राप्ती नदि आसपासका किसानलाई सधैँ बाढीको चिन्ता : धान रोप्ने, नरोप्ने दोधारमा

राप्ती नदीले बगर बनाएको होलियास्थित दुई हजार विघा जमिन ।

बाँके, २९ असार ।


राप्ती नदिले बगर बनाएको जमिनमा धानखेती गर्ने कि नगर्ने दोधारमा छन् डुडुवा गाउँपालिका १ पिप्रह्वाका सोहनलाल यादव । जे होला सहौँला भन्ने मनसायले उनले बाढीले बगर बनाएको जमिनमा धानखेती गर्ने योजना बनाएका छन् । ‘भाग्यमा भए वाली खान पाइएला, नभए मेहनत खेर जाला भनेर रोप्ने मनसाय बनाएको छु, तर रोप्ने, नरोप्ने अझैँ निश्चित भएको छैन,’ उनले भने, ‘धानवाली खान पाइने– नपाइने भगवानको हातमा छ ।’
उनी हरेक वर्र्ष धान रोप्ने की नरोप्ने दोधारमा हुन्छन् । २५ वर्ष अघि राप्ती नदिले कटान गरि बगर बनाएको उनको एक विघा जमिन अहिले खेतियोग्य भएको छ, तर रोपेको धान वर्खामा आएको बाढीले बगाउने चिन्ताले उनी हरेक वर्ष धान रोप्ने कि नरोप्ने दोधारमा पर्छन् ।
गत वर्ष पनि उनले धान रोपेका थिए । बाली राम्रै थियो । धान भित्र्याउन पाइने आशामा थिए सोहनलाल, तर दसैँका बेला राप्ती नदिनमा ठूलो बाढी आयो । मुखमै आएको धान बाढीले बगायो । ‘काट्न तयार भएको धान बाढीले बगायो । खोजखन गर्यौँ । हिलो पखालेर भित्र्यायौँ । झण्डै ४०–४६ हजार घाटा लाग्यो,’ उनले भने ।
सोहनलाल जस्तै डुडुवा गाउँपालिका १ खडैचाका कुवाँरे खटिक पनि धान रोप्ने, नरोप्ने दोधारमा छन् । उनी भन्छन्, ‘रोपौँ राप्तीमा आएको बाढीले बगाएर लैजान्छ । नरोपौँ बाढी नआएर धान बाली जोगिन्छ की भन्ने लाग्छ । हरेक वर्ष धान रोपौँ की नरोपौँ भन्ने दोधार हुन्छ ।’
२५ वर्षअघि डुडुवा गाउँपालिका १ छोट्की चौफेरीका छाङ्गुर राँढको जमिन राप्ती नदीले कटान गर्यो । त्यसको करिव १५ बर्षपछि उनको जमिन भएर बग्ने नदी विस्तारै पूर्वतर्फ लाग्यो । त्यसपछि उनको जमिन विस्तारै खेतियोग्य बन्दै गयो । अहिले उक्त जमिनमा धान रोप्न मिल्ने भएको छ, तर उनले उक्त जमिनमा धान रोप्ने पक्षमा छैनन् । ‘हरेक वर्ष धान रोप्छौँ । तर, बाढीले बगाएर लैजान्छ । यो वर्ष पनि रोपौँ की नरोपौँ भइराख्या छ,’ उनले भने ।
रोपेको धान उचित तरिकाले नापजाँच नभएकोले उनले दावी गरेको जमिन अर्कैले कब्जा गरेको छ । ‘एक–दुई बर्ष मैले धान रोपेँ, तर तेस्रो बर्षदेखि अर्कैले कब्जा गरेर धान रोपिरहेको छ,’ उनले भने ।
साविक होलिया, बेतहनी, वनकट्टी र कम्दी गाविसका झण्डै २० हजार विघा जमिन राप्ती नदीले कटान गरि बगर बनाएको छ । यो मध्ये झण्डै एक हजार विघा जमिनमा गहुँ, मसुरो, तोरी र तिल लगाउन थालिएको छ । कतै–कतै धान रोप्न पनि सकिन्छ । नदि किनारको करिव २०–२५ विघा जमिनमा बगर खेति पनि गरिन्छ ।

