थारु राजा दंगीशरण सुकौराकोटको पवित्रता : थुम्को बनाउन भूइँह्यार थानको माटो प्रयोग

विश्वराज पछल्डङ्ग्या

तुलसीपुरबाट सुकौरारोड हुँदै सात किलोमिटर दक्षिणमा गए सुकौरा पुगिन्छ । तुलसीपुरबाट मोटरसाइकलमा करिव २० मिनेट हिडेपछि पुगिने सुकौरा चोकको ठिक पूर्वतर्फ एउटा थुम्को छ । चारैतिर समथर भू–भाग वीचमा थुम्को भएको उक्त ठाउँलाई थारु राजा दंगीशरणको दरवार भएको ठाउँ मानिने गरिएको छ । चारैतिर समथर भूमी भए पनि वीच भागमा रहेको यो थुम्को परापूर्व कालमा मानव निर्मित गरेको विश्वास गरिन्छ । र, यो थुम्कोको माटो धार्मिक तथा सांस्कृतिक हिसावले पवित्र छ ।
थारु राजा दंगीशरणले राज्य गर्ने बेला दरवारलाई सुरक्षित राख्न र अरु जनताभन्दा माथि बस्ने ब्यवस्था स्वरुप दाङका प्रगन्नाले प्रत्येक गाउँका मटावाँलाई आफ्नो गाउँमा रहेको भूइह्याँर थानको माटो ल्याउन लगाए । र, सवै गाउँबाट ल्याएको माटोले यो थुम्को निर्माण गरिएको संस्कृतिका जानकारहरु बताउँछन् ।
मटावाँ महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले दंगीशरणको दरवारलाई सुरक्षित तथा पवित्र बनाउन दाङका हरेक गाउँमा रहेका भूइँह्यार थानको माटो ल्याएर दरवारका लागि अग्लो ठाउँ बनाएको इतिहास रहेको बताए । उनले थुम्को बनाउन माटो अपुग भएपछि दाङका थारुले जनश्रमदान (झराली) गरेर अग्लो ठाउँ बनाएको बताए ।
‘आफ्नो राजालाई आक्रमणबाट जोगाउन र पवित्र ठाउँमा बस्ने ब्यवस्था मिलाउन प्रगन्नाको अगुवाईमा थारु समुदायले आ–आफ्नो गाउँको भूइँह्यार थानबाट माटो ल्याएर अग्लो ठाउँ बनाएको इतिहास छ,’ उनले भने, ‘दरवार क्षेत्रको माटो धार्मिक हिसावले पवित्र छ ।’
पछ्ला प्रगन्नाले अहिले पनि सुकौरास्थित राजा दंगीशरणको दरवारमा रहेको शुक्रेश्वरी देवीको पूजा गर्दै आएका छन् । हरेक वर्ष चैते दसैँ र असारमा लवाङ्गी पूजा गर्दै आएको पछ्ला प्रगन्नाका गुर्वा लिलामणी चौधरी (पछल्डङ्ग्या) बताउँछन् ।
उनले पछ्ला प्रगन्नामा बसोबास गर्ने सम्पूर्ण प्राणीको सुरक्षाका लागि सुकौराकोट दरवारमा रहेको शुक्रेश्वरी देवीको गर्दै आएको बताए । ‘पछ्ला प्रगन्नामा बसोबास गर्ने सम्पूर्ण जिवित प्राणीको सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिका साथै बालीनाली र सर्वसाधारणलाई रोग, ब्याधि लाग्न नदिन दंगीशरणको दरवारमा रहेको शुक्रेश्वरी देवीको पूजा गरिन्छ,’ उनले भने, ‘पूजा गरेपछि प्रगन्नामा बसोबास गर्नेहरुलाई रोग, ब्याधि नलागोस कामना गरि पूजा गरिन्छ । पूजा गरे अनुसार प्रगन्नामा बसोबास गर्नेहरुको कल्याण पनि भएको छ ।’
उनले सवै गाउँको भूइँह्यार थानको माटोले कोट बनेको मान्यता अनुसार सम्पूर्ण प्रगन्नाबासीको तर्फबाट पूजा गर्दै आएको बताए । ‘सवैले आ–आफ्नो गाउँस्थित भूइँह्यार थानको पूजा गर्छन्, तर यहाँ सम्पूर्ण गाउँको भूइँह्यार थानको माटो भएकोले संयुक्त रुपमा पूजा गरिन्छ,’ पछ्ला प्रगन्नाका गुर्वा लिलामणीले भने ।
