सरकारको मिलेमतोमा सुन तस्करी : एमाले अध्यक्ष ओली

बाँके, १३ साउन ।


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिलिजुली खानका लागि अहिलेको गठ्बन्धन सरकार बनेको आरोप लगाएका छन् । एमालेले नेपालगन्जमा आयोजना गरेको लुम्विनी प्रदेशस्तरिय दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकारबाट भ्रष्टाचार निवारणको कल्पना गर्न नसकिने जिकिर समेत गरे ।
उनले अहिलेको गठ्बन्धन सरकारलाई गन्तब्य विनाको यात्रीको संज्ञा दिए । ‘अहिलेको सरकारको न कुनै गन्तब्य छ न त के काम गर्ने नीति र उद्देश्य छ,’ उनले भने, ‘यो सरकार मिलिजुली, बाँडिचुडी खानको लागि बनेको हो । यो सरकारबाट कुनै आशा गर्नुको कुनै अर्थ छैन ।’
सरकार संलग्नामा र संरक्षणमा सुन तस्करी भइरहेको बताउँदै उनले अन्तर्राष्ट्रिय एयरपोर्टबाट एक क्विन्टल सुन छिराउने चानचुने कुरा नभएको बताए । ‘बाहिरी देशबाट आएकालाई एयरपोर्टको अत्याधुनिक मेसिन र तालिम प्राप्त मान्छेले जाँच गरेपछि मात्र बाहिर आउन पाइन्छ । सर्वसाधारणले एउटा सियो छिराउन नसक्ने ठाउँबाट एकैसाथ एक क्विन्टल सुन छिर्नु सामान्य कुरा होइन । सरकारको संलग्नता र संरक्षण बिना यो सम्भव हुने कुरै भएन,’ अध्यक्ष ओलीले भने, ‘सय केजी सुन भित्रिएको बारे जाँचबुझ गर्न उच्चस्तरिय जाँचबुझ समिति गठन गरेर बास्तविक कुरा बाहिर ल्याउनु पर्छ । नत्र एमालेले सदन र सडक तताउने छ ।’
उनले एक क्विन्टल सुन भित्र्याउन सघाउने गृहमन्त्रीले तत्काल राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने धारणा राखे । उनले सुन भित्रिनुमा गृह मन्त्री मुख्य दोषी भएको औँल्याए । नैतिकता भएको भए सुन बरामद भएकै दिन गृहमन्त्रीले राजीनामा दिनु पथ्र्यो । तर उहाँ (गृहमन्त्री) ले लाजसरम नमानेर घटना ढाकछोप गर्दै उल्टै विपक्षीलाई गाली गर्ने र बदनाम गर्दै हिडिरहनु भएको छ । लाजसरम छ भने गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने ।
उनले सुन तस्करीको बारेमा प्रश्न उठाउनेलाई झुठा आरोप लगाएर फसाउन खोजेको बताउँदै उनले सरकार वाक स्वतन्त्रताको विरुद्धमा लागेको जिकिर गरे ।
काँग्रेस बुढो भइसकेको बताउँदै उनले उससँग भिजन, मिसन केहि नभएको बताए । एकादेशमा बाघ बुढो भएपछि बाच्नका लागि स्यालसँग मित साइनो लगाएको थियो । अहिले काँग्रेस आफ्नो अस्तित्व जोगाउन माओवादी, एकीकृत समाजवादी, जसपा लगायत दलसँग साइनो गाँसेर अगाडी बढेको छ,’ उनले भने, ‘अव काँग्रेससँग देश विकास हुन्छ भन्ने आशा गर्नु बेकार छ ।’
माओवादी केन्द्रको अस्तित्व समाप्त भइसकेको अध्यक्ष ओलीले ठोकुवा गरे । उनले एमालेले माओवादीलाई सरकारमा पुर्याएको बताउँदै बाटो विराएको माओवादीलाई बाटो विराएको बटुवाको संज्ञा दिए । ‘माओवादी लोकतन्त्रको बाटो समात्न नसकेको, असफल, गैरजिम्मेवार र भ्रष्टाचारमा लिप्त पार्टी हो । यो पार्टीको न स्पष्ट सिद्धान्त छ न त नीति नै छ,’ उनले भने ।
उनले एमाले विरुद्ध देशका सवै पार्टी एकजुट भए पनि केहि विगार्न नसकेको ठोकुवा गरे । एमालेलाई हराउन निर्वाचनमा महागठबन्धन गरे । एमालेलाई एकल्याउन सवै दल मिलेर सरकार बनाए,’ उनले भने, ‘एमालेलाई कमजोर बनाउन नसकेपछि बहुमत ल्याउन दिएनौँ भनेर खुसी मनाउनेहरु पनि देखिए ।’
पहिलो दिन उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताले प्रशिक्षण दिइरहेका छन् । दोस्रो दिन भोली महासचिव शंकर पोखरेल लगायतका नेताले प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले बाँके अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । प्रशिक्षणमा लुम्विनी प्रदेशका १२ जिल्लाका नेता, कार्यकर्ताको सहभागिता रहेको छ ।

Previous articleनेपालगन्ज रंगशाला पौडीपोखरीको शुल्क घट्यो : एक सिफ्टको दुई सय रुपैयाँ निधारण
Next articleविपदबाट बाँकेका एक लाख ५० हजार ब्यक्ति प्रभावित हुने पूर्वानुमान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here