बाँके, १२ जेठ ।
डुडुवा गाउँपालिकाको बजेट तथा कार्यक्रम संशोधन भएको छ । शुक्रबार बसेको १३ औँ गाउँसभाले बजेट तथा कार्यक्रम संशोधन गरेको हो । गाउँसभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले चालू आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गाउँसभाले उक्त बजेट तथा कार्यक्रम संशोधन गरेको गाउँपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षमा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेटबाट बिनियोजित कार्यक्रमहरु कार्यावन्यन गर्ने क्रममा नेपाल सरकार संघीय अर्थ मन्त्रालयको परिपत्र तथा निर्णयबाट बिनियोजित विभिन्न अनुदान रकम कटौती भएपछि योजना तथा कार्यक्रम संचालन हुन नसकेको गाउँपालिकाका सूचना अधिकारी ऋषिराज गौतमले जानकारी दिए ।
बजेट कटौतीले गाउँपालिकाबाट चालू आर्थिक वर्षका लागि प्रस्तावित विभिन्न (चालूगत तथा पुञ्जीगत) कार्यक्रमहरु कार्यावन्यन हुन नसकेको र आन्तरिक स्रोततर्फको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त हुन नसकेको, विकास निर्माणका कार्यमा स्रोत अभावका कारण कार्यान्वयन गर्न समस्या भएको अध्यक्ष चौधरीले संशोधन प्रस्तावमार्फत जानकारी गराए ।

हाल संचालनमा रहेका विभिन्न आयोजनामा स्रोत सुनिश्चिता गर्नुपर्ने र कार्यालय संचालनका लागि अनिवार्य दायित्वहरु तलब, भत्ता, पानी, बिजुली, पदाधिकारी सेवासुविधा, इन्धन, संचार र मसलन्द तथा कार्यालय सामग्री शिर्षकमा समेत स्रोत सुनिश्चित गरी भुक्तानी गर्न चालू आर्थिक वर्षको कार्यक्रमको संशोधन प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।
सभामा अध्यक्ष चौधरीले चालू आर्थिक वर्षमा जनप्रतिनिधी विच आपसी विवाद, ढिलो गरि बजेट पास र आर्थिक मन्दीले सरकारले गरेको बजेट कटौतीले गाउँपालिकाले खासै उपलब्धी गर्न नसकेको भन्दै नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम तथा अभियान लागू गरि लुम्विनी प्रदेशकै नमुना पालिका बनाउने लक्ष्यका साथ अघि बढने उनले प्रतिवद्धता जनाए ।
सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँले पनि योजना तथा कार्यक्रमका बारेमा विचार राखेका थिए । सदस्य सचिव अशोककुमार पाण्डेले संचालन गरेको गाउँसभामा ३२ जना सभासदमध्ये २२ जनाको उपस्थिती रहेको थियो ।