नाम : बुन्दीलाल थारु
ठेगाना : बैजनाथ गाउँपालिका ३, गाभर, बाँके
उमेर : ६७ वर्ष
पेशा : कृषि
लिंग : पुरुष
बसाईसराई गरेको स्थान : देवीपुर, दाङ
बसाईसराई मिति : २०२५ साल
मेरो जन्म दाङको साविक धनौरी गाउँ पञ्चायत, देवीपुरमा भएको हो । म दाङमा छँदै ०२१ सालमा भूमिसुधार लागू भयो । भूमिसुधार लागू भएपछि दाङका पहाडिया जमिन्दारले साह्रै दुख दिन थाले । उनीहरुले दिएको दुख सहन नसक्ने थियो । एक दिन आफ्नो काम, दुई दिन जमिन्दारको काम गर्न पर्थ्यो । दिनभरी जमिन्दारको काम (बेगारी) गरे पनि खाना आफ्नो खानु पर्थ्यो ।
दाङमा २–३ विघा जमिनमा जमिन्दारका लागि धान, मकै (जिराइट) रोप्नु पर्थ्यो । उक्त जमिनमा धान, मकै रोप्ने, काट्ने दाउने, ओसाउने र घर भित्र ढल्याउनेसम्मको काम गर्न पर्थ्यो । तर यस बापत कुनै ज्याला पाइदैनथ्यो । जमिन्दारको काममा ब्यस्त हुने र आफ्नो काम गर्न नपाइने भएकोेले हाम्रो आर्थिक अवस्था दयनिय थियो । खान लाउन पुग्दैनथ्यो ।
एकातिर जमिन्दारको काम गर्नुपर्ने र अर्कोतर्फ बबई नदिबाट हामी पीडित थियौँ । विक्रम सम्बत २०२४ साल भदौँमा बबई नदिमा ठूलो बाढी आयो । रोपेको धान खेत बगरमा परिणत भयो । धानखेत बालुवाले पुरिएपछि हाम्रो परिवार निराश भएर बाँके बसाइसराई गर्ने निर्णयमा पुग्यो । र, हामी गाई, बाच्छा, भेँडा लिएर ०२५ सालमा बाँकेको यात्रा तय गर्यौँ ।
हामी कुकुरगौँडाको बाटोभन्दा अलि पश्चिममा पर्ने चितलगढीको बाटो हुँदै दाङको मलई पुग्यौँ । त्यहाँ पुग्दा झिसमिसे रात भइसकेको थियो । त्यहिँ रात बस्यौँ । लालाबालासँगै हिड्ने भएकोले हामीलाई बाटो काट्न सजिलो थिएन । मलईबाट गाभर पुग्न एक दिन लाग्यो । दोस्रो रात बाँकेको गाभरमा बस्यौँ । तेस्रो रात कचनापुरको खोरियामा बसेर चौथो दिनमा हामी सुतैह्या गाभरमा पुग्यौँ । यहाँ आउँदा रात परिसकेको थियो । हामी अर्कैको ठाँटी घरमा आश्रय लियौँ ।
पछि दाङबाट पहिले नै यहाँ आएका पछल्डङ्ग्या थरका परिवारको घरमा म कमैया बसेँ । उक्त घरमा २ वर्ष कमैया बसिसकेपछि फेरि गाभरका राणा थरका महाराजाको घरमा १३ वर्ष कमैयाँ बसेँ । दाङका जमिन्दारभन्दा यहाँका जमिन्दार अलि सजिला थिए । काम अनुसारको पारिश्रमिक दिन्थे । पैँसा आवश्यक परे सरसापट पनि चलाउँथे ।
………………
हामी यहाँ आउँदा यो ठाउँमा घना जंगल थियो । यहाँ ४–५ घर मात्र थिए । यहाँ पिपल, खयरको रुख थियो । मयूर, बनचल्ला, हरिण, चित्तल, बँदेल प्रशस्त थिए । एकैछिन जंगल गएर मयूर, बन चल्ला, हरिण मारेर ल्याउँथे । हात्ति र बाघले पनि दुख दिन्थे । घाँस, दाउराको चिन्ता थिएन । विहानै कोइली, मयूर र अन्य चराको आवाजले मन चंगा हुन्थ्यो । घरबाटै मयूर नाँचेको हेर्न पाइन्थ्यो । तर, हामीलाई एक छाक जुटाउन र मालिकको दलदलबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने चिन्ता थियो ।
जंगली जनावरको शिकार हामीले पनि गर्न सक्थ्यौँ । राजा, महाराजा र जमिन्दारभन्दा हामी शिकार गर्न माहिर थियौँ, तर हामीलाई जंगली जनावरको शिकार गर्न छुट थिएन । जमिन्दारको काम गर्ने र उनीहरुलाई खुसी बनाउने शिवाय अरु केहि सोँच थिएन । राजा, महाराजाले जंगलबाट शिकार गरेर ल्याउँथे । हामीले काट्थ्यौँ, तर हामीले खान पाउँदैनथ्यौँ । काट्ने बेला हेर्ने र छुने बाहेक अरु हामीलाई छुट थिएन ।
………….
