सुविधा सम्पन्न कोहलपुर बसपार्क साउनदेखि संचालनमा आउने

बाँके, २५ असार ।


कोहलपुरमा नवनिर्मित अत्याधुनिक बसपार्क १ साउनबाट संचालनमा आउने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले एक कार्यक्रमका बीच उद्घाटन गरेपछि लामो दुरीमा संचालन हुने बस उक्त बसपार्कबाट संचालनमा आउने भएका हुन् ।
सपिङ कम्प्लेक्ससहितको अत्याधुनिक बसपार्क साढे ३० करोड लागतमा निर्माण भएको हो । नगर विकास कोषसँगको ऋण सम्झौतामा कोहलपुर नगर विकास समितिले बसपार्क निर्माण गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।
बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले कोहलपुर पश्चिम नेपालको गेटवे भएको बताउँदै कोहलपुर क्षेत्रको विकास र समृद्धिका लागि लुम्बिनी प्रदेश सरकारको जीवनोपयोगी सीप सिक्ने वातावरण निर्माण गर्दै रोजगारी प्रबद्र्धन गर्ने बताए । उनले विकास तथा समृद्धिका लागि प्रदेश सरकार र स्थानीय सरकारका बीचमा समन्वय, सहकार्य तथा मझदारी आवश्यकता औँल्याए ।
कोहलपुरमा निर्माण भएको बसपार्क पश्चिम नेपालकै अत्याधुकि बसपार्क बनेको भन्दै उनले खुसी ब्यक्त गरे । ‘बसपार्कले पश्चिम नेपालको इज्जत जोगाएको छ । यो यस क्षेत्रका लागि गौरवको विषय हो,’ उनले भने ।
कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले नगरको विकास र समृद्धिका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले अत्याधुनिक वसपार्कले कोहलपुरमा हुने ट्राफिक समस्या समाधान हुने बताउँदै नगरलाई ब्यवस्थित बनाउन सघाउने धारणा राखे ।
नगर विकास कोषको ६० प्रतिशत र कोहलपुर नगर विकास समितिको ४० प्रतिशत लगानीमा बसपार्क निर्माण सम्पन्न भएको उनले बताए । बार्षिक ८ प्रतिशत व्याज रकम तिर्ने गरी २० बर्षका लागि नगर विकास कोषसँग सम्झौता भएको छ । २३ असोज, २०७७ मा कोहलपुर नगरपालिकाका तत्कालिन नगर प्रमुख लुटबहादुर रावतले नगर विकास कोषससँग सम्झौता गरेका थिए ।
२४ फागुन, ०७७ देखि बसपार्क निर्माण सुरु भएको थियो । २५ फागुन, ०७९ मा सम्पन्न भएको थियो ।

Previous articleपृथ्वी जोगिए मात्र हाम्रो अस्तित्व रहन्छ, पृथ्वी जोगाउन बृक्षारोपण गरौँ : मुख्यमन्त्री चौधरी
Next articleसर्वोच्च अदालतले दिएन मेयर बालेनलाई वारेस राख्ने अनुमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here