सरकारी गाडी दुरुपयोग : २४ गाडी अनेरास्ववियुको नियन्त्रणमा (फोटो फिचर)

बाँके, २ असार ।


एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले दुई दर्जन सरकारी गाडी नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिएर शनिवार संचालन भएका दुई दर्जन सरकारी गाडी नियन्त्रणमा लिएको अनेरास्ववियु बाँके अध्यक्ष प्रकाश विश्वकर्माले जानकारी दिए ।
दिउँसो १२ बजेसम्म संचालन भएको अभियानमा पाँच वटा चार पाङ्ग्रे र १७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए । उनले उच्च अदालत तुलसीपुर इजलाश नेपालगन्जका न्यायाधिश चढ्ने गाडीसमेत नियन्त्रणमा लिएको बताए । ‘शनिवारका दिन सरकारी गाडी संचालन गर्नु पर्दा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य रुपमा अनुमति पत्र लिनुपर्ने प्रावधानको बर्खिलाफ गरि संचालनमा आएका सरकारी गाडीलाई नियन्त्रणमा लिए प्रहरीको जिम्मा लगाएका छौँ,’ उनले भने ।

सरकारी गाडी नियन्त्रणमा लिँदै अनेरास्ववियुका नेता, कार्यकर्ताहरु ।


नेपालगन्जको वीरेन्द्र चोकमा विहान ८ बजेदेखि खटिएका अनेरास्ववियुका नेता, कार्यकर्ताले शनिवारका दिन सरकारी गाडी चलाउनेलाई सम्झाई, बुझाई समेत गरेका थिए । सरकारी सम्पत्तिको दुरुपयोग रोक्न अनेरास्ववियुले सरकारी गाडी नियन्त्रणमा लिएर पाठ सिकाउने अभियान थालेको छ,’ महेन्द्र बहुमुखी क्याम्पस स्ववियू सभापति समेत रहेका अनेरास्ववियु बाँके उपसचिव माधव खत्रीले भने, ‘एकैदिन दुई दर्जन सरकारी गाडी नियन्त्रणमा लिनु भनेको सरकारी सम्पत्तिको चरम दुरुपयोग भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।’

सरकारी गाडी नियन्त्रणमा लिँदै अनेरास्ववियुका नेता, कार्यकर्ताहरु ।


उनले विदाका दिन सरकारी गाडी चलाउनु दुरुपयोग भए पनि नियन्त्रणका लागि सरकारी निकाय मौन बस्दा विकृती मौलाएको बताए । ‘वास्तवमा सरकारी गाडीको दुरुपयोग रोक्ने काम जिल्ला प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीको हो । यी सरकारी निकायले रोक्न नसकेपछि अनेरास्ववियुले यसको अगुवाई गरेको हो,’ उनले भने ।
यो अभियानलाई निरन्तरता दिने अनेरास्ववियु अध्यक्ष विश्वकर्माले बताए । उनले पदको दुरुपयोग रोक्ने अभिभारा अनेरास्ववियुको पनि भएको बताए । ‘हामी अझ सशक्त ढंगले अगाडी बढ्ने योजना बनाएका छौँ,’ उनले भने ।

अनेरास्ववियुले शनिवार धम्बोझी चोकमा नियन्त्रणमा लिएका मोटरसाइकल ।

अनेरास्ववियुले शनिवार धम्बोझी चोकमा नियन्त्रणमा लिएको सरकारी गाडी ।

अनेरास्ववियुले शनिवार धम्बोझी चोकमा नियन्त्रणमा लिँदै गरेको सरकारी मोटरसाइकल ।

अनेरास्ववियुले शनिवार धम्बोझी चोकमा सरकारी गाडी नियन्त्रणमा लिने क्रममा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी ।

Previous articleलुम्बिनीले ल्यायो ४० अर्बको बजेट, सिकलसेल र थालेसेमियाको उपचारका लागि वीमाको ब्यवस्था
Next articleनेपालमा मंकिपक्स : भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाई तोकिए फोकल पर्सन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here