बाँके, १७ असार ।
नेपालगन्ज उपमहानगरपालिका ४, गणेशपुरका मकबुल अन्सारीले रिक्सा चढेवापत दुई सय रुपैयाँ भाडा तिर्नुपर्ने थियो । उनले रिक्सावालालाई नेपाली एक हजार रुपैयाँ दिए । रिक्सावालाले भारतीय पाँच सय रुपैयाँ फिर्ता दियो । उनले भारतीय पाँच सयको आठ सय रुपैयाँ सम्झिए, तर उनले उक्त रुपैयाँ आठ सयमा चलाउन सकेनन् ।
उनी सामान किन्न नेपालगन्जका धेरै पसल चहारे, तर ब्यापारीले भारतीय रुपैयाँ लिन मानेनन् । उनी पेट्रोल पम्पमा गए । पेट्रोल पम्पले पनि भारतीय रुपैयाँ लिन मानेनन् । उनी भन्छन्, ‘पेट्रोल पम्पले त भारतीय रुपैयाँ नचल्ने सूचना टाँसेका छन् । लिने कुरै भएन ।’
कुनै सिप नचलेपछि उनी उक्त रुपैयाँ लिएर सीमावर्ती भारतीय बजार रुपइडिहा गए । सामान किने । सामान बापत उनले भारतीय रुपैयाँ दिए, तर रुपइडिहाका ब्यापारीले उनलाई भारतीय पाँच सयका सात सय ७५ रुपैयामात्र दियो । उनी निराश भए । आठ सय रुपैयाँ दिन अनुनय विनय गरे । तै पनि त्यहाँका ब्यापारीले उनको कुरा सुनेनन् । उनी भारु पाँच सय रुपैयाँ नेपाली सात सय ७५ रुपैयाँमा साटेर लुरुलुरु नेपालगन्ज फर्किए । ‘भारती रुपैयाँ दिए खुसी मान्ने नेपालगन्जका ब्यापारीहरु भारतीय रुपैयाँ लिन मान्दैनन् । लिए पनि एकदमै कम रुपैयाँ दिन्छन् । भारतीय रुपैयाँ नेपालगन्जमा चल्न छाडेको छ,’ उनले भने ।
यसअघि एक सय भारतीय रुपैयाँ बापत एक सय ६८ रुपैयाँसम्म दिन नेपालका ब्यापारी तयार हुन्थे, तर अहिले एक सय भारतीय रुपैयाँको एक सय ५० समेत दिन मान्दैनन् । अहिले भारतीय रुपैयाँ चलाउन मुस्किल पर्ने गरेको नेपालगन्ज उपमहानगरपालिका १३ का पूर्णप्रकाश डाँगीले बताए । भारतीय रुपैयाँ खोजीखोजी लिने ब्यापारी र सर्वसाधारणले समेत लिन नमानेको उनले बताए । ‘पछिल्लो समय भारतीय रुपैयाँ नेपालमा कमजोर भएको देखिन्छ,’ उनले भने ।
सीमावर्ती बजार रुपइडिहामा सामान किनमेल गर्न जाँदा पनि भारतीय रुपैयाँ कममा लिने गरेको सर्वसाधारण बताउँछन् । पाँच सय भारतीय रुपैयाँलाई रुपइडिहाका ब्याापारीले नेपाली रुपैयाँ सात सय ७५ मा लिने गरेको जमुनाह बजारका जावेद हुसैनले बताए । उनले रुपइडिहाका ब्यापारीले भारतीय आठ सय रुपैयाँको सात सय ७५ रुपैयाँ बराबरको सामान दिने गरेको बताए । भारतीय ब्यापारीले आफ्नो देसको रुपैयाँसमेत कम मूल्यमा चलाउने गरेको जानकारी दिए ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी(चुन्ना) ले पछिल्लो समय नेपाली रुपैयाँ भारतीय रुपैयाँभन्दा बलियो भएको बताए । उनले नेपालगन्जमा भारतीय रुपैयाँले कम मूल्य पाएको स्पष्ट पारे । ‘पहिले एक सय भारतीय रुपैयाँको एक सय ६८ रुपैयाँसम्म दिन्थे, अहिले एक सय ५० सम्म दिन्छन्,’ उनले भने, ‘यो भनेको भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ बलियो भएको मान्न सकिन्छ ।’