बाँकेमा मागको एक तिहाई रासायनिक मल वितरण, किसानलाई भारतीय मलको भरोसा

बाँके, १२ असार ।


बाँकेमा पनि रासायनिक मल अभाव भएको छ । यहाँ तीन हजार मेट्रिक टन डिएपी माग भए पनि अहिलेसम्म एक हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको कृषि विउ विजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए ।
उनका अनुसार, बाँकेमा धान खेतीका लागि ६ हजार मेट्रिक टन माग भए पनि अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन यूरिया मल आएको छ । माग बमोजिमको मल नआएपछि ८ असारदेखि मात्र विक्रि वितरण सुरु गरिएको उनले बताए ।
उनले एउटा गाउँपालिकालाई एक हजार बोरा डिएपी र १२ सय बोरा यूरिया वितरण गरिरहेको जानकारी दिए । धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल प्रदान गर्दै आएको पौडेलको भनाई छ । ‘खेतियोग्य जमिन थोरै भएको पालिका र धेरै जमिन भएको पालिकालाई दामासाही हिसावले रासायनिक मल वितरण गरिरहेका छौँ,’ उनले भने ।
आइतवारसम्म राप्तीसोनारी, बैजनाथ, कोहलपुर र डुडुवा गाउँपालिकामा वितरण भइसकेको बताउँदै उनले ११ असारमा खजुरा, असार १२ देखि जानकी गाउँपालिका तथा नेपालगन्ज उपमहानगरपालिकाकाका कृषकका लागि १४ र १५ असारमा वितरण गर्ने योजना रहेको कृषि विउ विजन कम्पनी नेपालगन्जले जनाएको छ ।
उनले दोस्रो चरणको मल केहि दिनपछि आउने बताए । बाँकेको कोटाको ७० प्रतिशत रासायनिक मल आइसकेको बताउँदै कार्यालय प्रमुख पौडेलले अव ३० प्रतिशत आउन बाँकी रहेको स्पष्ट पारे । ‘कोटाको बाँकी मल छिट्टै पठाउने सुनेको छु, तर कहिले आउने निश्चित छैन,’ उनले भने ।
कम्पनीले सहकारी मार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ । सहकारीमा रासायनिक मल आएको जानकारी पाए पनि अहिलेसम्म नपाएको डुडुवा गाउँपालिका १ होलियाका राजकुमार शुक्लले बताए । एक हजार बोरो डिएपी मलले पालिकाका एक तिहाई कृषकलाई मात्र पुग्ने उनले बताए । ‘रासायनिक मल दिनुस्, देसलाई पुग्ने धान हामी उत्पादन गर्छौ भन्दा पनि सरकारले दिन नसक्नु लज्जाको विषय हो,’ उनले भने ।
राप्तीसोनारी गाउँपालिका ३, भगवतीपुरका राजाराम चौधरीले पनि रासायनिक मल नपाएको बताए । उनले रासायनिक मल नपाएका कारण धान रोपाइँ गर्न नसकेको बताए । ‘रोपाइँका लागि धानको वियाड तयार भइसक्यो । रासायनिक मल पाउने वित्तिकै रोपाइँ सुरु गर्ने योजना छ,’ उनले भने, ‘तर रासायनिक मल थोरै आएको छ भन्ने सुनेको छु । आवश्यकताभन्दा कम मल पाइयो भने खेती कसरी गर्ने होला ?’
सरकारी अनुदानको रासायनिक मल नपाएपछि बाँकेका किसानले भारतमा उत्पादित रासायनिक मल प्रयोग गर्दै आएका छन् । किसानले सीमावर्ती भारतीय बजारबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएको नरैनापुर गाउँपालिका ५ मटेहियाका विनय दिक्षितले बताए । ‘सहुलियतको रासायनिक मल नपाएपछि यहाँका किसान भारतीय मल प्रयोग गर्न बाध्य छन्,’ उनले भने, ‘मर्नुभन्दा बहुलाउनु बेस भने झैँ यहाँका किसानलाई भारतीय मल प्रयोग गर्ने बाध्यता छ ।’

Previous articleबाँकेका आठ पालिकाको वजेट ६ अर्व ५३ करोड १७ लाख, कुन पालिकाको वजेट कति ?
Next articleथारु जातिको धान दिवस : ‘हरोट लेना’, कसरी लिइन्छ हरोट ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here