‘थारु गाउँ’ चिनाउने भित्ते चित्र (फोटो फिचर)

बाँके, ३० असार ।


बैजनाथ गाउँपालिका १ च्यामाका थारुले घरको भित्तामा जंगली जनावरको चित्र कोरेका छन् । बाहिरबाट आएका आगन्तुकलाई थारुको घर चिनाउन स्थानीयले घरको भित्तामा जंगली जनावरको चित्र कोरेका हुन् ।
बाँके राष्ट्रिय निकुञ्ज छेउमा रहेको यो गाउँका अधिकांशले आफ्नो घरको भित्तामा जंगली जनावरको चित्र बनाएको गाउँका मटावा रामविलास चौधरीले बताए । उनले च्यामा गाउँलाई ‘थारु भिलेज’ को रुपमा विकास गर्न गाउँका अधिकांशले घरको भित्तामा जंगली जनावरको चित्र बनाएको बताए । ‘थारु गाउँको पहिचान हराउन थालेपछि यसको संरक्षण गर्न घरका भित्तामा जंगली जनावर र पंछीको चित्र बनाउने अभियान थाल्यौँ,’ उनले भने ।


घरको भित्तामा हिंस्रक जंगली जनावर र पंछी (बाघ, हात्ती, गैँडा, घोडा, मयुर) को चित्र बनाउँदा परिवारका सदस्य सुरक्षित हुने विश्वास गरिन्छ । ‘परापूर्व कालमा जंगली जनावर र पंछीको विगविगी थियो । हिंस्रक जंगली जनावर घरमै आएर आक्रमण गर्थे । त्यसबाट जोगिन थारु जातिले घरको भित्तामा जंगली जनावरको चित्र कोर्न थाले भन्ने विश्वास छ,’ उनले भने ।
थारु जातिले प्रकृतिको पूजा गर्छन् । देवतालाई चामलको सेतो टीका लगाउने यो जातिले हिंस्रक जनावरको पूजा गर्दछ । पछल्डङ्ग्या थरकाले बाघलाई ‘जगन्नाथी’ नाम दिएर मुल देवताको रुपमा पूजा गर्दछन् । त्यसैगरि, दहित थरका थारुले भेँडालाई मुल देवताको रुपमा मान्दछन् । ‘आफ्नो रक्षाका लागि थारु जातिले हिंस्रक जनावरलाई मुख्य देवताको रुपमा पूजा गरेको हुनुपर्छ,’ थारु संस्कृतिका जानकार समेत रहेका सोनारीका चौधरिया विष्णुप्रसाद चौधरीले भने ।


उनले बाघको आक्रमणबाट जोगिन सोनारी क्षेत्र (साविकको कचनापुर, बैजापुर र बिनौना गाविस) का नागरिकले भूइँह्यार थान र भुवरभवानीको पूजा गर्दै आएको बताउँछन् । उनी भन्छन्, ‘पहिले सोलार क्षेत्रमा जंगली जनावर हात्ती, बाघले आतंक मच्चाउँथे । बाघले मान्छेलाई दिनदहाडै बोकेर जंगल लैजान्थ्यो । बाघको आक्रमणबाट जोगिन यहाँका नागरिकले भुवरभवानीमा पूजा गर्न थाले । गाउँमा भूइँह्यार थान बनाएर त्यसको पूजा गर्न चौधरियाको ब्यवस्था गरे ।’


बाघले साह्रै दुख दिन थालेपछि पूजाका लागि दाङबाट राजी ल्याएको उनले सुनाए । उनीहरुलाई बाघबाट जोगाउन गाउँको एक घरमा सुत्ने ब्यवस्था मिलाइएको बताउँदै उनले तर गाउँलेको अनुनय विनय ति राजी परिवारले नसुनेको उनले बताए । ‘दाङबाट आएको राजी परिवार जंगलको वीचमा रहेको रुख मुनी सुते । उनीहरु सुतेको ठाउँलाई बाघले घेरा हालेको देखेपछि उनीहरुलाई बाघले खाएको गाउँलेले निश्कर्ष निकाले, तर उनीहरु बिहान उठेर गाउँमा आए । बाघले चारैतिर घेरेका राजीहरु सकुशल गाउँमा आएपछि गाउँलेहरु तिनछक्क परे । त्यसपछि गाउँलेले उनीहरुलाई देवीदेवताको किल्ला गाडेर पूजा गर्न लगाए । उनीहरुले पूजा गरेपछि बाघ लाग्न छाडे, हैजा जस्ता रोगब्याधि हट्न थाल्यो,’ चौधरियाले भने ।


बाघ, भालु जस्ता हिंस्रक जनावरको पूजा गर्दा आक्रमणबाट जोगिने विश्वास भए जस्तै घरको भित्तामा चित्र बनाए घरमा आक्रमण नहुने विश्वास रहेको राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारुले बताए । उनले भूइँह्यार थानका देवता रिसाए गाउँमा दिनदहाडै बाघ आउने र मान्छेलाई आक्रमण गर्ने गरेको बताए । ‘बाघ जस्ता जंगली जनावरको आक्रमणबाट जोगिन पूजा गर्छौँ नै भित्तामा चित्र कोेरेर बच्ने उपाय निकाल्छौँ,’ उनले भने ।
पर्यटक प्रवद्र्धनका साथै थारु पहिचान झल्काउन घरको भित्तामा जनावरको चित्र बनाएको गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले बताए । उनले गाउँमा पस्ने वित्तिकै थारु गाउँको महशुस गराउन चित्र कोरिएको बताए । ‘घरको भित्तामा जंगली जनावरको चित्र कोर्ने थारु संस्कृति हो । यसलाई पर्यटनसँगै आर्थिक उपार्जन गर्ने योजना छ,’ उनले भने ।

Previous articleनेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक
Next articleनेपालगन्ज कोरा साइक्लिङमा सात वर्षिय अभिनव चौधरीको सहभागिता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here