सुकौराकोटको विकास प्राधिकरण मार्फत अगाडी बढाउँछौँ : मुख्यमन्त्री चौधरी

भ्यू टावर, पर्खाल र पार्कले इतिहास विगारेको गुनासो, चुनेमुने योजना बन्द गर्न सुझाव

दाङ, २६ बैशाख ।

थारु राजा दंगीशरणको दरवार उत्खनन् र विकासका बारेमा मन्तब्य राख्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर उपमहानगरपालिका ११ सुकौरास्थित थारु राजा दंगीशरणको दरवार उत्खनन् र विकासका लागि दंगीशरण सुकौराकोट विकास प्राधिकरण गठन गर्ने योजना अघि सारेका छन् । थारु राजा दंगीशरणको दरवार भएको ठाउँको उत्खनन्, विकास र सम्बद्र्धन गर्न गुरुयोजना बनाएर अघि बढ्ने बताउँदै उनले सुकौराकोट दरवारलाई ऐतिहासिक पवित्र भूमिको रूमा विकास गर्नुपर्ने बताए ।
‘मन्त्रिपरिषदबाटै निर्णय गराएर सुकौराकोट विकास प्राधिकरण गठन गर्ने योजना छ,’ उनले भने, ‘उत्खनन्, विकास र सम्बद्र्धनका लागि आवश्यक पर्ने रकमको ब्यवस्था लुम्विनी प्रदेश सरकारले गर्ने छ ।’
थारु राजा दंगीशरण दरवारको उत्खनन् र विकास विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले दंगीशरणले सयौँ वर्ष पहिले नै संघीयता अंगिकार गरेको बताए । ‘राजा दंगीशरणले संघीयतालाई अंगिकार गरि दाङमा प्रगन्ना र मटावाँ प्रचलनमा ल्याएका थिए । यो अहिले पनि प्रचलनमा छ । दंगीशरणले थप के–के गरेका थिए उत्खनन् पछि खुल्दै जानेछ,’ मुख्यमन्त्री चौधरीले भने ।
उनले बुद्ध जन्मेको ठाउँ पवित्र भूमि भने जस्तै दंगीशरण राजा जन्मेको ठाउँ पनि पवित्र भूमी भएको बताए । उनले दंगीशरण राजाको दरवार रहेको ठाउँको एक अञ्जुली माटो पनि नचलाउन आग्रह गर्दै उत्खनन् र इतिहास खोतलेपछि बास्तविकता पत्ता लाग्ने जिकिर गरे । ‘लुम्विनीलाई हामीले बुद्ध जन्मेको भूमी भनेर पूजा गर्छौँ दंगीशरण दरवारलाई पनि त्यस्तै बनाउन खोजिरहेका छौं,’ उनले भने, ‘यहाँको माटोको पूजा गर्ने दिन पनि आउन सक्छ । उत्खनन् र अनुसन्धान नहुँदासम्म यहाँको माटो मनपरि तरिकाले चलाउने अधिकार कसैलाई छैन ।’


