थारु जातिको धान दिवस : ‘हरोट लेना’, कसरी लिइन्छ हरोट ?

सांकेतिक तस्वीर : दंगीशरण गाउँपालिका ४, बैबाङ, दाङका एक किसान धानको वियाड काढ्दै ।

विश्वराज पछल्डङ्ग्या
बाँके, १५ असार ।


विभिन्न कार्यक्रम गरि आज २० औँ धान दिवस मनाइएको छ । मन्त्रीदेखि राजनीतिक दलका प्रमुखले धान रोपेर धान दिवस मनाएका छन् । तर, थारु समुदायले धान दिवसलाई फरक शैलीबाट मनाउँदै आएका छन् । सदियौँदेखि खेतिपाती गर्दै आएका थारु जातिले खेतिपाती गर्दा प्रयोग गरिने सामग्री र धर्तीमाताको पूजा गरि धान दिवस मनाउँछन् । यसलाई थारु जातिले ‘हरोट लेना’ भन्दछन् ।
जिविकोपार्जनका लागि थारु जाति वर्षभरी धेरै थरिका अन्नवालीको खेती गर्छन् । त्यसमध्ये धान खेतीलाई प्रमुख बालीको रुपमा लिइन्छ । धान रोप्न कम्तीमा एक महिना लाग्ने र वर्षभरी खान पुग्ने अन्न उत्पादन गर्नुपर्ने भएकोले धान खेती सुरु गर्नुभन्दा पहिले खेतिपातीमा प्रयोग गरिने सामग्री र धान उत्पादन गर्ने धर्तीको पूजा गर्ने चलन चलाएको पछ्ला प्रगन्नाका देशबन्ढ्या गुर्वा लिलामणी चौधरीले बताए ।
यो पूजा जेठ अन्तिमदेखि असार पहिलो साता भित्र गरिन्छ । बालीनाली सप्रियोस, खेतीपाती राम्रोसँग गर्न पाइयोस भन्ने कामना गर्दै पूजा गरिन्छ ।
थारुहरुले कृषिसँग सम्बन्धित दुई वटा ठूलो महोत्सव बर्षम दुई फ्यारा मनाइट । खेती सुरु करबेर ‘हर (हलो) महोत्सव’ मनाउँछन् भने धान बाली भित्र्याइसकेपछि ‘माघी महोत्सव’ धुमधामसँग मनाउँछन् । ब्राम्हण ग्रन्ध अनुसार, विदेह–मिथिलाको राजा जनक ‘हलो’ महोत्सवको अवसरमा सुनको हलो जोत्नेबेला सीतालाई फेला पारेको हलो महोत्सवसँग सम्बन्धित छ ।
यी आधारमा राजा जनक पनि थारु थिए भन्ने बुझिन्छ । कपिलबस्तुमा असार महिनाको पूर्णिमाको अवसरमा सात दिनसम्म हलो महोत्सव धुमधामसँग मनाउने चलन थियो । यो अवसरमा कपिलबस्तु र जनकपुरमा राजपरिवार तथा सम्पूर्ण जनता समान रुपमा हलो महोत्सवमा सहभागी हुन्थे ।
पश्चिम नेपालको तराईमा बसोबास गर्ने थारु जातिमा अझैँसम्म हलो (हर) महोत्सव मनाउने प्रचलन रहेको छ । हरोट लिँदा सुरुम गाउँका मटावा÷बरघरले पाँच या सात फन्का हलो जोतेर सुरुवात गर्छन् । मटावा÷बरघरले हलो जोतेर सकेपछिमात्र गाउँका अरुले जोत्ने चलन छ । हरोट लिनेबेला धर्ती मातालाई सुँगुरको पाठो, कुखुराले पूजा गरिन्छ । हरोट लिने बेला खेति गर्न प्रयोग गरिने हलो, जुवा, फालो, फरुवा खेतमा राखेर पुजा गरिन्छ । हरोट लिएको दिन आफ्नो घरको अन्न अरुलाई दिए सई जान्छ भन्ने जनविश्वास अनुसार अरुलाई दिन मान्दैनन् । ‘यो दिन आफ्नो घरको अन्न अरुलाई दिए आफ्नो घरमा भएको अन्नपात सकिने र अर्काको बढ्ने विश्वास छ,’ उनले भने ।
मटावा÷बरघरले हरोट लिएपछि गाउँका अन्यले यो पूजा गर्छन् । आफ्नो खेतमा गएर खेतीपाती गर्न प्रयोग गरिने हलो, जुवा, फालो, फरुवालाई पकाएको माछाले पूजा गर्छन् । ‘हरोट लिनेबेला एउटा बन्ठीमा बाच्छोको गोवरले मान्छेको चित्र बनाइन्छ र त्यसमा सिन्दूर लगाएर हरोट लिइन्छ,’ दंगीशरण गाउँपालिका ३ रातगाउँका मोहलाल चौधरीले भने ।
हरोट लिनका लागि आइतवारका दिन गाउँका हरेक घरबाट एकजना माछा मार्न जान्छन् र सोमवार बेलुका हरोट लिन्छन् । हरोट लिन जाने बेला बन्ठिमा (धान छिट्न प्रयोग गरिने बाँसको भाँडो) थोरै धान, हलो, जुवा, फरुवा, फालो, नान्ढा, पैन र माछा लिएर जान्छन् ।
स्नान गरेर घरका अगुवाले गाउँको पूर्वतर्फ एउटा खेतको गरामा कुनामा धान छर्छन् र खनेको ठाउँमा लिपपोत गरि त्यसमा धानको विज राख्ने भाँडो बन्ठि, हलो, जुवा, फालो, फरुवा, नान्ढा, पैन राख्छन् । पूजा गर्नुभन्दा पहिले बत्ति बालेर त्यसमा सिन्दूर टिक्छन् । त्यसमा पाँच जोडी माछा राखेर पूजा गर्छन् । त्यसैगरी जल, दारु, दुध चढाउँछन् र धुपले धुपाएपछि हात जोडेर एकछिन बस्छन् ।
त्यसपछि गाउँका किसान एक ठाउँमा भेला भएर घरबाट पकाएर ल्याएको माछा र रक्सी पिउँछन् । र, तितामिठा कुरा गर्दै रमाइलो गर्छन् । यसैबेला सजना गीत गाय खेतीबाली सप्रिन्छ भन्ने जनविश्वास अनुसार सजना गीत गाउँछन् ।

Previous articleबाँकेमा मागको एक तिहाई रासायनिक मल वितरण, किसानलाई भारतीय मलको भरोसा
Next articleचट्याङ् लागेर मृत्यू भएकालाई एक–एक लाख रुपैयाँ दिने लुम्विनी सरकारको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here