पछ्ला प्रगन्नाको ब्यथा : रकम नपाउँदा १४ वर्षदेखि पूजा बन्द

लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र विना विभागिय मन्त्री धनबहादुर मास्कीलाई ज्ञापनपत्र बुझाउँदै पछ्ला प्रगन्नाका मटावा जगतराम चौधरी ।

दाङ, २८ बैशाख, २०८० ।


तुलसीपुर उपमहानगरपालिका ११ सुकौरास्थित थारु राजा दंगीशरणको दरवार नजिकै रहेको शुक्रेश्वरी देवीको पूजा गर्न नपाएको १४ वर्ष भएको पछ्ला प्रगन्नाका गुर्वा लिलामणी चौधरी (पछल्डङ्ग्या) ले गुनासो गरेका छन् । रकम जोहो गर्न नसकेका कारण हरेक वर्ष गर्दै आएको मुल पूजा गर्न नसकेको उनको भनाई छ ।
पछ्ला प्रगन्नाले वर्षको दुई पटक शुक्रेश्वरी देवीको पूजा गर्ने परम्परा छ । तर, रकम जोहो गर्न नसक्दा १४ वर्षदेखि पूजा बन्द छ । ‘पहिले पूजाका लागि गाउँ–गाउँबाट रकम संकलन गरिन्थ्यो । र, पूजाका लागि आवश्यक पर्ने बस्तु पनि सस्तोमा पाइन्थ्यो । अहिले सामान महंगो छ । पैँसा उठाउन मान्दैनन्,’ उनले भने, ‘रकम जोहो गर्न नसक्दा १४ वर्षदेखि पूजा रोकिएको छ ।’
पूजा गर्न नपाउँदा सांस्कृतिक अधिकारबाट बञ्चित भएको दंगीशरण गाउँपालिका ४ बैबाङका मटावाँ कल्चु चौधरीले बताए । उनले पछ्ला प्रगन्नाले गर्ने पूजा नहुँदा संस्कृति लोप हुने अवस्थामा पुगेको बताए । ‘हामीहरु संविधानले दिएको अधिकारबाट समेत बञ्चित छौँ,’ उनले भने ।
शुक्रेश्वरी देवीको पूजाका लागि आर्थिक ब्यवस्था गरिदिन पछ्ला प्रगन्नामा रहेका मटावाँले जनप्रतिनिधिसँग माग गरेका छन् । उनीहरुले सांस्कृति अधिकार सुनिश्चितताका लागि लुम्विनी प्रदेशका मुख्यमन्त्री र प्रदेश सभा सदस्य तथा विना विभागिय मन्त्री धनबहादुर मास्कीसँग माग गरेका छन् ।
उनीहरुले मुख्यमन्त्री र मन्त्रीलाई भेटेर ज्ञापनपत्रसमेत बुझाएका छन् । पछ्ला प्रगन्नाका गुर्वा लिलामणी पछल्डङ्ग्याको नेतृत्वमा गएको मटावाँको टोलीले ज्ञापनपत्र बुझाएको दंगीशरण गाउँपालिका ४ मौलीका मटावाँ जगतराम चौधरीले बताए । उनले यसवर्षको पूजाका लागि रकम ब्यवस्थापन गरिदिन माग गरेको बताए । ‘पूजा गर्न नपाउँदा मनमा शान्ति र अमन चयन छैन । हरेक वर्ष गर्नुपर्ने पूजा १४ वर्षसम्म गर्न नसक्दा प्रगन्नामै संकट आउन थालेको छ,’ उनले भने ।
पछ्ला प्रगन्नामा रहेका मटावाँले शुक्रेश्वरी देवीको पूजाका लागि कोषको ब्यवस्था गरिदिन माग पनि गरेका छन् । हरेक वर्ष सरकारसँग रकम माग गर्न नसकिने भएकोले कोषको ब्यवस्था गर्न माग गरेको दंगीशरण गाउँपालिका ३ रातगाउँका महेन्द्र चौधरीले बताए । ‘हरेक वर्ष पूजा गर्न कोषको ब्यवस्था गर्न जनप्रतिनिधिसँग हाम्रो माग छ,’ उनले भने ।

Previous articleपर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेर बजेट, नीति तथा कार्यक्रम बन्दैछ : मुख्यमन्त्री चौधरी
Next articleरेशम चौधरीको मुद्दा फिर्ता लिन सरकारले ल्यायो विधेयक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here