हामी दाङमा छँदा प्रगन्नाको महत्व धेरै थियो । हामी पछ्ला प्रगन्नामा बस्थ्यौँ । रोग ब्याधिको महामारी फैलिए तिनै प्रगन्नाले गाउँको भूँइह्यार थानका देवताको पूजा गर्थे । पूजा गरेपछि महामारी रोग फैलिन पाउन्नथ्यो । विरामी पनि निको हुन्थे । हैजा रोकिन्थ्यो पनि ।
हैजा लागेका ब्यक्तिलाई पानी खान दिइदैनथ्यो । पानी खाएपछि झनै पखाला लाग्छ र उल्टी हुन्छ भन्ने मान्यता थियो । हैजा लागेका ब्यक्तिलाई पानी खान नदिएपछि उनीहरु मर्थे । एक पटकमा एउटा गाउँका ६–७ जना मर्थे । अर्को गाउँमा पनि त्यस्तै हुन्थ्यो । यसलाई टिप्वा रोग भन्थ्यौँ हामीले ।
डेसबन्ढ्या गुर्वाले वर्षमा दुई पटक गाउँको भूँइह्यार थानको पूजा गर्थे । एक पटक जेठमा ढुर्या गुरै र अर्को भदौमा हार्या गुरै । गाउँबासीलाई कुनै रोग नलागोस्, गाउँमा सुख, शान्ति, अमन चयन कायम होवस्, महामारी हैजा जस्ता रोग नआवस भन्ने कामना गर्दै जेठमा ढुर्या गुरै गरिन्थ्यो । र, बाली नाली सप्रियोस, बाली नालीमा किरा फट्यांग्रा नलागुन, रोग लागेर बालीनालीमा क्षति नपुगोस भनेर हार्या गुरै अर्थात खेती सकेर पुजा गरिन्थ्यो ।
प्रगन्ना चलाए बापत वर्षमा एकदिन डेसबन्ढ्या गुर्वाको काम गर्न पर्थ्यो । वर्षमा १६ पुला घर छाउने खर गुर्वालाई दिन पर्थ्यो । ठूलो परिवार भएकाले धेरै पनि दिन्थे । खर गुर्वाको घरमा पुर्याउन जान्थ्यौँ । सँगै गएका पहिलो ब्यक्तिको खरको पुला गणना हुन्थ्यो । उसको खरको पुला १६ पुगेपछि अरुको गन्न पर्दैनथ्यो ।
………….
हामी जमिन्दारको भारी बोकेर सल्यानसम्म पैदल हिडेर जान्थ्यौँ । कहिले काहिँ गन्तब्यमा पुग्न नसकेर थला पर्थ्यो । वर्षमा ३–४ पटक म पनि जमिन्दारको भारी बोकेर सल्यान गएँ । धेरै पटक त मैले जमिन्दारका छोराछोरीलाई बोकेर सल्यान पुर्याएँ । दाङबाट हिडेपछि एक रात बाटोमा बस्न पर्थ्यो । त्यहाँ ठूलो चवर थियो । त्यहि चवरमा सवैजना रात बस्थ्यौँ ।
हिड्ने बेला धेरै थारु भरियासँग भेट हुन्थ्यो । तितामिठा गफगाफ हुन्थ्यो । फर्किने बेला भारी नहुने भएकोले एक दिनमै घर पुगिहाल्थ्यौँ ।
भारी बोकेर सल्यान गए पनि त्यसबापत ज्याला पाउँदैनथ्यौँ । कहिले काहिँ चुकी खानु भनेर एक रुपैँया दिन्थे । केहि नपाउनेले एक रुपैँया पाउँदा पनि खुसी लाग्थ्यो ।
…………
दाङमा पहिले हामीहरुले पोत तिरेर जमिन जोत्थ्यौँ । पोत तिर्दा पैँसा नजोगिने भएकोले हामी थारुले जमिन जोड्न सकेनौँ । पोत तिर्न नसक्ने भएपछि पाँचकुर (एकभाग जमिन्दार र चार भाग जोत्ने किसान) मा जमिन जोत्न थाल्यौँ । त्यतिबेला अन्नपात राम्रो पाइन्थ्यो । पछि चारकुर (एक भाग जमिन्दार तीन भाग किसान) मा जमिन जोत्न थाल्यौँ ।
घरको मुली ब्यक्ति मरेपछि जमिन्दारले चारकुरबाट तीनकुरमा झार्थे । तेरो बाउले तीनकुरमा जमिन जोत्थ्यो भनेर जवरजस्ती चारकुरबाट तीनकुरमा झार्थे । हामी बाँके बसाई सराई गरेर आउँदा अधिया भइसकेको थियो । अधिया खेतीले जोताहा किसानलाई झनै समस्यामा पार्यो । त्यसपछि किसानको जिवनस्तर माथि उठ्न नसक्ने भयो ।
…………..
