गाउँपालिका ४ खोदवाका छविलाल यादवले बताए । उनले बोरिङ संचालनमा आएपछि चापाकल सुकेको बताए । ‘धान रोप्ने पानीको समस्या त छदैँ छ, पिउने पानीको समेत हाहाकार छ,’ उनले भने, ‘पिउने पानीको समस्या भएको ठाउँमा धान रोपाइँ हुने कुरै भएन । गतवर्ष जस्तै यसवर्ष पनि धान रोपाइँ हुने छाँट छैन ।’


पानी नपरेका कारण यस वर्ष ५० प्रतिशत धान रोपाइँ भएको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरका सहजराम चौहानले बताए । उनले लामो खडेरीले सिँचाइका लागि गाडिएका बोरिङ सुकेको बताए । चापाकल र बोरिङबाट अलिअलि पानी आउँछ । लामो खडेरीले जमिन पूरै सुकेको छ । सानो पानीले जमिन भिज्न समय लाग्छ,’ उनले भने, ‘एक जनाले धान रोप्ने अर्कोले नरोप्ने त्यो पनि मिल्दैन । यसवर्ष पनि धान रोपाइँ हुन्न जस्तो छ ।’
धान रोपाइँ नभएपछि वियाड पनि सुकेका छन् । कतिपय किसानले धाने रोप्ने माया मारिसकेको नरैनापुर गाउँपालिका ५ सर्वराजपुरका रामगोपाल तमौलीले बताए । उनले वियाड घामले सुकेकोले रोपाइँ गर्न सम्भव नभएको बताए । ‘वियाड सुकिसक्यो । धान रोप्ने समय घर्की सक्यो । अव धान रोप्नुको कुनै अर्थ छैन,’ उनले भने ।


नरैनापुरमा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको कृषि शाखा प्रमुख सदन भण्डारीले बताए । उनले सिँचाइ सुविधा नभएका कारण त्यहाँका किसानले धान रोपाइँ गर्न नसकेको बताए । नरैनापुर गाउँपालिका वडा नं. ५ को मटेहिया र वडा नं. ६ गंगापुरको राप्तीनदि आसपासका किसानले धान रोपाइँ गरे पनि अन्य वडामा धान रोपाइँ हुन नसकेको उनले बताए । ‘पानी नपाउँदा वियाड सुक्न थालेका छन् । रोपेको धान खेत पनि चिरा परेका छन्,’ उनले भने ।
उनले सिँचाइका लागि डिप बोरिङ गाडे पनि ति बोरिङ समेत सुकेको बताए । गत वर्षको खडेरीपछि सिँचाइका लागि डिप बोरिङ गाडेका थियौँ, तर ति बोरिङले पनि पानी दिएका छैनन्,’ भण्डारीले भने ।


उनले यसवर्ष पनि नरैनापुरमा धान उत्पादन घट्ने बताए । अहिलेसम्म ९० प्रतिशत धान रोपाइँ हुनुपर्ने हो, तर अहिलेसम्मा जम्मा ३० प्रतिशत भएको छ । यसले धान उत्पादन घट्ने निश्चित छ,’ उनले भने ।

Previous articleमानवसेवा आश्रमले आफ्नो ११ औँ वार्षिकोत्सव : जिउने कला सिकाउन ज्ञान हस्तान्तरण कार्यक्रम
Next articleत्रिभुवन चोक शोकमा : सडक दुर्घटनामा एकै परिवारका चारसहित ६ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here