संस्कृतिका जानकारहरुको भनाईसँग लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको भनाई पनि मेल खाने गरेको छ । बुद्ध जन्मेको ठाउँ लुम्विनी पवित्र भूमि भए जस्तै दंगीशरण राजा जन्मेको ठाउँ पनि पवित्र भूमी भएको उनी बताउँछन् । उनले दंगीशरण राजाको दरवार रहेको ठाउँको माटो पवित्र भएको बताए । ‘दंगीशरण दरवारको माटो पवित्र छ । यहाँको एक अञ्जुली माटोको महत्व छ । उत्खनन् र परीक्षण गरेपछि बास्तविकता पत्ता लाग्ने छ । र, यहाँको माटो देश, विदेशसम्म विक्रि हुनसक्छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘यहाँको माटोको पूजा गर्ने दिन पनि आउन सक्छ । उत्खनन् र अनुसन्धान नहुँदासम्म यहाँको माटो मनपरि तरिकाले चलाउने अधिकार कसैलाई छैन ।’
उनले थारू राजाको सम्बन्ध घोराहीस्थित रतननाथ मन्दिरसँग भएको बताए । नरहरीनाथ योगीले आफ्नो पुस्तकमा थारु राजाको वर्णन गरेको बताउँदै उनले थारुका अन्तिम राजा रत्नपारूखु भएको र उनी गोरखनाथबाट दिक्षान्त भएपछि राजकाज त्यागेर तपस्वी बनेको इतिहास भएको दावी गरे ।
विगतमा दंगीशरण राजाले नै भारतको पाटनमा पूजा आरधनाका लागि डोली बोकाएर मानिसहरू पठाउने प्रचलन रहेपनि अहिले आएर त्यो क्रम रोकिएको उनको भनाई छ । ‘अहिले पनि थारूहरू पाटन देवीको पूजा गर्छौं,’ उनले भने, ‘यो प्रचलन त्यसै चलेको होइन । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ ।’
थारु समुदायले सुकौराकोटलाई पवित्र स्थलको रुपमा मान्दै आए पनि यस विषयमा थप अनुसन्धान हुन बाँकी छ । परापूर्व कालदेखि मान्दै आएकोले यसमा सत्यता भएको दावी गर्न सकिने आधार देखिएको थारु थारु कल्याणकारिणी सभा दाङका निवर्तमान सभापति भुवन चौधरी बताउँछन् ।
उनी भन्छन्, ‘मान्दै आएको धार्मिक आस्था, परम्परा र संस्कृतिले नै कुनै पनि दर्शन र आस्थाको आधिकारितालाई पुष्टि गर्छ । दंगीशरणका सुकौराकोटलाई थारु समुदायले पवित्र स्थलको रुपमा मानेर पूजा गर्दै आएकोले यसको ऐतिहासिक महत्व झल्काएको छ ।’
सुकौराकोटको ऐतिहासिकसँगै पवित्र स्थलको रुपमा विकास गर्न थारु समुदायले राज्यको ध्यानाकर्षण गराएका छन् । ऐतिहासिकसँगै धार्मिक मान्यता बोकेको सुकौराकोट दरवारको बारेमा थप अनुसन्धान र उत्खनन् गर्न आवश्यक रहेको महेन्द्र संस्कृत विश्वविद्यालय संस्कृति अनुसन्धान केन्द्रका निर्देशक डा. जर्मन चौधरी बताउँछन् ।
उनले दंगीशरण राजाको ऐतिहासिक महत्वलाई प्रचार प्रसार गरि पर्यापर्यटनको विकास गर्न सकिने बताए ।

Previous articleबाँके प्रहरी प्रवक्ता डिएसपी घर्तीमगर एसपीमा बढुवा सिफारिस
Next articleझुठो समाचार तयार गरि चरित्र हत्या गर्ने काम भयो : मुख्यमन्त्री चौधरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here