इतिहासको आधारमा दंगीशरण थारू राजाको दरबार क्षेत्रको विस्तृत गुरू योजना तयार गरी विकास गरिने उनले बताए । ‘दंगीशरण राजाको इतिहास कसरी खोज्ने त्यो मुलभूत कुराहरू हो,’ उनले भने, ‘दंगीशरण राजाका पैसाहरू हामीले पाएका छौं र उत्खनन् पछि पुरातत्व विभागमा घोडाका कैंजा, माटाका सिक्काहरू अहिले पनि सुरक्षित छन् अब त्यसका आधारमा विकास अगाडि बढ्नुपर्छ । इतिहास नखोजेर सुकौराकोटमा झिनामसिना काम भएका छन् । यसले इतिहास मेटाउने काम गरिरहेको छ । यो कार्य तत्काल बन्द हुनु पर्छ ।’
उनले थारू राजाहरू कहाँ नुहाउँथे, रानीले कहाँ नुहाउँथिन्, कहाँ बसेर पूजा गर्थिन्, शिकार खेल्न, नुहाउन कहाँ–कहाँ जान्थे ? त्यो पत्ता लगाएर डिपिआर बनाउनु पर्यो । संरचना बनाउने पँैसाको अभाव हुन दिने छैनौंं ।’
उनले थारू राजाको सम्बन्ध घोराहीस्थित रतननाथ मन्दिरसँग भएको बताए । नरहरीनाथ योगीले आफ्नो पुस्तकमा थारु राजाको वर्णन गरेको बताउँदै उनले थारुका अन्तिम राजा रत्नपारूखु भएको र उनी गोरखनाथबाट दिक्षान्त भएपछि राजकाज त्यागेर तपस्वी बनेको इतिहास भएको दावी गरे ।
विगतमा दंगीशरण राजाले नै भारतको पाटनमा पूजा आरधनाका लागि डोली बोकाएर मानिसहरू पठाउने प्रचलन रहेपनि अहिले आएर त्यो क्रम रोकिएको उनको भनाई छ ।
‘अहिले पनि थारूहरू पाटन देवीको पूजा गर्छौं,’ उनले भने, ‘त्यो प्रचलन र इतिहासको खोजी गरि सोही अनुरूप सुकौराकोटको विकास गर्नुपर्छ । यसका लागि विकास प्राधिकरण गठनको प्रक्रिया अगाडी बढाऔँ ।’


उनले इतिहास अनुसार संरचना निर्माण गर्न यसै आर्थिक वर्षमा ४०–५० लाख लैजान सरोकारवाला निकायसँग आग्रह गरे । ‘कामका लागि पैँसा लैजानुस, तर काम इतिहास अनुसार हुनुपर्छ । मान्छे पूर्खाको इतिहास हेर्न आउने हो पर्खाल र भ्यूटावर हेर्न आउँदैनन् ।’
उनले इतिहास मेटाउने गरि बन्ने योजनाले कसैलाई फाइदा नपुग्ने बताए । इतिहास मेटाउने काम भइरहेको बताउँदै उनले भ्यू टावर, पार्कले इतिहास जोगाउन नसक्ने स्पष्ट पारे ।
‘यहाँ इतिहास मेटाउन खोजियो । हामीले इतिहास मेटाउने गरि संरचना बनाउने होइन, इतिहासलाई टेकेर डिपिआर बनाएर अगाडी बढेनौँ भने यसले सिंगो दाङलाई घाटा हुनेछ,’ मुख्यमन्त्री चौधरीले भने, ‘अहिले इतिहास विगार्ने गरि भ्यू टावर, पार्क र पर्खाल निर्माण भएको छ । अव पनि यस्ता काम भए सैह्य हुँदैन । म यहि कार्यक्रम मार्फत सजग गराउन चाहन्छु । चुनेमुने योजना ल्याउन बन्द गरौँ ।’
मटावाँ महासंघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा लुम्विनी प्रदेशका विना विभागिय मन्त्री धनबहादुर मास्कीले दाङको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षण गरि पर्यापर्यटनको विकासमा टेवा पुर्याउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, वडा नं. ११ का वडा अध्यक्ष मानबहादुर रावत, थारु कल्याणकारिणी सभाका केन्द्रिय कोषाध्यक्ष चूर्णबहादुर चौधरी, थारु कल्याणकारिणी सभा दाङका निवर्तमान सभापति भुवन चौधरी, थारु संस्कृति तथा इतिहासमा कलम चलाउँदै आएका पत्रकार विश्वराज पछल्डङ्ग्या, थारु अगुवा कालुराम चौधरी लगायतले थारु राजा दंगीशरणको इतिहास, उत्खनन्, विकास र सम्बर्धनका विषयमा विचार राखेका थिए ।

Previous articleसांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियारमा उजुरी
Next articleलुम्विनी प्रदेशको योजना तथा नीति आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here