आँखा दान के हो र किन आवश्यक छ ?

‘मृत्युपछि आगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी कसैका लागि वरदान हुन्छ । यो सत्कर्म हो ।’

बाँके, २१ असार ।


विगत २८ वर्षमा काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालबाट १२ हजार तीन सय ४० जनाले अन्धकारबाट मुक्ति पाएर उज्यालो संसार देख्न पाएका छन् । दृष्टिविहीनले रंगीन संसार देख्न पाउने भएकाले आँखा दानलाई संस्कार बनाउनुपर्ने तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वयना बताउँछन् ।
‘मृत्युपछि जलेर खरानी हुने आँखा दान गर्ने संस्कार बनायौं भने धेरै दृष्टिविहीनले दोस्रो जन्म पाउँछन्,’ उनले भने ।
उनका अनुसार १६ सेप्टेम्बर, १९९४ मा आँखा बैंक स्थापना भएपछि नानी प्रत्यारोपणमा सहज भएको छ । बैंकले दाताहरूबाट पाएको आँखाको नानी संकलन, परीक्षण र सञ्चय गर्छ । काठमाडौं उपत्यकामा अहिले पशुपतिको विद्युतीय शवदाह गृहसँगै वीर, टिचिङ, गंगालाल र पाटन अस्पतालबाट आँखा दान गर्नेको नानी संकलन गरिन्छ । उपत्यकाबाहिर भने स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा क्षेत्रीय संकलन केन्द्र स्थापना गरिएको छ । यी ठाउँमा बैंकका परामर्शदाताले सम्झाइबुझाइ गरेर आँखा दान गर्न आग्रह गर्छन् ।
आँखा दान गर्नेको संख्या बढिरहे पनि यो विषयमा अझै धेरै मानिसको बुझाइ संकुचित रहेको व्यवस्थापक त्वयना बताउँछन् ।
‘आँखा दानको कुरा गर्दा अहिले पनि धेरै मानिस रिसाउँछन् । पूरै आँखाको भाग निकाल्ने भन्ने बुझ्छन् । त्यस्तो होइन । हामी आँखाको नानीको बाहिरी झिल्ली मात्र निकाल्छौं,’ उनले भने ।
दुईदेखि ७० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी निकाल्न मिल्छ । कुनै दीर्घरोग नलागेको र दृष्टि प्रस्ट (क्लियर भिजन) भएका व्यक्तिको नानी निकाल्न मिल्छ । एउटा आँखाको नानी झिक्न करिब १५ मिनेट लाग्छ । प्रत्यारोपण गर्दा कम्तिमा एक घन्टा ।
‘तर मृत्युपछि फरक जातको मानिसले छुन हुँदैन भन्ने सोच भएकाले कतिपयले शव छुनै दिँदैनन्,’ व्यवस्थापक त्वयनाले भने,’ त्यस्तै दान गर्दा अर्को जन्ममा आँखै देखिँदैन भन्ने सोच पनि छ । कतिपयले एउटा आँखा दान दिन्छन् । हामी त्यो पनि लिन्छौं ।’
प्रायः मानिसको आँखाको नानीमा पाँच तहको झिल्ली हुन्छ । त्यसबाट दुई तहको झिल्ली मात्र निकालिने उनले बताए ।
‘एउटा मात्रै आँखाको नानीले पनि दुई जनाले देख्न पाउँछन्,’ उनले भने, ’प्रत्यारोपण गर्दा धेरैको नानीको एक तहको झिल्ली फेरे पुग्छ ।’
धूलोधुवाँ, वनजंगल तथा माटोको काम गर्दा आँखामा चोटपटक लागेर नानी बिग्रिने जोखिम हुन्छ । आँखा पाक्ने, दादुरा, टाइफाइड, बिफर तथा कुपोषणले पनि नानीमा समस्या ल्याउन सक्छ । यस्ता ९० प्रतिशत बिरामीको आँखा प्रत्यारोपण भए दृष्टि फर्किने व्यवस्थापक त्वयना बताउँछन् ।
यो संसार नियाल्न पाउने सपना साँचेर बसेका व्यक्तिहरूको लाइन लामो छ ।
तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डारिता गुरूङ धेरै मानिसले आँखा दान गरे ९० प्रतिशत दृष्टिविहिनले उज्यालो देख्न पाउने बताउँछिन् । देशभर अहिले लगभग सात हजार नानीको माग छ । तिलगंगामा भने ५÷७ जना मात्र प्रत्यारोपणको पर्खाइमा रहेको उनले बताइन् ।
‘मृत्युपछि आगोमा जलेर वा जमिनमा पुरिएर खेर जाने आँखाको नानी कसैका लागि वरदान हुन्छ । यो सत्कर्म हो,’ उनी भन्छिन्,’ आँखा नानी दान गराउन प्रेरित गराउनु सबैको जिम्मेवारी पनि हो ।’
आँखा दानप्रतिको सोच सकारात्मक बन्दै गएको र नानी प्रत्यारोपण गरी पुनः दृष्टि दिलाउने काममा नेपाल आत्मनिर्भर हुँदै गएको उनले जानकारी दिइन् ।
यसरी आँखा दान दिनेहरूको सम्झनामा हरेक जून १० तारिखमा तिलगंगामा श्रद्धाञ्जली सभा गरिन्छ ।

Previous articleघाँसको बेर्ना पाउँदा दंगीशरण ४ का किसान हर्षित
Next articleएसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here