कोहलपुरको बजेट एक अर्व सात करोड : सामुदायिक विद्यालयको टिनको छाना विस्थापन, ‘म जिम्मेवार शिक्षक’ अभियान संचालन

बाँके, ८ असार ।


कोहलपुर नगरपालिकाले टिनका छाना विस्थापन गर्ने नीति अघि सारेको छ । १३ औँ नगरसभामा शुक्रवार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पूर्णप्रसाद आचार्यले सामुदायिक विद्यालयमा टिनको छाना विस्थापन गर्ने बताए । उनले नगरभित्र संचालित एक सामुदायिक विद्यालयलाई आवासिय विद्यालयको रुपमा विकास गर्ने लक्ष्य पनि नीति तथा कार्यक्रममा समेटिएको बताए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि भौतिक पूर्वाधारको विकास, शिक्षकलाई प्रविधिमैत्री सीप विकास, शिक्षण कला, क्षमता विकास र असल अभ्यास शिक्षण सिकाइ आदानप्रदान, ‘विद्यार्थीसँग अग्रज’ कार्यक्रम संचालन गरिने भएको छ । शिक्षकको क्षमता अभिवृद्धि गर्न र पेशाप्रति सकारात्मक बनाउन ‘म जिम्मेवार शिक्षक’ अभियान संचालन गर्ने नीति अघि सारिएको उनले बताए ।
‘सामुदायिक विद्यालयमा प्राविधिक शिक्षालाई प्रोत्साहन र पढ्दै कमाउँदै कार्यक्रम संचालनका लागि सम्भावित विद्यालय छनौट गरी जिवनोपयोगी सीप एवम् शिक्षामा जोड दिने, शैक्षिक तालिम केन्द्र एवम् अनुसन्धानमूलक केन्द्र स्थापना गरी शिक्षकहरुको क्षमता अभिवृद्धि गर्न खोजमूलक अनुसन्धान कार्य अगाडि बढाइने भएको छ’ नगर प्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउने भएको छ । मानव स्वास्थ्यलाई मध्यनजर गर्दै सरुवा रोग नियन्त्रण, बंशाणुगत रोगको निदान र दीर्घरोगीलाई सहयोग गर्ने नीति लिएको आचार्यले बताए । सिकलसेल एनिमिया लगायतका रोगका विरामीको निशुल्क र नियमित स्वास्थ्य परीक्षण गरी सेवा प्रदान गरिनुका साथै रोगीको पुनर्स्थापना गर्ने कार्यक्रम अघि सारेको उनले बताए ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कोहलपुर नगरपालिकाका सबै वडाका मुख्य बस्तिहरु पक्की सडकले जोडिने र मुख्य राजमार्ग जोडिने मापदण्ड पुगेका सडकहरु प्राथमिकीकरण गरी स्तरोन्नती गरिने भएको छ । मुख्य शहरी क्षेत्रमा नागरिकको चाप र सुरक्षाको लागि आकाशे पुलहरु निर्माण गरिने नीति लिइएको नगर प्रमुख आचार्यले बताए ।
पटकपटक म्याद थप भएका र निर्माणमा ढिलाइ भएका ठूला एवम् साना योजनाहरुलाई चालू आर्थिक वर्षभित्रै सम्पन्न हुन नसकेमा त्यस्ता योजनाहरुको म्याद थप नगरी निर्माण कार्यमा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई दण्ड र पुरस्कार तथा कालो सूचीमा राख्ने नीति पालिकाले लिएको छ ।
यस्तै कोहलपुर नगरपालिकालाई हरित नगरका रुपमा विकास गर्ने नीति लिँदै फोहरमैला व्यवस्थापन गर्न अनिवार्य रुपमा सदस्यता लिनुपर्ने र सदस्यता नलिए सेवा सुविधाबाट बञ्चित गर्ने नीतिलाई क्रमशः कार्यान्व्यन गरिने उल्लेख छ । साथै ‘मेरो फोहर मेरो जिम्मेवारी’ अभियानलाई अगाडि बढाइने भएको छ ।
त्यसैगरी कोहलपुर डिजिटाइजेसन कार्यक्रम अन्तर्गत कागज रहित प्रशासन, सूचना प्रविधिमा आधारित सेवा प्रवाह एवम् सफ्टवेयर प्रणालीको प्रयोगलाई कार्यान्वयनमा लैजाने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाभित्र रहेका वातावरणीय दृष्टिकोणले मापदण्ड विपरीत रहेका तथा प्रदूषण बढी गर्ने उद्योग व्यवसायलाई निरुत्साहित गर्दै प्रदूषण न्यूनीकरण गर्ने प्रविधि अवलम्वन गर्ने उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्ने नीति पनि नगरपालिकाले लिएको छ ।
त्यसैगरी नगर क्षेत्र भित्र संचालित ठूला उद्योग व्यवसायहरुमा कम्तिमा ५० प्रतिशत स्थानीय श्रमशक्तिलाई रोजगारीमा आवद्धता गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । नीति तथा कार्यक्रम र बजेटमाथी छलफल गर्न आगामी २६ गते नगरसभा बस्ने गरि आजको नगरसभा सकिएको छ ।
१३ औं नगरसभामा उपप्रमुख संगीता सुवेदीले आगामी आगामी आर्थिक वर्ष ०८०÷०८१ का लागि एक अर्व सात करोड ७४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी छन् ।

Previous articleदेशभर फैलियो मनसुन, तीन दिन लगातार वर्षाको सम्भावना
Next articleडुडुवाको नीति तथा कार्यक्रम पारित : चिकित्सक सहितको जेष्ठ नागरिक अस्पताल सञ्चालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here