बर्दिया, ३० बैशाख, २०८० ।
बरघर, बैडावा र गुर्वाको क्षमता अभिबृद्धि सम्बन्धि तीन दिने तालिम बर्दियाको बारबर्दिया नगरपालिका जयनगरमा सुरु भएको छ । पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र बरघर संजाल बर्दियाको समन्वयमा सुरु भएको तालिमको उद्घाटनमा लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरीले बरघर प्रणाली थारु समुदायको सवैभन्दा बलियो संगठन भएको बताए । उनले विश्वमा संघीयताको सुरु नहुँदै थारु समुदायले संघीयता अवलम्बन गर्दै आएको बताए । ‘संघीयताको प्रयोग सवैभन्दा पहिले थारु समुदायले बरघर (मटावाँ) प्रणाली मार्फत भएको हो,’ उनले भने ।
तालिम उद्घााटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर छविलाल चौधरीले न्यायपालिकाले गर्ने काम गाउँका बरघरले गर्दै आएको बताए । उनले सेलर्ड, अदालत र स्थानीय तहले अवलम्बन गरेको सामुदायिक मेलमिलाप थारु समुदायले वर्षौँ पहिलेदेखि गर्दै आएको बताए । ‘अदालत र स्थानीय तहले अहिले प्रयोग गरेका हुन्, तर थारु समुदायले यो आदिमकालदेखि मेलमिलाप गाउँमै गर्दै आएका छौँ,’ उनले भने ।

बरघर संजाल बर्दियाका अध्यक्ष कालिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा दाङका निवर्तमान सभापति भुवन चौधरीले तालिमको बारेमा प्रष्ट पारेका थिए । उक्त कार्यक्रममा बेस बर्दियाका अध्यक्ष विष्णु थारु लगायतले विचार राखेका थिए । तालिममा बारबर्दियाका निवर्तमान मेयर दुर्गाबहादुर थारु (कविर) र थारु संस्कृतिको बारेमा कलम चलाउँदै आएका पत्रकार विश्वराज पछल्डङ्ग्याले बरघरको ऐतिहासिक पृष्ठभूमीका बारेमा सहजीकरण गरेका थिए ।
त्यसैगरि, सांस्कृतिक अधिकारमा नेपालको संविधान र युएनको भूमिका विषयमा बेसका निर्देशक चूर्णबहादुर चौधरीले सहजिकरण गरिरहेका छन् ।

बरघरलाई अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) १६९ को प्रावधान बारे प्रथाजनित कानूनको प्रावधान, नेतृत्व विकास र संगठनको महत्व, विकास, सुशासन तथा न्याय सम्पादनमा मटावाँको भूमिका, रैथाने उपचार पद्धती र आधुनिक उपचार पद्धती विचको अन्तरसम्वन्ध लगायतका विषयमा भुवन चौधरी, डा. जर्मन चौधरी, भागिराम चौधरी, इन्द्र चौधरी र हल्लुप्रसाद चौधरीले सहजीकरण गर्ने कार्यक्रम छ ।
यसअघि दाङको तुलसीपुर, घोराही र देउखुरीका मटावाँ–बरघरलाई तालिम दिइएको थियो ।
