बाँके, २० जेठ, २०८० ।
अत्यधिक गर्मी बढेपछि नेपालगन्ज र खजुराका विद्यालय आइतवारदेखि बन्द हुने भएका छन् । गर्मीसँगै तातो हावा (लू) चलेपछि नेपालगन्ज र खजुराका विद्यालय तीन दिनका लागि बन्द गरिएका हुन् ।
नेपालगन्जका अधिकांश संस्थागत विद्यालयले दुई साताका लागि विदा दिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिए । उनले नेपालगन्ज उपमहानगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरे पनि संस्थागत विद्यालयले १०–१४ दिन विदा दिएको बताए । ‘उपमहानगरले तीन दिन विदा दिएको छ । हाम्रो शैक्षिक क्यालेण्डरमा २० दिन गर्मी विदा तोकिएको छ । विद्यालयले आवश्यकता र अवस्था हेरेर विद्यालय बन्द गरेका छन्,’ उनले भने, ‘कुनै विद्यालयले एक हप्ता, कुनैले १४ दिन गर्मी विदा दिएको मैले खवर पाएको छु ।’
अत्यधिक गर्मी भई अध्ययन, अध्यापनमा कठिनाइ आएपछि २१–२३ जेठसम्म विदा दिइएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए । उनले उपमहानगरपालिकामा रहेका सामुदायिक, मदरसा र संस्थागत विद्यालयमा बर्खे बिदाबाट कट्टी हुने गरी तीनदिन बिदा दिने निर्णय भएको बताए ।
खजुरा गाउँपालिकाले तीन दिनका लागि विद्यालय बन्द हुने जनाएको छ । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख खगेन्द्रबहादुर मल्लले सूचना जारी गरि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको बताए ।
अत्यधिक गर्मी बढेपछि विद्यार्थीलाई आउजाउ गर्न र कक्षा कोठामा बस्न समस्या भएपछि आइतवारदेखि तीन दिनका लागि विद्यालय बन्द हुने उनले बताए ।
नेपालगन्जको न्यूनतम तापक्रम २३ दशमलव र अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस मापन गरिएको छ । गर्मीसँगै तातो हावा (लू) चल्दा चर्को गर्मी महशुस हुने गरेको छ । दिउँसोको समयमा यहाँ हिड्डुल गर्नेको संख्या एकदमै कम न्यून छ ।