विक्रम् सम्वत् २०२१ सालदेखि २०२६–२७ सम्म दाङबाट बुह्रान (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा छारा (बसाई सराई) गर्ने क्रम अत्यधिक थियो । थारुहरु गाउँ नै खाली गरेर छारा गर्थे । हामी आउने बेला पनि छारा गरेर आउनेको लर्को थियो । बाटोमा कोहि खाना पकाउँदै थिए, कोहि खाँदै थिए । जमिन्दारबाट मुक्ति पाएको खुसीयालीमा कोहि नाँचगान गरेर रमाइलो गरिरहेको देखिन्थ्यो । सवैलाई हिडेको देख्दा थकाई पनि लाग्दैनथ्यो ।
आफ्नो जन्मथलो छाड्न पर्दा दुखी थियौँ, तर जमिन्दारले दिएको दुख सम्झेर खुसी लाग्थ्यो । सुखी र खुसी जिवन जिउने आशैआशामा हामी बाँकेको सुतैह्या गाभर आयौँ । मुक्ति खोज्दै हामी जन्मथलो छाड्न बाध्य भयौँ । उज्ज्वल भविष्यको लागि छारा गर्न बाध्य थियौँ ।
……………
दाङमा छँदा पनि हाम्रो गाउँमा मटावा थिए । तर उनी नाममात्रको थिए । उनी जमिन्दारको अधिनमा चल्थे । जमिन्दारले जे भन्यो त्यहि मान्थे । मटावाले ख्याल (बैठक) बोलाउने र जनश्रमदानका लागि झराली बोलाउने काममा सिमित थिए । निर्णय सवै जमिन्दारले गर्थे । गाउँको भूँइह्यार थानको पूजा, भोज विवाहमा जनसहभागिता, गाउँको विकासमा जनश्रमदान जुटाउने काम मटावाले गर्थे ।
यहाँ आउँदा सुतैह्या गाभरमा पनि मटावा थिए । दाङमा मटावा भने पनि यहाँ बरघर भन्दारहेछन् । यहाँका बरघर पनि दाङका मटावा जस्तै राणा परिवारको अधिनमा थिए । उनको पनि दाङका मटावाको जस्तै जनसहभागिता जुटाउने बाहेक अरु भिन्दै काम मैले देखेन ।
तर, अहिले बरघरको संरचना फेरिएको छ । अहिलेका बरघर निरंकुश छैनन् । सवैको कुरा सुन्छन् । सवैले भनेको मान्छन् । निर्णय गर्दा पनि सवैको सहमतिमा गर्छन् । अहिले जमिन्दार नभएर पनि होला बरघरले गर्ने निर्णय पारदर्शी छ । अल्पमतको कदर गर्दै बहुमतको आधारमा निर्णय गर्छन् । अहिलेका बरघर पढेलेखेका भएर होला सवैलाई मिलाएर, कसैलाई काखापाखा नगरेर समान रुपमा समेट्छन् ।
यो थारु समुदायको पहिचानसँग जोडिएको छ । थारु समुदायलाई सक्षम बनाउने, गाउँको विकास गर्ने, न्याय सम्पादन गर्ने, गाउँमा हुने सामूहिक पूजापाठ गर्ने, गराउने, गाउँमा शान्ति, सुशासन कायम गराउन भूमिका खेल्ने भएकोले यसलाई जोगाउन जरुरी देख्छु मैले । बरघर बिना गाउँ नचल्ने भएकोले कानून बनाएर यसलाई अझ बलियो बनाउन जरुरी छ ।