बाँके, ४ साउन ।
जिल्ला ट्राफि प्रहरी कार्यालय बाँकेले साढे दुई करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०७९–०८० मा ४३ हजार आठ सय ३८ सवारी साधनलाई कारवाही गरि दुई करोड ६१ लाख ९७ हजार रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।
ट्राफिक प्रहरीले नियम उलंघन गर्ने सवारी साधनलाई आर्थिक जरिवाना गर्नुका साथै सचेतनामुलक अभियान संचालन गरेको उनले बताए । गत आर्थिक वर्षमा मात्र कार्यालयबाट सात सय ७३ वटा सचेतना कक्षा संचालन गरी ३४ हजार बढि सवारी चालक, यात्रु र विद्यार्थीलाई सचेतीकरण गरिएको उनले बताए ।
आर्थि वर्ष ०७९÷८० मा एक सय २४ वटा सवारी दुर्घटना भएको जानकारी दिँदै उनले सवारी दुर्घटनामा परि ६० जनाको मृत्यु भएको बताए । दुर्घटनामा एक सय २९ जना घाइते भए । सडक दुर्घटनामा परि १० वटा पशुचौपायाले ज्यान गुमाएको र दुई वटा घाइते भएको उनले जानकारी दिए ।
गत आर्थिक वर्ष मापसे गरेर सवारी साधन चलाउने दुई हजार आठ सय ५५ वटा सवारी साधनलाई कारवाही गरेको बताउँदै प्रहरी निरीक्षक सुनारले त्यसबाट २८ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गरिएको बताए ।