‘हिउँदेबाली खान पाए पनि वर्खेबाली खान पाइने निश्चित हुन्न । तै पनि आशैआशामा सर्वसाधारणले धान खेती गर्छौँ,’ डुडुवा गाउँपालिका १ टेपरीका रामकुमार बाहुनले भने ।
डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले राप्ती नदिले खेतियोग्य जमिन कटान गर्दा किसान मारमा परेको बताए । उनले कसै–कसैको एक कट्ठा जमिन पनि नबचेको बताए । ‘डुडुवा गाउँपालिकाका किसानले पहिले धान विक्रि गर्थे । खेत नदिले बगाएपछि किनेर खान बाध्य भएका छन्,’ उनले भने ।

जमिन एकिन गर्न नसक्दा उपभोगमा समस्या
नदिले जमिन कटान गरि बगर बनाएको जमिन सर्वसाधारणले उपभोग गर्न चाहेर पनि सकेका छैनन् । आफ्नो जमिन कहाँ पर्छ भन्ने एकिन हुन नसक्दा सर्वसाधारणलाई उपभोग गर्न समस्या भएको डुडुवा गाउँपालिका १ खडैचाका राजकुमार शुक्लले बताए । उनले अन्दाजको भरमा जमिन आफ्नो भएको दावी गर्दै प्रयोग गरे पनि विवाद हुने गरेको बताए ।
डुडुवा गाउँपालिका १, छोट्की चौफेरीका छाङ्गुर राँढको जमिन पनि बगरमा छ । तर उनले आफ्नो जमिन उपभोग गर्न पाएका छैनन् । उनले नापी नभएका कारण आफ्नो जमिन कहाँ पर्छ भन्ने एकिन गर्न नसकेको बताए। अन्दाजको भरमा जमित जोत्न खोज्दा छिमेकीसँग विवाद भएको उनले बताए । ‘दुवै जनाले मेरो हो भनेर दावी गरेपछि विवाद भयो । मभन्दा मेरो छिमेकी बलियो भएकोले उनले जवरजस्ती धान रोपे । मेरो कुनै सीप चलेन,’ उनले भने ।
पैँसा हुनेहरुले सरकारी दस्तुर बुझाएर अमिन ल्याउने र एक पक्षिय रुपमा जमिन छुट्याउने गरेको रामकुमार बाहुनले बताए । ‘गरिवले ५–६ हजार रुपैँया शुल्क तिरेर जमिन छुट्याउन सक्ने कुरै भएन । हुनेखानेहरुले पैँसा लगाएर आफू जमिन छुट्याएर खेती गर्छन्,’ उनले भने, ‘नहुनेहरु टुलुटुलु हेर्ने बाहेक अरु उपाय छैन ।’
डुडुवा गाउँपालिका १ सन्तलियाका राजकुमार शुक्लको झण्डै पाँच विघा जमिन नदीले बगर बनाएको छ । उनको जमिन पनि खेतीयोग्य भएको छ, तर नापजाँच नभएकोले उनले पनि उपभोग गर्न पाएका छैनन् । गाउँपालिकाले नक्सा अनुसार जमिन नापजाँच गरे पनि ब्यक्तिलाई जिम्मा नलगाएकोले उपभोग गर्न नपाएको उनले बताए । उनले विवाद हुने डरले जमिन उपभोग तर्फ ध्यान नदिएको स्पष्ट पारे । ‘गाउँपालिकाले छिट्टै छिनोफानो गरेर जिम्मा लगाएको भए उपभोग गर्न सहज हुने थियो,’ उनले भने ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले राप्ती नदीले बगर बनाएको जमिन नक्सा अनुसार नापजाँच भइसकेको बताए । उनले नापजाँच गरि कित्ता छुट्याउन पिलर गाडिएको बताउँदै छिट्टै हस्तान्तरण गरिने बताए । ‘पहिलेको नक्साको आधारमा गाउँपालिकाका अमिनले पुनः नापजाँच गरि साँध, सिमाना बनाउने काम सम्पन्न भइसकेका छ । अब कुन जमिन कसको हो भनि जिम्मा लगाउने अन्तिम तयारी भइरहेको छ,’ उनले भने, ‘आफ्नो जमिन सम्बन्धित ब्यक्तिले सहज रुपमा छिटो प्रयोग गर्न पाउन भन्ने उद्देश्यले पालिकाले काम गरिरहेको छ । सर्वसाधारणले जमिन उपभोग गर्न छिट्टै पाउने छन् ।’

Previous articleबाँकेमा एक हजार ९१ जनाले लिए बंशजको नेपाली नागरिकता
Next articleनेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलाई पितृ शोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here