विपदबाट बाँकेका एक लाख ५० हजार ब्यक्ति प्रभावित हुने पूर्वानुमान

Photo Source : Google

बाँके, १४ साउन ।


बाढी र अन्य विपद्बाट यस वर्ष बाँकेका २५ हजार घरधुरीका एक लाख ५० हजार ब्यक्ति प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । यस वर्ष बाढी लगायत आगलागी, भूकम्प, शितलहर जस्ता विपद्बाट २५ हजार घरधुरीका एक लाख ५० हजार ब्यक्ति प्रभावित हुने पूर्वानुमान गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।
उनले विपद्बाट पाँच हजार घरधुरीमा पूर्ण क्षति हुने र २० हजार घरधुरीमा आंशिक क्षति हुने पूर्वानुमान गरिएको बताए । ‘विपद्बाट सय जना घाइते र अस्थायी रुपमा पाँच हजार तथा स्थायी रुपमा पाँच हजार परिवार विस्थापित हुने अनुमान छ,’ उनले भने ।
पिउने पानीका स्रोतहरू प्रदुषित हुने बताउँदै उनले सरुवा रोगहरू फैलिन सक्ने र यातायात, विद्युत आपूर्ति, संचार सेवा अवरुद्ध हुनसक्ने उनले बताए । ‘यस वर्ष विपद्बाट ६ हजार मेट्रिक टन खाद्यन्न क्षति हुने र १० हजार मेट्रिक टन अन्नवाली (खडावाली) मा क्षति, पाँच हजार हेक्टर खेती योग्य जमिनमा क्षति तथा पाँच हेक्टर घाँसबाली क्षति हुनसक्ने पूर्वानुमान छ,’ केसीले भने ।
बाँकेका सवै पालिका बाढीको जोखिममा रहेको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । समितिले तयार पारेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८० मा नेपालगन्ज उपमहानगरपालिकाको १९ र २० वडाका पाँच सय १० घरधुरीका दुई हजार पाँच सय ७० जना प्रभावित हुने अनुमान गरिएको छ ।


त्यसैगरी, कोहलपुर नगरपालिकाको २, ५, ६, ८, ९, १२ र १३ वडालाई बाढीको उच्च जोखिम क्षेत्रको रुपमा राखिएको छ । यी वडाका दुई हजार ३४ घरधुरीका आठ हजार आठ सय ९२ जनसंख्या बाढीको जोखिममा रहेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । उनले नरैनापुर गाउँपालिकाका ६ वटै वडा बाढीको जोखिममा रहेको बताउँदै तीन सय ९१ घरधुरीका दुई हजार तीन सय ९४ जना प्रभावित हुने अनुमान गरिएको बताए ।
बाढीबाट धेरै क्षति हुने पालिकामा राप्तीसोनारी गाउँपालिकालाई पनि राखिएको छ । त्यहाँको ९ वटै वडा बाढीको उच्च जोखिममा रहेका छन् । जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाका अनुसार चालू आर्थिक वर्षमा उक्त पालिकाका तीन हजार दुई सय ७९ घरधुरीका १७ हजार ६ सय ९५ जनसंख्या प्रभावित हुने सम्भावना औँल्याइएको छ ।
डुडुवा गाउँपालिका बाढीको सवैभन्दा उच्च जोखिममा रहेको आँकलन गरिएको छ । उक्त पालिकाका ६ वटै वडाका तीन हजार ६ सय ८२ घरधुरीका १९ हजार आठ सय ५२ जना प्रभावित हुने पूर्वानुमान गरिएको केसीको भनाई छ ।


‘खजुरा गाउँपालिकाका एक हजार चार सय ९५ घरधुरीका चार हजार सात सय ८० जनसंख्या र जानकी गाउँपालिकाका तीन सय २६ परिवारका दुई हजार तीन सय १८ जना प्रभावित हुने पूर्वानुमान छ,’ सहायक प्रजिअ केसीले भने ।
कुन वर्ष कति क्षति ?
बाँकेमा अहिलेसम्म विक्रम सम्वत् ०७१ सालमा आएको बाढीले सवैभन्दा बढि क्षति पुर्याएको छ । उक्त वर्ष राप्ती, डुडुवा, मानखोला लगायत नदि र खोलामा आएको बाढीमा परि २० जनाले ज्यान गुमाउनु परेको थियो भने १२ वटा विद्यालयमा क्षति पुगेको थियो । उक्त वर्षको बाढीबाट १२ हजार तीन सय ४० घरका ६९ हजार नौँ सय ३४ जना प्रभावित भएका थिए ।
त्यसैगरी, २९ साउन, ०७४ मा बाँकेका विभिन्न नदि र खोलामा आएको बाढीबाट १६ हजार आठ सय ५९ घरपरिवारका ९४ हजार दुई सय ६२ जना प्रभावित भएका थिए । जिल्ला विपद् ब्यवस्थापन समितिका अनुसार, उक्त वर्षको बाढीमा परि आठ जनाले ज्यान गुमाएका थिए भने १२ वटा ११ हजार तीन सय ५० जना विद्यार्थी प्रभावित भएका थिए ।


जिल्लाको १९ स्थानमा हेलिप्याड निर्माण
समितिका अनुसार, आर्थिक वर्ष ०६४–६५ मा बाढीमा परि सात जनाको मृत्यू र ४३ जना घाइते भएका थिए । आव ०७८–७९ मा बाढीले बगाउँदा एक जनाको मृत्यू भएको थियो भने गत आवमा दुई जना घाइते भएका थिए ।
गत आर्थिक ०७९वर्ष बाँकेमा विपद्मा परि एक सय ९ जनाले ज्यान गुमाएका छन् ।
समितिले विपद्का बेला उद्दार र राहतका लागि योजना बनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीका अनुसार, नेपालगन्जको चारवाहिनी, राँझा विमानस्थल, कोहलपुर नगरपालिका ११ दश विगाहा, नरैनापुर गाउँपालिका १ कट्कुईयाँ, नरैनापुर गाउँपालिका ५ नयाँ वस्ती, मटैह्या, गंगापुर र सुइयामा हेलिप्याड निर्माण गरिएको छ ।
त्यसैगरी, राप्तिसोनारी गाउँपालिका २ अगैंया, राप्तीसोनारी गाउँपालिका १ सिक्टा, वडा नं. ३ बैजापुर, टिकुलीपुर, फत्तेपुर र जानकी गाउँपालिका १ साईगाँउ तथा खजुरा गाउँपालिका सितापुर, बैजनाथ गाउँपालिका ५ बनकटुवा, डुडुवा गाउँपालिका १ होलिया, मदनापुर र कम्दीमा हेलिप्याड निर्माण गरिएको छ ।
खुल्ला र आश्रय स्थलको परिचान समेत गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिका फोकल पर्सन रुपन ज्ञवालीले बताए । उनले तत्काल राख्न सक्ने स्थलको पहिचान गरिएको बताए । ‘कुन पालिकाका बाढी पीडितलाई तत्काल राख्न सकिने ठाउँको पहिचान गरि राख्ने ब्यवस्था मिलाइएको छ,’ उनले भने ।

Previous articleसरकारको मिलेमतोमा सुन तस्करी : एमाले अध्यक्ष ओली
Next articleदुर्घटना न्यूनिकरण गर्न अम्विकेश्वरीको अभियान : पहिलो चरणमा आठ सवारी चालक नगदसहित सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here